मेयरसाप

कीर्तिपुर नगरपालिका

स्थानीय तह

भरतपुर महानगरपालिका

बालेन शाह

सुनिता डंगोल

खेलकुद मेला

भरतपुर महानगरपालिका

नरैनापुर गाउँपालिका

इस्मा गाउँपालिका

नेपालगन्ज उपमहानगरपालिका

नवजात शिशु

स्थानीय तह उपनिर्वाचन मतपरिणाम: ४४ पदमा कहाँ कसले जिते ? सूचीसहित

उपनिर्वाचनकाे परिणामले उत्साहित छ माओवादी, दबाब महसूस गरिरहेका छन् नयाँ राजनीतिक दलहरू !

आरसी

मंगल, मंसिर १८, २०८१ | १२:१४ बजे

काठमाडौं । स्थानीय तहका रिक्त ४४ पदको उपनिर्वाचनमा पुरानै राजनीतिक दलहरुले दबदबा कायम राखेका छन् । यो उपनिर्वाचनमा ठूला राजनीतिक दल नेपाली कांग्रेस, एमाले तथा माओवादी नै मुख्य प्रतिस्पर्धीको रुपमा उदाएका छन् ।

 

नयाँ राजनीतिक पार्टीहरुको हस्तक्षेप भने कमजोर देखिएको छ । उम्मेदवारी दिएअनुसार प्रायः स्वतन्त्रहरुले हारेका छन् । एकजना मात्रै स्वतन्त्र उम्मेदवारले यो उपनिर्वाचनमा जित हासिल गरेका छन् । धेरै पार्टीहरुले जमानत समेत जोगाउन सकेनन् ।  उपनिर्वाचनमा ३ सय ७६ जना ४१ पदका लागि प्रतिस्पर्धामा उत्रिएका थिए ।

 

४४ पदमध्ये ३ पदमा उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका थिए । जिल्ला समन्वय समिति ओखलढुंगामा नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा टीकाकुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भएका थिए । अघिल्लो पटक पनि कांग्रेसले नै जितेका उक्त पदमा यसपटक पनि कांग्रेसकै उम्मेदवार निर्विरोध भएका हुन् ।

 

रूकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का उम्मदेवार जगत घर्ती पनि निर्विरोध निर्वाचित भएका थिए । रिक्त ४४ स्थानीय तहमा कांग्रेसले गएको २०७९ सालको निर्वाचनमा २७ स्थान जितेको थियो । तर यसपटकको उपनिर्वाचनमा कांग्रेसले गुमेका सबै स्थान फिर्ता गर्न सकेन ।

 

दुई जिल्ला समन्वय समितिका प्रमुख पदमा गएको स्थानीय तहमा कांग्रेसकै उम्मेदवार विजयी भएका थिए । यस पटकको उपनिर्वाचनमा पनि उनीहरु नै निर्विरोध भए । कीर्तिपुरको मेयरमा पनि कांग्रेसले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो । कीर्तिपुरमा कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल निर्वाचित भएका छन् । अन्य ठाउँहरुमा भने कांग्रेस वडा अध्यक्षहरुमा सीमित भयो ।

 

