उपनिर्वाचनः घाटामा कांग्रेस, एमाले र माओवादीले लिए लाभ
नयाँ दल र स्वतन्त्रहरूको भएन प्रभावकारी हस्तक्षेप
आरसी
सोम, मंसिर १७, २०८१ | १६:५५ बजे
काठमाडौं । स्थानीय तहका रिक्त ४४ पदको उपनिर्वाचनमा पुरानै राजनीतिक दलहरुले दबदबा कायम राखेका छन् । यो उपनिर्वाचनमा ठूला राजनीतिक दल नेपाली कांग्रेस, एमाले तथा माओवादी नै मुख्य प्रतिस्पर्धीको रुपमा उदाएका हुन् ।
नयाँ राजनीतिक पार्टीहरुको हस्तक्षेप भने कमजोर देखिएको छ । उम्मेदवारी दिएअनुसार स्वतन्त्रहरु प्राय: हार व्यहाेर्न बाध्य भएका छन् । एकजना मात्रै स्वतन्त्र उम्मेदवारले यो उपनिर्वाचनमा जित हासिल गरेका छन् । धेरै पार्टीहरु त निल गएका छन् । उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दर्ता भएका २५ राजनीतिक दलहरुमध्ये २० वटा राजनीतिक दलहरुले उपनिर्वाचनमा भाग लिएका थिए ।
ती मध्ये सात राजनीतिक दलले मात्रै उपनिर्वाचनमा आफ्नो स्थान सुरक्षित गर्न सकेका छन् । उपनिर्वाचनमा गएको मंसिर २ गते ४४ पदका लागि ४ सय १० जनाले उम्मेदवारी दर्ता गराएका थिए । त्यसमा राजनीतिक दलबाट २ सय ८९ जना र स्वतन्त्रबाट १ सय २१ जना गरेर ४ सय १० जनाले उम्मेदवारी दर्ता गराएका थिए । तर पछि ३१ जनाले उम्मेदवारी फिर्ता लिएका थिए । र अन्तमा ३ सय ७६ जना ४१ पदका लागि प्रतिस्पर्धामा उत्रिएका थिए ।
३ पदमा उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका थिए । जिल्ला समन्वय समिति ओखलढुंगामा नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा टीकाकुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भएका थिए । दुवै कांग्रेसका उम्मेदवार थिए ।
रूकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का उम्मदेवार जगत घर्ती निर्विरोध निर्वाचित भएका थिए ।
कांग्रेस घाटामा
रिक्त ४४ स्थानीय तहमा कांग्रेसले गएको २०७९ सालको निर्वाचनमा २७ स्थान जितेको थियो । तर यसपटकको उपनिर्वाचनमा कांग्रेसले गुमेका सबै स्थान फिर्ता गर्न सकेन ।
दुई जिल्ला समन्वय समितिका प्रमुख पदमा गएको स्थानीय तहमा कांग्रेसकै उम्मेदवार विजयी भएका थिए । यस पटको उपनिर्वाचनमा पनि उनीहरु नै निर्विरोध भए ।
कांग्रेसका उम्मेदवारहरु हेटौंडा उपमहानगर वडा नम्बर १२ अध्यक्षमा अर्जुनप्रसाद तिवारी, मुसिकोट नगरपालिका वडा नम्बर १ मा आनन्द श्रेष्ठ, भिमदत्त नगरपालिका वडा नम्बर ६ मा प्रकाश चन्द, ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ मा अमिन थारु, गढी गाउँपालिका वडा नम्बर ६ मा तेतर साहु, राजपुर नगरपालिका वडा नम्बर ६ मा समसे आलम, कीर्तिपुर नगरपालिका वडा नम्बर ४ मा राजेन्द्र बानियाँ र वडा नम्बर १ मा इच्छाकुमार महर्जन, सुर्मा गाउँपालिका वडा नम्बर ४ मा धिरेन्द्र पुजारा, रुन्टिगढी गाउँपालिका वडा नम्बर ४ मा भुपमणि पुन मगर, ईशनाथ नगरपालिका वडा नम्बर ७ मा शेख अब्दुल खलिक, सानीभेरी गाउँपालिका वडा नम्बर ५ मा मोतिराम खत्री, पूर्वीचौकी गाउँपालिका वडा नम्बर ६ मा मोहन थापा, लालिगुराँस नगरपालिका वडा नम्बर ८ मा नगेन्द्र लिम्बू, दुहु गाउँपालिका वडा नम्बर ५ मा धनसिंह कुंवर, कुसे गाउँपालिका वडा नम्बर ७ मा खम्बबहादुर सिंह वडा अध्यक्षमा विजयी भएका हुन् । यो बाहेक कीर्तिपुर नगरपालिकाको मेयर पदमा कांग्रेस अगाडि रहेको छ ।
