रैथाने फूलले भरीएको रमणीय चोत्लुङ पार्क लिम्बू संस्कृति अध्ययन केन्द्र बन्दै
Mayorsap
बुध, पौष १०, २०८१ | १४:०४ बजे
तेह्रथुम । गुराँसे पाखाको बीचमा रहेको सुन्दर चौर । रैथाने वास्तु शैलीमा निर्मित खरले छाएका परम्परागत घरहरु । बाहाँ, सिकुवा, आँगन । बिना कङ्क्रिड ढुङ्गैढुङ्गा जोडेर बनाइएका फलैंचा र सिँढीमार्ग । मुन्धुममा वर्णन गरिए झै उभ्याइएका अग्लाअग्ला ढुङ्गाका स्तम्भ । सिङ्जाङ्गो (धसिङ्गरे), फुन्जिङ्बा (पैंयू), तेरुलासे (केरा), लिरुसिङ् फा (मलिबाँस) जस्ता हुर्किरहेका मुन्धुममा वर्णित वनस्पतीहरुले तेह्रथुमको पर्यटकीय बजार वसन्तपुर छेउको चोत्लुङ पार्क पुग्ने जो कोहीलाई पनि लोभ्याउँछ ।
यहाँको सुन्दरतामा हरेक दिन पर्यटकहरु रमाइरहेका भेटिन्छन् । चोत्लुङ पार्कमा भेटिएका सुनसरी धरानका रनबहादुर सुब्बाले झण्डै तीन दशकअघिको याक्थुङ (लिम्बू) गाउँ पुगेको अनुभूति भएको सुनाए । ‘‘अहिले त गाउँघरले पूरै रुप फेरिसक्यो’’ उनले भने ‘‘यहाँ बनाइएका घर र अन्य संरचनाहरुले उहिलेको गाउँघरको याद दिलायो ।’’
चोत्लुङ पार्कमै भेटिएका इलामका चञ्चल लिम्बूले पनि यहाँ पुग्दा आफूले फरकपनको महसुस गरेको सुनाए । अन्य ठाउँहरुमा घुम्दा आधुनिकताको सिको गर्दै बनाइएका संरचनाहरु देखिन्थे । तर चोत्लुङ पार्क पुग्दा भने मौलिक तरिकाबाट पनि पर्यटकीय पूर्वाधारहरु बनाउन सकिने रहेछ भन्ने लागेको उनले बताए ।
लालिगुराँस नगरपालिका–३ मा रहेको यो ठाउँ २०७४ साल अघिसम्म यस्तो थिएन । वन क्षेत्रभित्रको एकान्तमा पर्ने यहाँ हमेसा मानिस नै पुग्दैनथे । पर्यटक आउने त कुरै भएन । यहीँ ठाउँमा चोत्लुङ पार्क निर्माण गरिएपछि अहिले हरेक दिन सयौंको सङ्ख्यामा पर्यटक पुग्ने गरेका छन् ।
चोत्लुङ पार्कमा रहेका प्रकृतिमैत्री, कलात्मक र रैथाने शैलीका पर्यटकीय पूर्वाधारहरुको अवलोकन गरेर यहाँ पुग्ने पर्यटक आनन्दित हुन्छन् । छोरीको नामको पूजा गर्न पहिलोपल्ट चोत्लुङ पार्क पुगेकी धरानकी चन्द्रा लिम्बूले उहिलेको पहाडी गाउँले जनजीवन र जीवनशैलीको याद आएको बताए । ‘‘यी घर, सिकुवा, आँगन, फुलबारी, गोरेटा, फलैंचा र कुवाले मलाई पुराना दिनहरुको सम्झना दिलायो’’ उनले भने । मौलिकताको संरक्षण गर्दै पर्यटन विकास गर्ने शैली उनलाई निकै मन परेको छ ।
मुन्धुमविद् एवं याक्थुङ (लिम्बू) इतिहासका अध्येतासमेत रहनुभएका लालिगुराँस नगरपालिकाका नगर प्रमुख अर्जुन माबुहाङकै परिकल्पनामा चोत्लुङ पार्क निर्माण गरिएको हो । विसं २०७४ मा भएको पहिलो स्थानीय तह निर्वाचनबाट नगर प्रमुखमा निर्वाचित भएपछि उनले पार्कको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) बनाएर निर्माणको काम अघि बढाएका थिए ।