कांग्रेसका उम्मेदवारहरु हेटौंडा उपमहानगर वडा नम्बर १२ को अध्यक्षमा अर्जुनप्रसाद तिवारी, मुसिकोट नगरपालिका वडा नम्बर १ मा आनन्द श्रेष्ठ, भिमदत्त नगरपालिका वडा नम्बर ६ मा प्रकाश चन्द, ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ मा अमिन थारु, गढी गाउँपालिका वडा नम्बर ६ मा तेतर साहु, राजपुर नगरपालिका वडा नम्बर ६ मा समसे आलम, कीर्तिपुर नगरपालिका वडा नम्बर ४ मा राजेन्द्र बानियाँ र वडा नम्बर १ मा इच्छाकुमार महर्जन, सुर्मा गाउँपालिका वडा नम्बर ४ मा धिरेन्द्र पुजारा, रुन्टिगढी गाउँपालिका वडा नम्बर ४ मा भुपमणि पुन मगर, ईशनाथ नगरपालिका वडा नम्बर ७ मा शेख अब्दुल खलिक, सानीभेरी गाउँपालिका वडा नम्बर ५ मा मोतिराम खत्री, पूर्वीचौकी गाउँपालिका वडा नम्बर ६ मा मोहन थापा, लालिगुराँस नगरपालिका वडा नम्बर ८ मा नगेन्द्र लिम्बू, दुहु गाउँपालिका वडा नम्बर ५ मा धनसिंह कुंवर, कुसे गाउँपालिका वडा नम्बर ७ मा खम्बबहादुर सिंह वडा अध्यक्षमा विजयी भएका हुन् ।  

 

नेकपा एमालेले अहिलेसम्म महाबु गाउँपालिका अध्यक्षमा जित हासिल गरेको छ । महाबुमा जंगबहादुर शाही विजयी भएका छन् । त्यस्तै स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदमा एमालेकी सुलोचनाकुमारी भण्डारी विजयी भएकी छिन् ।

 

गौरिशंकर गाउँपालिका उपाध्यक्षमा पनि एमालेले जित निकालेको छ । एमालेकी उम्मेदवार उमा लुङ्गेली मगर शेर्पाले दुई हजार ८०५ मत ल्याएर जित हासिल गरेकी हुन् ।

 

एमालेका उम्मेदवारहरु शुद्धोधन गाउँपालिका वडा नम्बर १ मा मोहम्मद ताहिर मुसलमान, रामगोपालपुर नगरपालिका वडा नम्बर २ मा सकिवुल खाँ, दुल्लु नगरपालिका १३ मा लालबहादुर शाही, मोलुङ गाउँपालिका वडा नम्बर ५ मा गंगाबहादुर तामाङ र सिरिजंङ्गा गाउँपालिका वडा नम्बर ३ मा कुमारी सामावेदेन वडा अध्यक्षमा विजयी भएका छन् ।

 

नेकपा माओवादी केन्द्रले यो उपनिर्वाचनमा राम्रो प्रदर्शन गरेको छ । गएको निर्वाचनमा आठ वटा पदमा उसकै उम्मेदवारले जितेका थिए । तर त्यतिबेला कांग्रेस र माओवादीले गठबन्धन गरेका थिए । माओवादीले यो उपनिर्वाचनमा गठबन्धन नगरी थप जित हासिल गरेको छ ।

 

माओवादीले एक गाउँपालिका अध्यक्ष, एक उपमेयर र दुई उपाध्यक्ष पदमा जित हासिल गरिसकेको छ । अहिलेसम्म माओवादीका उम्मेदवार ग्रामथान गाउँपालिका अध्यक्षमा नमो नारायण माझी, नलगाड नगरपालिका उपमेयरमा देवका लामिछाने, पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा नरपुरा बुढा र सर्केगाड गाउँपालिका उपाध्यक्षमा देवकी तिमल्सिना विजयी भएका हुन् ।

 

माओवादी केन्द्रबाट वडा अध्यक्षहरुका उम्मेदवारहरु ककनी गाउँपालिका वडा नम्बर २ बाट कृष्ण घिमिरे, त्रियुगा नगरपालिका वडा नम्बर १२ का उम्मेदवार नविनकुमार वान्तवा राई,  धनुषधाम नगरपालिका वडा नम्बर १ का उम्मेदवार शुनिल कापर केवट, गोरखा नगरपालिका वडा नम्बर ५ का उम्मेदवार विष्णुबहादुर मगर, त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ५ का उम्मेदवार नरबहादुर झाक्री र बेलका नगरपालिका वडा नम्बर ९ मा भरत घिमिरे वडा अध्यक्षमा विजयी भएका हुन् ।

 

