पाँच जिल्लाका सात सय उद्योगको अनुगमन
व्यास नगरपालिका–३ शान्तिनगरस्थित भाडाको घरमा कार्यालय सञ्चालनमा छ ।
Mayorsap
मंगल, कार्तिक २७, २०८१ | ०७:५३ बजे
काठमाडौँ
कार्तिक २७ गते,
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले पाँच जिल्लामा अनुगमन कार्य गर्दै आएको छ । दमौलीमा रहेको कार्यालयले तनहुँसहित,लमजुङ,गोरखा,नवलपुर र मनाङमा नियमित रूपमा अनुगमन गर्दै आएको छ ।
उक्त कार्यालयले एक वर्षको अवधिमा पाँचवटा जिल्लाका सात सय ६६ उद्योग,पसल तथा होटलको अनुगमन गरेको छ । पाँच जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले गत आर्थिक वर्षमा खाद्य तथा दाना उद्योग,होटल रेष्टुरेण्ट,व्यापारिक पसललगायतमा अनुगमन गरेको हो ।
कार्यालय प्रमुख ज्योति आचार्यका अनुसार उक्त अवधिमा तीन सय ५५ खाद्य तथा दाना उद्योग,एक सय ८८ खाद्य उद्योग,एक सय ८५ होटल रेष्टुरेण्ट,३८ वटा पानी,तेल,जुस,डेरी उद्योगमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा म्याद नाघेका, सडेगलेका गरी रु नौ लाख बराबरको सामग्री नष्ट गरिएको छ ।
उक्त आर्थिक वर्षमा ऐन,नियमबमोजिम सङ्कलित एक सय नमूनाको हालसम्म प्राप्त विश्लेषण प्रतिवेदनमा नौवटामा कैफियत पाइएको प्रमुख आचार्यले जानकारी दिए । त्यसमध्ये एउटा दूषित, तीनवटा न्यूनस्तर, एउटा ढाटी, झुक्याइ र चारवटा लेबलमा कैफियत रहेको प्रमाणित भएको उसले बताए । उसका अनुसार उक्त अवधिमा २१ उजुरी गुनासो सम्बोधन गरिएको छ ।
कार्यालयले जिल्ला प्रशासन कार्यालय तनहुँबाट रु दुई लाख, जिल्ला प्रशासन कार्यालय लमजुङबाट पानी उद्योगलाई रु ५० हजार जरिवाना र विभिन्न तीन होटल, रेष्टुरेण्टलाई रु १० हजारका दरले रु ३० हजार जरिवाना गरिएको छ । आचार्यका अनुसार नवलपुरको गैँडाकोट नगरपालिकाबाट एउटा होटललाई रु पाँच हजार जरिवाना गरिएको छ ।
कार्यालयले खाद्य ऐन, नियमविरुद्ध गुणस्तरहीन खाद्य पदार्थ उत्पादन गर्ने सात उद्योगविरुद्ध मुद्दा दर्ता गरेको छभने विभाग मातहतका अन्य कार्यालयमा ३१ वटा मुद्दा प्रेषित गरिएको आचार्यले उल्लेख गरे । कार्यालयले तनहुँ जिल्ला अदालतमा दूषित खाद्य पदार्थ उत्पादनसम्बन्धी एक, नवलपुर जिल्ला अदालतमा न्यूनस्तर खाद्य पदार्थ उत्पादनसम्बन्धी तीन र जिल्ला प्रशासन कार्यालय लमजुङमा लेबलमा कैफियत तथा खाद्य ऐन, नियम उल्लङ्घन कसुरमा तीनवटा मुद्दा दर्ता गरिएको प्रमुख आचार्यले बताए ।
व्यास नगरपालिका–३ शान्तिनगरस्थित भाडाको घरमा कार्यालय सञ्चालनमा छ । पाँच जिल्ला कार्यक्षेत्र भएको कार्यालयमा कर्मचारी सङ्ख्या भने न्यून हुँदा सेवा प्रवाहमा समस्या भइरहेको उसले बताए । कर्मचारी अभावकै बीचमा पनि कार्यालयले बजार अनुगमनलाई निरन्तरता दिइरहेको उसले बताए । “कर्मचारी अभावले बजार अनुगमनमा असर पुगिरहेको छ”, प्रमुख आचार्यले भने, “भइरहेकै कर्मचारीबाट बजार अनुगमन, नमूना सङ्कलन, मुद्दाका अनुसन्धानको काम भइरहेको छ ।”
कृषि तथा पशुपक्षी विकास मन्त्रालयमातहतको कार्यालयले खाद्य ऐन तथा दाना ऐन कार्यान्वयनमार्फत खाद्य शृङ्खलामा खाद्य स्वच्छता कायम गरी सर्वसाधारण जनताको सुख सुविधा कायम गर्ने उद्देश्य राखिएको छ । वि.सं २०७५ कात्तिक १५ गते जिल्लामा डिभिजन कार्यालय स्थापना भएको थियो ।