विसं २०७९ मा भएको दोस्रो स्थानीय तह निर्वाचनबाट पनि उहाँ नै नगर प्रमुख निर्वाचित भएपछि चोत्लुङ पार्कले करीब करिब पूर्णता पाएको छ । नगर प्रमुख माबुहाङले त्यतिबेला आफ्नो योजना सुनाउदा इन्जिनियरले खरले छाउने घरको नक्सा बनाउन मानेका थिएनन् । ‘‘जबरजस्ती नक्सा बनाउन लगाइयो’’ उहाँले भन्नुभयो, ‘‘अहिले यहीँ हेर्न मान्छे आएको देख्दा र धेरैले यहीँ कामको प्रशंसा गरेको सुन्दा खुसी लाग्छ ।’’
चोत्लुङ पार्कमा युमा सङ्ग्रहालय छ । सङ्ग्रहालयमा तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाह र लिम्बुवानबीच विभिन्न समयमा भएका सन्धि, सम्झौता, रुक्काजस्ता ऐतिहासिक र दुर्लभ कागजात सुरक्षित गरेर राखिएका छन् । याक्थुङ (लिम्बू) जातिसँग सम्बन्धित पुराना भेषभूषा, गरगहना, हातहतियार र विभिन्न उपकरण सङ्ग्रहालयमा सुरक्षित गरिएको छ । २०७६ पुस ५ गते नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले सङ्ग्रहालयको उद्घाटन गरेपछि सर्वसाधारणका लागि अवलोकन गर्न खुल्ला गरिएको हो ।
यहाँ रहेका ऐतिहासिक कागजात, दस्तावेज र अन्य वस्तुहरुले लिम्बुवानको इतिहास र सभ्यतालाई जीवन्त राख्ने नगर प्रमुख माबुहाङले बताए। उनका अनुसार तत्कालीन लिम्बुवान क्षेत्रका विभिन्न ठाउँहरुबाट धेरै दुःख गरेर यी ऐतिहासिक कागजात र सामग्री सङ्कलन गरिएका हुन् । समयक्रमसँगै हराएर जाने वा नष्ट भएर जाने खतरा बढेकाले यी वस्तुहरुलाई सुरक्षित र व्यवस्थित गरिएको छ ।
सङ्ग्रहालयले संस्कृति र इतिहासको अध्ययन, अनुसन्धान गर्न चाहनेहरुलाई ठूलो सहयोग पु¥याउने म्याङलुङ बहुमुखी क्याम्पस तेह्रथुमका उप प्राध्यापक दिपक कट्टेलले बताए। यसबाट भावी सन्ततिले आफ्नो इतिहास, संस्कृति, समाज र समाज विकासका चरणबारे जानकारी प्राप्त गर्ने उनको भनाइ छ । यस किसिमका अन्य विभिन्न जातजातिका धर्म, संस्कृति रीतिरिवाज झल्काउने सङ्ग्रहालयहरु समेत निर्माण गरिए संस्कृति र इतिहासको अध्ययन, अनुसन्धान गर्न चाहनेहरुलाई अझ ठूलो सहयोग पु¥याउने उपप्राध्यापक कट्टेलको भनाइ छ ।