जनता समाजवादी नेपालबाट मधेश प्रदेशमा दुई जना उम्मेदवार विजयी भएका छन् । डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ का जसपा नेपालका उम्मेदवार धिरेन्द्रकुमार साह र वडा नम्बर ४ का वडा अध्यक्ष पदका उम्मेदवार देवेन्द्रप्रसाद यादव विजयी भएका हुन् ।

 

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी काठमाडौं महानगरपालिका वडा नम्बर १६ की रोजिना श्रेष्ठले वडा अध्यक्ष पदमा जित हासिल गरेकी छिन् । यो जित सँगै रास्वपाले स्थानीय तहमा खाता खोलेको छ । अघिल्लो स्थानीय तहको निर्वाचन हुँदा स्थापना नै नभएको रास्वपाको स्थानीय तहमा यो पहिलो प्रतिनिधित्व हो ।

 

माधवकुमार नेपालको पार्टी एकीकृत समाजवादीले रौतहटको गढीमाई नगरपालिका वडा नम्बर ८ मा जित हासिल गरेको छ । वडा अध्यक्षका उम्मेदवार बजरङ्गीप्रसाद यादव वडा अध्यक्षमा विजयी भएसँगै एकीकृत समाजवादीले पनि खाता खोलेको हो ।

 

झापाको कन्काई नगरपालिका वडा नम्बर ६ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओलीले झापामा जित हासिल गरेका हुन् ।

 

यो उपनिर्वाचनमा कांग्रेसले १९ स्थानमा जित निकालेको छ ।  नेकपा एमालेले अघिल्लो स्थानीय तहमा भन्दा बढी सिट जित्न सफल भएको छ । नेकपा माओवादीले मुख्य पदहरुमा बढी जित निकालेको छ ।  उपनिर्वाचन भएका क्षेत्रहरुमा यसअघि माओवादीले जितेको ८ र एमालेले जितेका ७ स्थान रिक्त भएको थियो ।

 

हालसम्मको परिणाममा एमालेले ८ पदमा जित निकालिसकेको छ भने माओवादीले ११ स्थानमा जित निकालिसकेको छ । माओवादी र एमालेले पालिकाका प्रमुख पदहरुमा कांग्रेसलाई पछि पारेका छन् । 
कीर्तिपुर नगरपालिकाको प्रमुखमा कांग्रेसका कृष्णमान डङ्गोल पाँच हजार तीन सय ३४ मत प्राप्त गरी विजयी भएका छन् ।

 

उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का शिवशरण महर्जनले चार हजार पाँच सय ५५ मत प्राप्त गरे । यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुरेन्द्र मानन्धरले चार हजार तीन सय २७ र स्वतन्त्र उम्मेदवार राजमान महर्जनले दुई हजार ३६ मत प्राप्त गरे ।

 

दोलखाको गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार उमा लुङ्गेली मगर शेर्पा विजयी भएकी छिन् । उनले दुई हजार आठ सय पाँच मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार निम लेकी शेर्पाले दुई हजार छ सय मत प्राप्त गरिन् ।

 

यस्तै, नेपाली कांग्रेसका उम्मेदवार पासदिकी तामाङले एक हजार सात सय २७ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका मनकुमारी श्रेष्ठले एक सय १८, राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा श्रेष्ठले एक सय, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का रविना खड्काले ९० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

 

हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी देवकी तिमिल्सिना विजयी भएकी छिन् । नेपाली कांग्रेसका उम्मेदवार सविता बुढालाई पछि पार्दै माओवादी केन्द्रका उम्मेदवार तिमिल्सिना ४३ मत अन्तरले विजयी भएकी हुन् । सर्केगाडमा छ हजार आठ सय १० मतदाता रहेकामध्ये चार हजार पाँच सय २४ मत खसेको थियो । तिमल्सिनाले एक हजार छ सय ३७ मत ल्याएर विजय हासिल गरिन् ।

 

