हरिवनका महिलाहरु व्यावसायी बन्दै
स्थानीय तहले दिने तालिम लिएर सदुपयोग गर्न सके स्वरोजगार बन्नसमेत सहयोग पुग्ने हरिवनका महिलाहरुकाे भनाइ
Mayorsap
शुक्र, मंसिर २८, २०८१ | १३:२१ बजे
सर्लाही । सर्लाहीको हरिवन नगरपालिका–५, घुर्कौलीका स्थानीय महिलाहरूले लघुउद्यम गरेर आम्दानी गर्न थालेका छन् ।
स्थानीय नौ महिलाको समूहले गाउँघरमै लघुउद्यम गरेर फुर्सदको समयमा थोरै भए पनि आम्दानी गर्न सुरु गरेका हुन् । हरिवन नगरपालिका–५ वडा कार्यालयले महिला सशक्तीकरणको लागि छुट्याइएको बजेटबाट लिएको तालिमले अहिले उद्यमी व्यवसायी बनाएको आमा शक्ति महिला लघुउद्यमी समूहकी अध्यक्ष शिलाकुमारी महतोले बताइन ।
उनका अनुसार आमाहरू मिलेर समूह बनाएका छन् र आमाहरूको लागि अत्यावश्यक सरफ (डिटरजेन्ट पाउडर) बनाउन सुरु गरेका छन् । महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यसहित दुई वर्षअघि वडा कार्यालयले सञ्चालन गरेको तालिममा सहभागी स्थानीय महिलाजनले जनही रु. पाँच हजारका दरले रकम जम्मा गरेर समूह दर्ता गरेका हुन् ।
सुरुमा हातले बनाएर प्याक गर्ने र आफैँले प्रयोग गर्ने गरेको समूहकी कोषाध्यक्ष सजनी स्याङ्तानले बताइन । यसरी व्यावसायिक हुन नसक्ने देखेपछि फेरि सदस्यहरूले रु. २५/२५ हजार थपेर र नपुग रकम ऋण लिएर मेसिन किनेको उनको भनाई छ । मेसिनको सहायताले धेरै छिटो र सजिलै धेरै सरफ उत्पादन गर्न सकेको उनले बताइन ।
समूहले उत्पादन गरेको सरफ प्याक गरेर आफैँले बजारसम्म पुर्याउने गरेका छन । बजारमा माग कम रहेकाले अहिले १५ दिनमा दुई पटक उत्पादन गर्ने र अन्य दिनमा बजारमा प्रचारप्रसार गर्ने गरेको अध्यक्ष महतोले बताइन । उत्पादन गर्ने दिन सबै सदस्य बिहान घरधन्दा सकेर कारखानामा उपस्थित हुने बताइन । काम बाँडफाँट गरेर कसैले तयारी पाउडर प्याकेटमा हाल्ने, कसैले जोख्ने, कसैले प्याक गर्ने र कसैले बोरामा प्याक गरेर राख्ने गरेको पनि महतोले बताइन ।
सीप सिकेर उद्यमी व्यवसायी बनेपछि तरकारी, सामान्य खर्चको लागि श्रीमान्को मुख ताक्नुपर्ने बाध्यता हटेको उनीहरुको भनाइ छ । स्थानीय तहले दिने तालिम लिएर सदुपयोग गर्न सके स्वरोजगार बन्नसमेत सहयोग पुग्ने उनीहरूको अनुभव छ । यस समूहले उत्पादन गरेको सरफ उक्त वडाले सुत्केरी पोषण प्याकेज कार्यक्रममा वितरण गर्ने गरिएको छ । नगरका ११ वटै वडाका सुत्केरीलाई वितरण गरिने पोषण प्याकेजमा स्थानीय उत्पादन समावेश गरिदिए आफूहरुले बजार खोज्न धाउनुपर्ने समस्यासमेत समाधान हुने कोषाध्यक्ष स्याङ्तानले बताइन ।
समूहकी अध्यक्ष महतोले बजारमा अत्यधिक प्रतिस्पर्धा रहेको र स्थानीय उत्पादन भनेपछि नाक खुम्च्याउने प्रचलनले समस्या भएको बताइन । आफुहरु लघुउद्यमी भएकोले ठूलो लगानी नहुने र थोरै कच्चापदार्थ लिँदा महङ्गो पर्ने महिलाहरु बताउँछन । उपकरणको प्रयोग गर्न नसकेका कारण लागत पनि केही बढी हुने पनि बताउँछन । स्थानीयस्तरमा उत्पादन गरेको भनेपछि उपभोक्ता किन्न हिच्किचाउने गर्दा बजारमा केही समस्या भए पनि निराश नभइ उत्पादन गरिरहेको र बजारमा पाइने अन्य सरफभन्दा पनि गुणस्तरको सरफ उत्पादन गरेको अध्यक्ष महतोको दाबी छ ।
स्थानीय तथा नगरवासीले पनि स्थानीय उत्पादन खोजीखोजी प्रयोग गरेर साना धरेलु तथा लघु उद्योगलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ । समूहले सामान बेचेको नाफासमेत लगानी गरेर अहिले आठ लाख रुपैयाँ बराबरको पुँजी विस्तार गरेको जनाएको छ । अढाइ क्वीन्टल क्षमताको मिक्स्चर मेसिन, एक थान तौल मेसिन र एक थान प्याकेट बन्द गर्ने हिटर मेसिनको प्रयोगबाट उनीहरुले सरफ उत्पादन गरिरहेका छन ।
बजारबाट माग आएमा दैनिक २५ क्विन्टलसम्म सरफ उत्पादन र प्याकिङ गर्ने उपकरण र जनशक्ति आफूहरुसँग मौज्दात रहेको अध्यक्ष महतोले बताइन ।
यहाँ उत्पादित सरफ प्रतिकिलो होलसेलमा ८० रुपैयाँ र खुद्रामा सय रुपैयाँसम्ममा बिक्री गर्ने गरिएको छ । अहिले महिनाको चारदेखि पाँच क्विन्टलसम्म सरफ उत्पादन गरेर बजारमा पुर्याउने गरेको समूहले जनाएको छ ।