मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

स्वास्थ्य क्लिनिक

धरान उपमहानगरपालिका

पहिरो

भरतपुर महानगरपालिका

फोहोर व्यवस्थापनमा काठमाडौं महानगरलाई नै टेर्दैनन् अस्पताल

बुद्धमाई अस्पतालले चार पटक झुक्यायो, महानगरले एक लाख तिरायो

Mayorsap

शुक्र, कार्तिक २, २०८१ | ११:०३ बजे

काठमाडौं, कार्तिक २ । काठमाडौंमा फाहोरको व्यवस्थापन गर्ने विषयमा बालेन्द्र शाह (बालेन) गएको चुनावमा उठ्नुभन्दा पहिला नै निक्कै चर्चा हुने गरेको थियो ।

मेयरमा निर्वाचित हुनुभन्दा केही अघि नै बालेनले काठमाडौंको फोहोर व्यवस्थापन गर्न सकिने बताएका थिए । तर बालेनलाई पनि काठमाडौंको फोहोर व्यवस्थापन गर्न सहज भने भएन । कहिले फोहोर फ्याल्ने ल्याण्डफिल साइटमा फोहोरको गाडी लैजान अवरोध हुने त कहिले फोहोरको बर्गिकरणको विषयमा विवाद हुने काम भयो ।

काठमाडौं महानगरले अहिले पनि कुहिने र नकुहिने फोहोर छुट्टै उठाउने विषय अहिलेसम्म व्यवस्थापन गर्न सकेको छैन भने फोहोरको बर्गिकरण गराउन पनि सकेको देखिँदैन् । तर महानगरले यो समयमा फोहोरको व्यवस्थापन गर्न भने निक्कै मिहिनेत गरिरहेको छ । फोहोर व्यवस्थापनका विषयमा व्यवसायीहरुलाई नै तालिम दिएर महानगरले फोहोरको बर्गिकरणमा काम गरिरहेको छ । महानगरले पछिल्लो समय अस्पतालको फोहोर व्यवस्थापनमा काम गरिरहेको छ । अस्पतालको फोहोर बर्गिकरण गर्न महानगर आफैँ तालिम दिएर व्यवस्थापनमा जुटेको देखिन्छ । 

काठमाडौं महानगरको अनुगमन टोलीले टेकुमा रहेको बुद्धमाई अस्पतालमा २०८० फागुन ११ गते पहिलो पटक अनुगमन गरेको थियो । त्यस दिन नर्सिङ् स्टेशनमा मेडिसिन ट्रली नभएको, भित्री कक्षहरुमा फोहर हाल्ने बाल्टिन नभएको देखिएपछि अनुगमन टोलीले रङ्ग संकेतसहितको बाल्टिनहरु फोहर उत्पादन हुने ठाउँमा राख्न अनुरोध गरेको थियो । अनुगमनबाट फर्किएपछि महानगरले अस्पताल प्रशासनलाई हानीकारक फोहर निर्मलीकरण गर्ने प्रणाली स्थापना गर्न पत्राचार गर्यो । 

चैत ६ गते महानगरपालिकाले स्वास्थ्यसंस्थाजन्य फोहर व्यवस्थापनमा कमजोरी भएका अस्पतालका कर्मचारीका लागि तालिम कार्यक्रम आयोजना गर्यो । तालिममा बुद्धमाईबाट प्रमुख प्रशासकीय अधिकृत राजेश तण्डुकार आफैँ सहभागी हुनुभएको थियो ।  

तालिम सञ्चालन भएको भोलिपल्ट अनुगमन टोली फेरि अस्पतालमा पुग्यो । अवस्था पहिलेकोभन्दा फरक थिएन । हानीकारक फोहर र सामान्य फोहर एकै ठाउँमा थियो । हानीकारक फोहरका विषयमा गरिएको प्रश्नमा अस्पतालका प्रमुख प्रशासकीय अधिकृत तण्डुकारले, प्रदर्शनी मार्गको काठमाडौँ मोडेल अस्पतालसँग सम्झौता गरेर व्यवस्थापनका लागि त्यतै पठाउने गरेको बताउनुभयो । उहाँको कुराको तथ्य जाँच गर्न महानगरकी वातावरण निरीक्षक सृष्टि श्रेष्ठले मोडेल अस्पतालका नर्सिङ् प्रमुखलाई फोन सम्पर्क गर्दा सोध्दा यो सूचना गलत भएको प्रमाणित भयो ।

कुराकानीका क्रममा तण्डुकारले, कार्टुनमा प्याक गरेर निजी गाडीको डिकीमा राखेर हानीकारक फोहोर मोडेल लैजाने गरिएको बताउनुभएको थियो । अनुगमन टोलीले गलत सूचना प्रवाह नगर्न सचेत गरायो । 

२०८१ बैशाख १७ गते महानगरपालिकाबाट सामान्य फोहर संकलन गर्न गएको सवारी चालकले उक्त अस्पतालको सामान्य फोहरमा संक्रमित फोहर देखेपछि फोहर संकलन रोकेर १५ हजार रुपैयाँ जरिवाना गरेको थियो । 

अनुगमनका क्रममा गएको भदौ २२ गते अस्पतालमा तेस्रो पटक अनुगमन गर्यो । यसबेला भएभरको फोहर एकै ठाउँमा जम्मा गरिएको थियो । अटोक्लेभ मेसिन थिएन । फोहर निर्मलीकरण गर्ने र व्यवस्थापन गर्ने योजनाका विषयमा अस्पताल प्रशासनले योजना दिन सकेन । यसो भएपछि अनुगमन टोलीले, हानीकारक फोहर निर्मलीकरण गरेर सामान्य बनाउन सुधारको मौका दियो र फर्कियो । 

तेस्रो मौकालाई अस्पतालले कसरी उपयोग गरेको छ, हेर्नका लागि कार्तिक १ गते टोली फेरि अस्पताल पुग्यो । अस्पताल पुग्दा जम्मा गरेको फोहरको ठाउँ खाली थियो । फोहर थुपारिएको कोठामा वाफ बाहिर उडिरहेको अटोक्लेभ राखिएको थियो । अटोक्लेभभित्र निर्मलीकरणका लागि राखिएका बस्तुमा ताजा अवस्थाको रङ्गमाभन्दा कुनै परिवर्तन थिएन । 

यसअघि थुपारिएको फोहर खोइ त? भन्ने महानगरको प्रश्नको जवाफमा तण्डुकारले अटोक्लेभमा निर्मलीकरण गरेर महानगरपालिकाको गाडीमा पठाएको बताउनुभयो । अनुगमन टोलीले राम्ररी निर्मलीकरण नभएको फोहर महानगरपालिकाले उठाउन नसक्ने जनाउँदै फोहर संकलन गर्ने सवारी साधनका चालकलाई बोलायो । चालक आएपछि तण्डुकारले बोली फेर्नुभयो । यो फोहर त कवाडीले लाने गरेको छ । 

ढाँटेको कुरा लुकाउन तण्डुकारलाई निकै कठिन भयो । टोलीले तण्डुकारलाई काठमाडौँ प्लाजास्थित वातावरण व्यवस्थापन विभागमा बोलाएर अस्पतालजन्य फोहर व्यवस्थापन नगर्दा हुने दण्ड जरिवानाका विषयमा भएको कानुनी व्यवस्था बुझायो । अवस्था सुधार नदेखिएको भन्दै महानगरले एक लाख  रुपैयाँ जरिवाना तोकिदियो । 
 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology