वीर अस्पतालमा चरम लापरबाहीः धारामा आउँछ घिनलाग्दाे ‘ढल’जस्तै पानी
छैन फिल्टरको प्रयोग, ट्यांकी सफा नभएको पनि तीन वर्ष नाघ्यो !
आरसी
शुक्र, मंसिर १४, २०८१ | २०:०६ बजे
काठमाडौं । शुक्रबार बिहान ९ बजेतिर देशकै ठूलो सरकारी अस्पताल वीर अस्पतालको धारामा पानी खोल्दा ‘ढल’ जस्तै पानी झर्यो । पानी धमिलो लेदोजस्तो थियो । हेर्दै घिनलाग्दो देखिन्थ्यो । वीरको सर्जिकल भवनको पहिलो तल्ला बेड नम्बर १०५ को कोठाको धारा खोल्दा लेदो पानी बगेको भेटिएको हो । अरु धाराहरु खोलेर हेर्दा यस्तो पानी अन्य धाराहरुमा पनि झरेको थियो ।
धाराको पानी खोल्दा ढलमा बग्ने लेदोजस्तो आएको भेटिएपछि हामीले अस्पतालका निर्देशक डा. सन्तोष पौडेललाई भेट्ने प्रयास गर्यौ । डा. पौडेललाई सम्पर्क गर्दा उनको फोन उठेन । उनको कार्यालय पुग्दा उनी बिहान कार्यालय आएर निस्किएको जानकारी पायौं ।
हामी वीर अस्पतालको प्रशासनमा गयौं । त्यसपछि हामीले अस्पतालका सूचना अधिकारीलाई भेट्यौं । प्रशासनमा उप–सचिव सिताराम खड्का सूचना अधिकारीको जिम्मेवारीमा रहेछन् । खड्कालाई हामीले अस्पतालमा पानीको धारमा आएको लेदोको भिडियो देखायौं । उनले आफू एक महिनाअघि मात्रै आएकाले सबैकुरा थाहा नहुने बताए ।
हामीले अस्पतालको धारामा ‘लेदो’ पानी आउनुको कारणबारे जानकारी दिन अनुरोध गर्यौ । उनले अस्पतालका प्लम्बर, स्टोर किपर, खरिद शाखाका कर्मचारीहरुलाई आफ्नै कार्यकक्षमा बोलाए । सूचना अधिकारी खड्काको कार्यकक्षमा केहीबेरमा प्लम्बर नबिन न्यौपाने, मेडिकल स्टोर प्रमुख टिकाराम पनेरु, खरिद शाखाका कर्मचारीहरु राजन फुँयाल, अग्नीधर बस्याललगायतका कर्मचारी आइपुगे ।
हामीले धारामा लेदो पानी आएको प्रमाण पेश गर्यौ र त्यसको कारण माग गर्यौं । सूचना अधिकारीको कार्यकक्षमा उपस्थित सबैले प्लम्बर नविन न्यौपानेतिर हेरे । नविन न्यौपानेले बोरिङबाट निकालेको पानी सिधै ट्यांकीमा पठाइएको बताए । उनले ट्याङ्की सफा नगरेकाले लेदो पानी धारामा आएको बताए ।
वीर अस्पतालको नयाँ भवन सञ्चालनमा आएको तीन वर्षभन्दा बढी भएको छ । तीन वर्षमा अहिलेसम्म अस्पतालको ट्याङ्की सफा नगरिएको न्यौपानेले जानकारी गराए । उनले सुनाए, ‘६–७ वर्ष अगाडि अस्पतालमा फिल्टर प्लान्ट अपरेटर थिए । उनले पानी फिल्टर गर्न काम गर्थे । अहिले त्यो पदको व्यक्ति अस्पतालमा राखिएको छैन । प्लम्बिङमा ६–७ जना कर्मचारी छन् । त्यसैले काम गर्न सजिलो भएको छैन ।’
हामीले समस्या सुनाएपछि सूचना अधिकारीको कार्यकक्षमा सहभागी वीरका कर्मचारीले गल्ती भएको स्वीकारे । उनीहरुले भोलिबाट पानीको शुद्धिकरण गर्ने बाचा पनि गरे । प्लम्बर न्यौपानेले बोरिङको पानी फिल्टरमा भोलिबाटै जोड्ने बताए ।
गएको सात महिना अगाडि वीर अस्पतालको नयाँ भवनतिरको बोरिङ बिग्रिएको थियो । त्यतिबेला अस्पतालमा ट्याङ्करको पानी होलेर काम चलाइयो । त्यसको केही महिनापछि बोरिङ सञ्चालनमा आयो । तर बोरिङबाट फिल्टर गरेर पाठउनुपर्ने पानी फिल्टर नै नगरी सोझै माथिका ट्याङ्कीमा पठाउने गरियो । त्यसपछि बोरिङको फोहोर पानी सिधै अस्पतालका धारामा झर्न थाल्यो । अस्पतालमा त्यही फोहोर पानीको प्रयोग गर्न थालियो ।