नेकपा एमालेले अहिलेसम्म महाबु गाउँपालिका अध्यक्षमा जित हासिल गरेको छ । महाबुमा जंगबहादुर शाही विजयी भएका छन् । त्यस्तै स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदमा एमालेकी सुलोचनाकुमारी भण्डारी विजयी भएकी छिन् ।
एमालेका उम्मेदवारहरु शुद्धोधन गाउँपालिका वडा नम्बर १ मा मोहम्मद ताहिर मुसलमान, रामगोपालपुर नगरपालिका वडा नम्बर २ मा सकिवुल खाँ, दुल्लु नगरपालिका १३ मा लालबहादुर शाही, मोलुङ गाउँपालिका वडा नम्बर ५ मा गंगाबहादुर तामाङ र सिरिजंङ्गा गाउँपालिका वडा नम्बर ३ मा कुमारी सामावेदेन वडा अध्यक्षमा विजयी भएका छन् ।
नेकपा माओवादी केन्द्रले यो उपनिर्वाचनमा राम्रो प्रदर्शन गरेको छ । गएको निर्वाचनमा आठ वटा पदमा उसकै उम्मेदवारले जितेका थिए । तर त्यतिबेला कांग्रेस र माओवादीले गठबन्धन गरेका थिए । माओवादीले यो उपनिर्वाचनमा गठबन्धन नगरी थप जित हासिल गरेको छ ।
माओवादीले एक गाउँपालिका अध्यक्ष, एक उपमेयर र एक उपाध्यक्ष पदमा जित हासिल गरिसकेको छ । अहिलेसम्म माओवादीका उम्मेदवार ग्रामथान गाउँपालिका अध्यक्षमा नमो नारायण माझी, नलगाड नगरपालिका उपमेयरमा देवका लामिछाने तथा पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा नरपुरा बुढा विजयी भएका छन् ।
माओवादी केन्द्रबाट वडा अध्यक्षहरुका उम्मेदवारहरु ककनी गाउँपालिका वडा नम्बर २ बाट कृष्ण घिमिरे, त्रियुगा नगरपालिका वडा नम्बर १२ का उम्मेदवार नविनकुमार वान्तवा राई, धनुषधाम नगरपालिका वडा नम्बर १ का उम्मेदवार शुनिल कापर केवट, गोरखा नगरपालिका वडा नम्बर ५ का उम्मेदवार विष्णुबहादुर मगर, त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ५ का उम्मेदवार नरबहादुर झाक्री वडा अध्यक्षमा विजयी भएका हुन् ।
जनता समाजवादी नेपालबाट मधेश प्रदेशमा दुई जना उम्मेदवार विजयी भएका छन् । डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ का जसपा नेपालका उम्मेदवार धिरेन्द्रकुमार साह र वडा नम्बर ४ का वडा अध्यक्ष पदका उम्मेदवार देवेन्द्रप्रसाद यादव विजयी भएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी काठमाडौं महानगरपालिका वडा नम्बर १६ की रोजिना श्रेष्ठले वडा अध्यक्ष पदमा जित हासिल गरेकी छिन् । यो जित सँगै रास्वपाले स्थानीय तहमा खाता खोलेको छ । अघिल्लो स्थानीय तहको निर्वाचन हुँदा स्थापना नै नभएको रास्वपाको स्थानीय तहमा यो पहिलो प्रतिनिधित्व हो ।
माधवकुमार नेपालको पार्टी एकीकृत समाजवादीले रौतहटको गढीमाई नगरपालिका वडा नम्बर ८ मा जित हासिल गरेको छ । वडा अध्यक्षका उम्मेदवार बजरङ्गीप्रसाद यादव वडा अध्यक्षमा विजयी भएसँगै एकीकृत समाजवादीले पनि खाता खोलेको हो ।
झापाको कन्काई नगरपालिका वडा नम्बर ६ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओलीले झापामा जित हासिल गरेका हुन् । सार्वजनिक भएका नतिजामध्ये कांग्रेसले १६ स्थानमा चुनावी प्रतिस्पर्धाबाट जित निकालेको छ भने निर्विरोध २ स्थानमा जित हासिल गरेको छ । कांग्रेस उम्मेदवारले कोशी प्रदेशमा ३, मधेशमा २, लुम्बिनीमा ३, कर्णालीमा २ र सुदूरपश्चिमा ४ पदमा जित हासिल गरेको हो ।
यो पटकको उपनिर्वाचनमा कांग्रेसले ०७९ मा जितेका सिट संख्या पनि गुमाएको छ । उपनिर्वाचन भएका ४४ मध्ये कांग्रेसले जितेको २७ स्थानमा अहिले उपनिर्वाचन भएको थियो ।
नेकपा एमालेले अघिल्लो स्थानीय तहमा भन्दा बढी सिट जित्न सफल भएको छ । नेकपा माओवादीले केही सिट थपिसकेको छ । उपनिर्वाचन भएका क्षेत्रहरुमा यसअघि माओवादीले जितेको ८ र एमालेले जितेका ७ स्थान रिक्त भएको थियो ।