उनकी निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सविता बुढाले एक हजार पाँच सय ९४, नेकपा एमालेकी जाना शाहीले एक हजार एक सय ३२, राष्ट्रिय प्रजातन्त्र पार्टीकी सङ्गीता शाहीले ५१, राष्ट्रिय स्वतन्त्र पार्टीकी बाँचा बुढाले २५ र स्वतन्त्र उम्मेदवार नरेश शाहीले नौ मत प्राप्त गरे ।

 

मोरङको ग्रामथान गाउँपालकामा माओवादी केन्द्रका नमोनारायण माझी विजयी भए । माझीले ६९६९ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बलराम सरदार थारुले ५३३३ मत पाए । एमालेका तुलसीराम विश्वास ४१५९ मत ल्याएर तेस्रो भए ।

 

यो पालिकामा २०७९ साल वैशाखमा सम्पन्न चुनावमा माओवादी केन्द्र तेस्रो स्थानमा थियो । त्यसबेला कांग्रेसका जयप्रकाश गच्छदार थारु ७६०५ मत ल्याएर विजयी भएका थिए । एमालेका शिवनारायण माझी ६०९३ मत ल्याएर दोस्रो हुँदा माओवादीका विजयकुमार सरदार २७२७ मतसहित तेस्रो भएका थिए ।

 

जाजरकोटको नलगाडको उपमेयरमा पनि माओवादीले जितेको छ । ४२७२ मत ल्याएर माओवादीकी देवका लामिछाने विजयी हुँदा कांग्रेसकी इन्द्रा चन्द सिंह ३१४७ मत ल्याएर दोस्रो भइन । एमालेकी सुनिता बोहरा २५४२ मत ल्याउँदै तेस्रो भइन ।

 

यो पालिकामा २०७९ सालमा माओवादी र कांग्रेसका बीचमा गठबन्धन थियो । गठबन्धनबाट मेयरमा माओवादीका डम्मरबहादुर रावत र उपमेयरमा कांग्रेसकी सरिता सिंह विजयी भएका थिए । २०८० कात्तिक १७ गते भूकम्पमा परी सिंहको मृत्यु भएपछि रिक्त पदमा भएको उपचुनावको परिणाम माओवादीले आफ्नो पक्षमा पारेको हो ।

 

यसपटकको उपनिर्वाचनमा एमालेले पनि विगतमा चुनाव नजितेको क्षेत्रमा चुनाव जितेको छ । दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही विजयी भए । यसअघि कांग्रेसले जितेको यो पालिका अध्यक्षमा उपनिर्वाचन हुँदा एमालेले खोसेको हो । यससँगै कर्णालीमा एमालेले स्थानीय तहमा एक सिट थपेको छ ।

 

एमालेका शाहीले ३१२७ मत ल्याएर विजयी हुँदा कांग्रेसका झलकबहादुर भण्डारी २६७५ मत ल्याएर दोस्रो भए भने माओवादीका जंगबहादुर बरालमगरले ८४२ मत पाए ।

 

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा पनि एमालेकी सुलोचनाकुमारी भण्डारी बुढा विजयी भएकी छन् ।

 

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुल्तीसरा शाहीलाई पराजित गर्दै बुढा विजयी भएकी हुन् । बुढाले एक हजार ७४० मत प्राप्त गरेकी छन् भने कांग्रेसकी शाहीले एक हजार ४७४ मत पाइन् ।

 

२०७९ सालको निर्वाचनमा विजयी कांग्रेसकी मैनादेवी जोशीको निधन भएपछि स्वामीकार्तिकमा उपनिर्वाचन भएको हो ।

 

जसपा नेपालले गत चुनावमा जितेको मध्ये एउटा पद मात्रै रिक्त भएको थियो । यो उपचुनावमा जसपा नेपालले दुई पद जितिसकेको छ । एकीकृत समाजवादी र नेपाल मजदुर किसान पार्टीले पनि उपनिर्वाचनबाट एक÷एक सिट थपेको छन् ।
 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

हाम्राे टिम

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology