आफैँले लागू गरेकाे पाठ्यपुस्तक रामग्राम नगरपालिकाले अहिलेसम्म विद्यार्थीहरुलाई दिन सकेन
“समुदायिक विद्यालयमा शैक्षिक पाठ्यपुस्तक नपाएको बारे गुनासो गर्न जाँदा विद्यालयका प्रधानाध्यापकलगायत शिक्षक, शिक्षिकाहरूले नगरपालिकाले उपलब्ध गराएकै छैन, हामीले कहाँबाट ल्याएर दिनु भन्छन् । पुस्तक नै नदेखेर यो शैक्षिक सत्र जान दिनु भएन नि !”
Mayorsap
बिही, कार्तिक १५, २०८१ | ११:४४ बजे
पाल्हीनन्दन (नवलपरासी ब सु प), १५ कात्तिक∶ रामग्राम नगरपालिकाले स्थानीय मौलिक कला, संस्कृति, सभ्यता, पर्यटकीय तथा ऐतिहासिक पहिचानसँग जोडिका स्थलसहितका बारेमा जानकारी दिने उद्देश्यले ‘हाम्रो रामग्राम’ पाठ्यपुस्तक पठनपाठन सुरु गरिसकेको छ ।
विद्यार्थीहरुलाई स्थानीय विषयवस्तुका बारेमा जानकारी गराउने उद्देश्यले नगरभित्रका संस्थागत र समुदायिक विद्यालयमा नियमित पठनपाठन हुने गरी यो पुस्तक यहाँ लागू गरिएको हो । नगरभित्रका १८ वटै वडालाई समेटेर एतिहासिक, धार्मिक, सामाजिक, सांस्कृतिक, स्थानीय सीप, प्रविधि, पशुपालन र यहाँ बसोबास गर्दै आएका जात जातिलगायतका बारेमा पुस्तकमा समावेश गरिएका छन् । जसले स्थानीय विद्यार्थी, अभिभावक र शिक्षक शिक्षिका उत्साहित भएका थिए तर यसपटक भने सो पुस्तक विद्यार्थीको हातमा पुर्याउन सकिएको छैन ।
नगरपालिकाले यसवर्ष समुदायिक विद्यालयका विद्यार्थीहरूलाई पाठ्यपुस्तक वितरण नगर्दा पठनपाठनमा समस्या भइरहेको शिक्षक तथा विद्यार्थीहरूले गुनासो गरेका छन् । स्थानीय आदर्श माध्यामिक विद्यालयका प्रधानाध्यापक श्रीराम ढकालले यसवर्ष पाठ्यपुस्तक वितरण नगरिएकाले समस्या भएको बताउनुभयो । उहाँले पुरानो पाठ्यपुस्तकलाई आवश्यकताअनुसार फोटोकपी गरेर पढाउने गरिए पनि यो निकै झण्झटिलो भएको सुनाउनुभयो ।
विद्यार्थी भर्ना भएदेखि नै पुस्तकका लागि आग्रह गरिए पनि नगरबाट हालसम्म विद्यार्थीले पाठ्यपुस्तक पाउन नसकेका सोही विद्यालय अभिभावक सङ्घका अध्यक्ष तिलकराम ढकालले बताउनुभयो ।
अभिभावक मिन्नुु हरिजनले भन्नुभयो,“समुदायिक विद्यालयमा शैक्षिक पाठ्यपुस्तक नपाएको बारे गुनासो गर्न जाँदा विद्यालयका प्रधानाध्यापकलगायत शिक्षक, शिक्षिकाहरूले नगरपालिकाले उपलब्ध गराएकै छैन, हामीले कहाँबाट ल्याएर दिनु भन्छन् । पुस्तक नै नदेखेर यो शैक्षिक सत्र जान दिनु भएन नि !”
आदर्श माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण यादवले पाठ्यपुस्तकका लागि आफूहरूले सम्बधित निकायलाई निरन्तर झक्झक्याइरहेको सुनाउनुभयो ।
पवन माध्यामिक विद्यालयका प्रधानाध्यापक अरविन्द पाठकले भन्नुहुन्छ,“यसवर्ष पाठ्यपुस्तक वितरण नगर्दा पुराना किताब खोजेर काम चलाउनुपर्ने अवस्था छ । तर पुराना सबै विद्यार्थीले पनि कहाँ जतन गरेर राखेका हुन्छन् र! त्यसैले चाँडै पुस्तक पाए त सजिलो हुन्थ्यो ।”
रामग्राम नगरपालिका शिक्षा शाखा अधिकृत सुुन्दर खनालले प्राविधिक समस्याका कारण यसवर्ष स्थानीय पाठ्यपुस्तक छापाई गर्न नसकिएको बताउनुभयो । उहाँका अनुसार ५८ वटा समुदायिक विद्यालयमा एकदेखि आठ कक्षासम्मका पाँच हजार १८ विद्यार्थीहरूलाई पाठ्यपुस्तक वितरण गर्नुपर्ने र त्यसका लागि छलफल भइरहेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यमबहादुर कुँवरले विद्याथी, अभिभावक र विद्यालयबाट आएका गुनासा सम्बोधन गर्न पुस्तक छाप्ने प्रक्रियामै रहेको बताउनुभयो । नगरप्रमुख धनपत यादवले अब चाँडै पुस्तक छपाइ अगाडि बढाउने जानकारी दिनुभयो । “नगरभित्रका १८ वटै वडालाई समेटेर एतिहासिक, धार्मिक, सामाजिक, सांस्कृतिक विषय, स्थानीय कला, सीप, प्रविधिक, पशुुपालन र यहाँका जातजातिकोको पहिचानसँग जोडिएका विषयहरूबारे जानकारी दिने उद्देश्यले पाठ्यक्रम लागू गरेका छौँ । त्यस्तो महत्वपूर्ण पुस्तक वितरणमा यसवर्ष ढिलाई भएको छ । अब चाँडै समस्या समाधान गर्छौं”, उहाँले भन्नुभयो ।