शंखधर दिवस विशेष समारोहमा राष्ट्रपतिबाट काठमाडौँ महानगरपालिका सम्मानित
Mayorsap
बिही, मंसिर ६, २०८१ | ०९:३४ बजे
काठमाडौँ, मंसिर ५ः नेपाल संवत्लाई स्थानीय सरकारको कामकाजमा लागू गरेको, शंखधर साख्वाको प्रतिमा स्थापना गरेर नेपाल संवत सुरु गर्ने व्यक्तित्वको योगदान जोगाउने कामको मूल्याङ्कन गर्दै काठमाडौँ महानगरपालिकालाई प्रशंसा पत्रबाट सम्मानित गरिएको छ ।
साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरिएको रजत वर्षको अवसरमा मंगलबार वागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले राष्ट्रपति कार्यालय शितल निवासमा आयोजना गरेको शंखधर दिवस विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रदान गर्नुभएको प्रशंसा पत्र प्रवक्ता नविन मानन्धरले ग्रहण गर्नुभएको थियो । त्यस अवसरमा काठमाडौँसँगै ललितपुर महानगरपालिका र मध्यपुर थिमी नगरपालिकालाई पनि सम्मान गरिएको थियो ।
समारोहमा बोल्दै राष्ट्रपति पौडेलले, आफ्नै देशको नामबाट स्थापित नेपालको ‘नेपाल संवत्’ विश्वभरिमै एक मात्र मौलिक संवत भएको उल्लेख गर्नुभयो । ‘यसमा नेपालीले गौरव गर्नुपर्छ ।’ राष्ट्रपति पौडेलले भन्नुभयो, ‘वहुभाषिक, वहुसांस्कृतिक, वहुजातीय मुलुक नेपालको विविधतालाई एकताको अक्षुण्णतालाई नेपाल संवत्ले बाँधेको छ ।’
साख्वाःको व्यक्तित्वमा कुरा गर्दै उहाँले भन्नुभयो, ‘साख्वामा परोपकारी र लोककल्याणकारी भावनाको शिखर व्यक्तित्व थियो ।’
सम्मान ग्रहण गरिसकेपछि महानगरपालिकाका प्रवक्ता मानन्धरले भन्नुभयो, ‘साख्वाका व्यक्तित्वसँग जोडिएका धेरै आयाम छन् । यसमध्ये पनि सबैभन्दा महत्वपूर्ण आयाम भनेको ऋणको बोझले थिचिएका वर्गको उत्थानका लागि आफूले आर्जन गरेको सम्पत्ति खर्च गर्नु हो ।’
‘यस घटनासँग जोडिएका महानगरपालिका भित्रका मूर्त अमूर्त सम्पदाको संरक्षण गर्ने तथा यससँग जोडिएका सांस्कृतिक तथा सामाजिक परम्परा जोगाउने कामलाई महानगरपालिकाले प्राथमिकतामा राखेको छ ।’ प्रवक्ता मानन्धरले लखतीर्थको भौतिक सुधार तथा संरक्षणको काम यसको उदाहरण भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा बागमती प्रदेशका मुख्य मन्त्री बहादुरसिंह लामा, संस्कृति, पर्यटन तथा सहकारी मन्त्री बिमल ठकुरी, प्रदेश प्रमुख दिपकप्रसाद देवकोटासहित प्रदेश सरकारका मन्त्रीहरु उपस्थित हुनुहुन्थ्यो ।
नेपाल संवत चन्द्रमास अनुसार गणना हुन्छ । यो संवत् वि. सं. ९३६ साल कार्तिक ३ गतेबाट सुरु भएको मानिन्छ । नेपाल संवत्का विषयमा २०३५ सालसम्म धेरै चर्चा भएन । वि. सं. २०३६ सालबाट दिवसका रुपमा मनाउन थालिएको हो । वि. सं. २०६४ सालमा राष्ट्रिय सम्बत्का रुपमा मान्यता दिइएको हो ।
नेपाल संवत् सुरु हुनुको पछाडि शंखधर साख्वाःले काठमाडौंमा आएको महामारीको प्रकोपपछि ऋणमा डुबेका किसानहरुलाई ऋण मोचन गरेको प्रसङ्ग उल्लेख पाइन्छ ।
वि. सं. २०५६ सालमा राष्ट्रिय विभूति घोषणा गरिएका साख्वालाई, यही जनकथनमा आधारित योगदानको कदर गर्दै राष्ट्रिय विभूति घोषणा गरिएको हो । साख्वाःले नदी किनाराबाट बालुवा उठाउँदा सुन पाएको भन्ने भनाइ छ । यससँगै उठाएको बालुवा घरमा पु¥याएको ४ दिनपछि सुन भयो भन्ने पनि मत पाइन्छ । जनश्रुति अनुसार उनले सुन प्राप्त गर्ने स्थान तथा विधिमा फरक पाइए पनि
प्राप्त सुनबाट ऋणमा डुवेका किसानलाई ऋण मोचन गरिदिएको भनाइमा भने एकरुपता पाइन्छ । यसरी प्राप्त सुनबाट किसानहरु ऋणमुक्त भइसकेपछिको खुशीयालीमा उनले नेपाल संवत् सुरु गरेका थिए ।
साख्वाःले नदीबाट बालुवा उठाएको स्थान काठमाडौँ महानगरपालिकाको वडा नं. १५ लख तीर्थ हो । यस स्थानमा एउटा मूर्ति पनि छ । यो मूर्तिको अनुहार विग्रिएपछि पुनर्निर्माण गरिएको मानिएको छ । लखतीर्थमा बालुवा उठाएको प्रसङ्गसँगै शोभा भगवती छेउबाट बगेर आउने नदी भचाखुशी र विष्णुमती नदी दोभानमा साख्वाःले बालुवा उठाएका थिए भन्ने भनाइ पनि पाइन्छ ।
लखतीर्थबाट उठाएको बालुवा बसन्तपुर नजिक आएर भारी विसाएको बताइन्छ भने शोभा भगवती प्रसङ्गमा भक्तपुरका तान्त्रिक राजाले देखेको सपनाका आधारमा किसान शंखधर साख्वाःलाई त्यस स्थानमा बालुवा लिन पठाएको उल्लेख पाइन्छ ।