हालसम्मको परिणाममा एमालेले ८ पदमा जित निकालिसकेको छ भने माओवादीले ९ स्थानमा जित निकालिसकेको छ । माओवादी र एमालेले पालिकाका प्रमुख पदहरुमा कांग्रेसलाई पछि पारेका छन् । मोरङको ग्रामथान गाउँपालकामा माओवादी केन्द्रका नमोनारायण माझी विजयी भए । माझीले ६९६९ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बलराम सरदार थारुले ५३३३ मत पाए । एमालेका तुलसीराम विश्वास ४१५९ मत ल्याएर तेस्रो भए ।
यो पालिकामा २०७९ साल वैशाखमा सम्पन्न चुनावमा माओवादी केन्द्र तेस्रो स्थानमा थियो । त्यसबेला कांग्रेसका जयप्रकाश गच्छदार थारु ७६०५ मत ल्याएर विजयी भएका थिए । एमालेका शिवनारायण माझी ६०९३ मत ल्याएर दोस्रो हुँदा माओवादीका विजयकुमार सरदार २७२७ मतसहित तेस्रो भएका थिए ।
जाजरकोटको नलगाडको उपमेयरमा पनि माओवादीले जितेको छ । ४२७२ मत ल्याएर माओवादीकी देवका लामिछाने विजयी हुँदा कांग्रेसकी इन्द्रा चन्द सिंह ३१४७ मत ल्याएर दोस्रो भइन । एमालेकी सुनिता बोहरा २५४२ मत ल्याउँदै तेस्रो भइन ।
यो पालिकामा २०७९ सालमा माओवादी र कांग्रेसका बीचमा गठबन्धन थियो । गठबन्धनबाट मेयरमा माओवादीका डम्मरबहादुर रावत र उपमेयरमा कांग्रेसकी सरिता सिंह विजयी भएका थिए । २०८० कात्तिक १७ गते भूकम्पमा परी सिंहको मृत्यु भएपछि रिक्त पदमा भएको उपचुनावको परिणाम माओवादीले आफ्नो पक्षमा पारेको हो ।
एमालेले पनि विगतमा चुनाव नजितेको क्षेत्रमा चुनाव जितेको छ । दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही विजयी भए । यसअघि कांग्रेसले जितेको यो पालिका अध्यक्षमा उपनिर्वाचन हुँदा एमालेले खोसेको हो । यससँगै कर्णालीमा एमालेले स्थानीय तहमा एक सिट थपेको छ ।
एमालेका शाहीले ३१२७ मत ल्याएर विजयी हुँदा कांग्रेसका झलकबहादुर भण्डारी २६७५ मत ल्याएर दोस्रो भए भने माओवादीका जंगबहादुर बरालमगरले ८४२ मत पाए ।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा पनि एमालेकी सुलोचनाकुमारी भण्डारी बुढा विजयी भएकी छन् ।
निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुल्तीसरा शाहीलाई पराजित गर्दै बुढा विजयी भएकी हुन् । बुढाले एक हजार ७४० मत प्राप्त गरेकी छन् भने कांग्रेसकी शाहीले एक हजार ४७४ मत पाइन् ।
२०७९ सालको निर्वाचनमा विजयी कांग्रेसकी मैनादेवी जोशीको निधन भएपछि स्वामीकार्तिकमा उपनिर्वाचन भएको हो ।
जसपा नेपालले गत चुनावमा जितेको मध्ये एउटा पद मात्रै रिक्त भएको थियो । यो उपचुनावमा जसपा नेपालले दुई पद जितिसकेको छ । एकीकृत समाजवादी र नेपाल मजदुर किसान पार्टीले पनि जितेर एक/एक सिट थपिसकेको छ ।
अब बाँकी चार स्थानको मत परिणाम आउन बाँकी रहेको छ । कीर्तिपुरमा कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले सबैभन्दा बढी मत ल्याएका छन् । उनलाई एमालेका सुरेन्द्र मानन्धरले पछ्याइरहेका छन् ।
त्यस्तै सार्केगाड गाउँपालिका उपाध्यक्षबाट माओवादीकी देवकी तिमल्सिना अगाडि रहेकी छिन् । उनलाई एमालेकी जाना शाहीले पछ्याइरहेकी छिन् ।
गौरीशंकर गाउँपालिका उपाध्यक्षमा पनि माओवादीले नै अग्रता कायम गरेको छ । माओवादीकी निमलेकी शेर्पालाई एमालेकी उमा लुङ्गेली मगर शेर्पाले पछ्याइरहेकी छिन् ।
बेलका नगरपालिका वडा नम्बर ९ को अध्यक्ष पदको मतगणना स्थागित भएको छ । वडामा बदर मत नै ४४ प्रतिशत भएपछि विवाद भएर मत गणना स्थगित भएको हो ।