स्याङ्जाका विभिन्न पालिकामा १२ वटा शीतभण्डार सञ्चालनमा
पुतलीबजार नगरपालिका, गल्याङ नगरपालिका, वालिङ नगरपालिका, चापाकोट नगरपालिका, बिरुवा गाउँपालिका, फेदीखोला गाउँपालिका, आँधीखोला गाउँपालिका, र अर्जुनचौपारी गाउँपालिकामा शीतभण्डार निर्माण भएका छन ।
Mayorsap
शनि, असोज १२, २०८१ | ०८:३८ बजे
स्याङ्जा । स्याङ्जा जिल्लाका विभिन्न स्थानीय तहमा १२ वटा शीतभण्डार (कोल्ड स्टोर) सञ्चालनमा छन्। पुतलीबजार नगरपालिका, गल्याङ नगरपालिका, वालिङ नगरपालिका, चापाकोट नगरपालिका, बिरुवा गाउँपालिका, फेदीखोला गाउँपालिका, आँधीखोला गाउँपालिका, र अर्जुनचौपारी गाउँपालिकामा शीतभण्डार निर्माण भएका छन ।
पुतलीबजार नगरपालिका–११, सुम्रेखोलामा रहेको स्याङ्जा शीतभण्डार १२ करोड ५० लाखको लागतमा निर्माण भएको हो। १२५० मेट्रिक टन क्षमताको यो शीतभण्डारमा सुन्तला र आलु राख्ने गरिन्छ। हाल यो शीतभण्डारको दोस्रो प्याकेज निर्माणाधीन छ। अघिल्लो वर्ष सुन्तलाको भण्डारण गर्दा केही बिग्रिएपछि यस वर्ष कृषकहरूले सुन्तला भण्डारण नगरेका कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हाले बताए।
गल्याङ नगरपालिका–७ जिमुवामा रहेको तीन सय मेट्रिक टन क्षमताको शीतभण्डारमा आलु बिउ राख्ने गरिएको छ। यसलाई सरकारको तीन करोडको लगानीमा निर्माण गरिएको हो। वालिङ नगरपालिका–१ मा ५० मेट्रिक टन क्षमताको शीतभण्डार प्रदेश सरकारको ५० लाखको लगानीमा बनेको छ, जहाँ क्षमता अनुसार आलु बिउ भण्डारण गरिएको छ।
अन्य पालिकाहरूमा रहेका साना शीतभण्डारमा आलुको बिउ राखिएको छ। चापाकोट, वालिङ, बिरुवा, फेदीखोला, पुतलीबजार, आँधीखोला र अर्जुनचौपारीमा रहेका १०/१० मेट्रिक टन क्षमताका शीतभण्डार प्रदेश सरकारको १५/१५ लाख लगानीमा निर्माण गरिएका हुन्। बिरुवा र अर्जुनचौपारीका शीतभण्डारमा भने हाल आलु बिउ राखिएको छैन।
स्याङ्जाका शीतभण्डारहरू आलु बिउको भण्डारणमा केन्द्रित हुँदै गर्दा सुन्तलाको प्रयोग अपेक्षाकृत कम देखिएको छ। कृषकले शीतभण्डारको सही उपयोग गर्न र भण्डारण व्यवस्थापनमा सुधार गर्न सुझाव दिएका छन्।