सङ्ग्रहालय, मौलिक संस्कृति र सभ्यता झल्काउने प्रकृतिमैत्री पूर्वाधार, स्वच्छ परिवेश र सुन्दर प्रकृति चोत्लुङ पार्कको मुख्य आकर्षण हुन् । किरात याक्थुङ चुम्लुङ तेह्रथुमका अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङले चोत्लुङ पार्क गुराँसे पाखामा फुलेको रैथाने फूल भएको टिप्पणी गरे । चोत्लुङ पार्क एक सय रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको छ । मध्यपहाडी (पुष्पलाल) लोकमार्गअन्तर्गत तेह्रथुमको लालिगुराँस नगरपालिकाको केन्द्र वसन्तपुर बजार छेउमा रहेको चोत्लुङ पार्क सवारी साधनबाटै सहजै पुग्न सकिन्छ ।
लालिगुराँसको राजधानी घोषणा गरिएको तिनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्र प्रवेशद्वारको रुपमा रहेको वसन्तपुरमै रहेको छ, चोत्लुङ पार्क । त्यसैले पनि चोत्लुङ पार्कमा पर्यटकीय चहलपहल भइरहन्छ । गुराँस फुल्ने समयमा त चोत्लुङ पार्कमा पर्यटहरुको ठूलो घुइँचो लाग्ने गर्छ । तिनजुरे–मिल्के–जलजले जाने पर्यटक जाँदा वा फर्किदा चोत्लुङ पार्क पुगेर मात्र फर्किन्छन् । यस क्षेत्रमा ३२ प्रजातिकामध्ये २८ प्रजातिका गुराँस पाइन्छ ।
फुल्ने यामबाहेक अन्य समयमा पनि चोत्लुङ पार्कमा दैनिक दर्जनौं पर्यटक आउँछन् । पूर्वी नेपालका सबैजसो जिल्ला तथा भारतको सिक्किम, दार्जलिङ र कहिलेकाहीँ अन्य विदेशी पर्यटक पनि चोत्लुङ पार्क पुग्ने गरेका पार्कका साम्बा (पुजारी) रुद्रबहादुर तिलिङ लिम्बूले बताए । ‘चोत्लुङ’ याक्थुङ (लिम्बू) भाषाको अर्थ ‘सिद्धि’ अर्थात ‘पूर्णता’ हुन्छ । त्यसैले सिद्धीस्थलको रुपमा चोत्लुङ पार्क निर्माण गरिएको नगर प्रमुख माबुहाङ बताउछन् ।
पार्क निर्माणका लागि हालसम्ममा लालीगुराँस नगरपालिका, नयाँ शहर आयोजनाको कार्यालय वशन्तपुर तेह्रथमु र अन्य निकाय अनि मनकारी सहयोगीहरुको गरी दुई करोड बढी रकम खर्च भएको नगर प्रमुख माबुहाङले बताए । पार्क सञ्चालनका लागि नगरपालिकाले रु.५० रुपैंयाँ प्रवेश शुल्क तोकेको छ । सङ्ग्रहालय समेत अवलोकन गर्न चाहनेहरुले भने रु.एक सय तिर्नुपर्छ । पार्क र सङ्ग्रहालय अवलोकन गर्न आउने पर्यटकबाट वार्षिक रु.१३ लाख राजश्व संकलन हुने गरेको नगरपालिकाले जनाएको छ ।
गाउँ बनाउने अवधारणाअन्तर्गत चोत्लुङ पार्क निर्माण गरिएको नगर प्रमुख माबुहाङले बताए । ‘‘अहिले सबै शहर बनाउनेतिर लागेका छन्, गाउँ बनाउने एजेण्डा कसैसँग छैन’’ उनले भने ‘‘त्यसैले गाउँको सम्भावनाहरुलाई मर्न नदिन र उपेक्षामा परेको गाउँप्रति मानिसहरुलाई आकर्षित गर्न यो काम गरिएको हो ।’’ चोत्लुङ पार्कले पछिल्लो समय पर्यटकहरुलाई पूर्वी पहाड उकाल्ने काम त गरेको छ नै, स्थानीय सरकारले पहलकदमी लिन सके केही गर्न सकिन्छ भन्ने उदाहरण पनि पेश गरेको छ ।