Ad Image

बालचन खोरियाका किसानहरू कृषि उद्यममा लागेर आम्दानीमा सन्तोषजनक प्रगति

No Author Assigned | १० महिना अगाडि
Image of storage/news/1724396261.png

बराहक्षेत्र नगरपालिका–२ बालचन खोरियाका किसानहरूले कृषिकर्मलाई नै आम्दानीको मुख्य स्रोत बनाएर खेतबारीमा अहोरात्र मेहनत गरिरहेका छन्। यहाँका किसानहरूले धान, कागती, किम्बु, सजिवन, किवी, कुखुरा, र केराको खेतीमा दत्तचित्त भएर काम गरिरहेका छन्।

 

स्थानीय किसान केवल राईले सात कठ्ठा जमिनमा सजिवन, किम्बु, र केराखेती गर्दै आएको बताए । उनले आफ्नो कृषि र पशुपालन व्यवसायले घर खर्च धान्न सघाएको बताउँदै व्यावसायिक रूपमा सुरु गरिएको यो उद्यम सन्तोषजनक रहेको उल्लेख गरे । 

 

अर्का किसान नरेश रानामगरले कागतीखेतीबाट राम्रो आम्दानी गर्दै आएका छन। चार कट्ठा जमिनमा कागतीखेती गर्दै आएका रानामगरले सिजनमा ३० हजारदेखि ४० हजारसम्म कागती बिक्री हुने गरेको बताए ।  उनले धान खेती पनि गर्दै आएका छन् र बेमौसमी खेतीमा चुनौती रहेको कारण स्थायी टनेलको आवश्यकता रहेको बताए ।

 

बालचन खोरिया कृषि सहकारी संस्थाका अध्यक्ष प्रेम खड्काका अनुसार, बालचन खोरियामा ९० भन्दा बढी घरपरिवार कृषि उद्यममा संलग्न छन्। सहकारीले यस क्षेत्रमा सिँचाइका लागि दुईवटा डिपबोरिङको योजना सञ्चालनमा ल्याएको छ, जसबाट एकीकृत कृषिखेतीको अवधारणामा अघि बढ्न सहयोग मिल्ने अपेक्षा गरिएको छ।

 

डिपबोरिङ सिँचाइ योजनाबाट पानीको सुविधा भएपछि बस्तीका किसानहरू खुसी भएका छन्। बस्तीमा नयाँ ट्रान्सफर्मर जोडिएपछि आगामी आर्थिक वर्ष २०८१र८२ मा कृषि पर्यटकीय क्षेत्र निर्माणको सम्भावना बढेको छ।