वीरमा नयाँ भवनमा दुईवटा रिजर्भ ट्यांकी छन् । नयाँ भवनको छतमा लगभग २० वटा पानीका ट्यांकी रहेका छन् । ती सबै ट्यांङ्की अहिलेसम्म सफा नगरिएको अस्पतालका सूचना अधिकारी सिताराम खड्काले जानकारी दिए ।
वीरको पुरानो भवनमा पनि दुईवटा रिजर्भ ट्यांकी छ । एक बोरिङ पनि छ । तर बोरिङ बिग्रिएको छ । अस्पतालले ट्यांकरबाट पानी आपूर्ति मिलाएको छ । एक रिजर्भ ट्यांङ्की गएको ०७२ सालको भूकम्पमा बिग्रिएको छ । त्यसको मर्मत अहिलेसम्म भइसकेको छैन ।
अस्पताल प्रशासनका अनुसार ट्याङ्कीको मर्मत गर्न भर्खर तयारी थालिएको छ । जापानको जाइकाले बनाइदिएको पुरानो बोरिङ नबन्ने भएपछि अस्पतालले वीरको पुरानो भवनमा नयाँ बोरिङ खन्ने तयारी थालेको थियो । पुरानो भवनमा नयाँ बोरिङ खनेर पानीको आपूर्ति गर्ने अस्पतालले तयारी गरेको धेरै भइसकेको छ । तर काम हुन सकेको छैन ।
अस्पताल प्रशासनका अनुसार पुरानो भवनमा नयाँ बोरिङ खनेर पानी आपूर्ति मिलाउन काठमाडौं महानगरले चासो देखाएको थियो । तर पछि काठमाडौं प्रशासनले त्यो काम गर्न नसक्ने बताएपछि अहिले नयाँ बोरिङ खन्नका लागि अस्पतालले टेण्डर लगाइसकेको छ । नायरा कम्पनीले ३५ लाखभित्र नयाँ बोरिङ बनाइदिने गरी टेण्डर पाइसकेको छ ।
तीन करोड पानीकै पैसा तिर्न बाँकी
वीर अस्पतालले तीन करोड रुपैयाँ पानीको पैसा तिर्न बाँकी रहेको जनाएको छ । अस्पतालका सूचना अधिकारी सिताराम खड्काले अस्पतालले पानीको उपभोग गरेवापत उपत्यका खानेपानी लिमिटेडलाई करिब तीन करोड रुपैयाँ पानीको पैसा तिर्न बाँकी रहेको जानकारी दिए ।
उनकाअनुसार तीन करोडको झण्डै आधाजति त जरिवाना तिर्नुपर्ने अवस्थामा वीर अस्पताल पुगेको छ । वीर अस्पताल काठमाडौं महानगरको दुईवटा वडामा परेकाले वडाले दिने फरक फरक सुविधाका कारण मेलम्चीको पानी जोड्न समस्या परेको छ । ‘मेलम्चीको पानी जोड्न थप समस्या छ । सडक विभागसँग स्वीकृति लिनुपर्छ । सडक खन्ने, पुर्ने, गाडिएको पाइप खोज्ने काम गर्दा समय लाग्छ’, खरिद एकाईका कर्मचारी अग्नीधर बस्यालले भने, ‘एक हप्ताभित्रैमा सम्पन्न हुनेगरी काम गर्न सहज छैन । महिनौं लाग्न सक्छ ।’
नेपाल सरकारकै ठूलो अस्पताल वीरमा यति लापरबाही हुँदा पनि अस्पतालका निर्देशक सन्तोष पौडेलले भने यस्ता समस्या समाधान गर्न सकेका छैनन् । पानीलाई शुद्ध गराउन समेत नसकेको अस्पतालले उपचार गर्न गएका बिरामीलाई पनि थप बिरामी बनाएर पठाउँछ कि भन्ने आशंका बढेको छ । अस्पतालमा ढिलासुस्ती, बिरामी जाँचमा लापरबाहीसम्म त नागरिकले सहँदै आएका हुन् । तर अस्पतालले सफा पानीको उपलब्धता नै नगराएपछि यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न उठेको छ । उता स्वास्थ्य सुधारको बिगुल फुक्ने पूर्व स्वास्थ्यमन्त्रीहरु र अहिले बहाल रहेका स्वास्थ्य मन्त्री प्रदिप पौडेललाई वीरको लेदाे पानी उपभाेग गर्नेले ‘कुरीकुरी’ भन्ने अवस्थामा पुर्याएको छ ।