तलब नै नखाई शेरे मुस्ताफाले छोडे बहुदरमाईको जिम्मेवारी, नयाँ प्रमुख प्रशासकीय अधिकृतको खोजी गरिँदै
विवादकाे चुराे विषय गर्भमै !
Mayorsap
सोम, पौष २९, २०८१ | १४:११ बजे
काठमाण्डौं । पर्साको बहुदरमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरे मुस्ताफाले बजेट कार्यान्वयन गर्न नपाएपछि तलब नै नखाई जिम्मेवारी छोडेका छन् ।
बहुदरमाईका लागि नयाँ प्रमुख प्रशासकीय अधिकृतको खोजी भइरहेको छ । मेयर सिंहासन साह तेली र प्रमुख प्रशासकीय अधिकृतको विवाद हुँदा बहुदरमाई नगरपालिकामा आगो नै लगाइएको थियो ।
आगो लगाइदिएकाले पालिकाको भवनमा भएका काजगपत्र सबै जलेर नष्ट भएका थिए । केही विद्यार्थीहरुलाई उक्साएर आगो लगाइएको चर्चा भएको थियो ।
पालिकामा किन आगो लगाइयो भन्ने विषय अहिले सामान्य तरिकाले छानबिन भइरहेको छ । तर केही गैरकानुनी काम गरेकाले त्यसबाट जोगिन पालिकामा आगजनी गरेर बच्ने प्रयास जनप्रतिनिधि र कर्मचारीकै मिलेमतोमा भएको आशंका पनि गरिएको छ ।
जनप्रतिनिधि र कर्मचारीले पालिकामा करारमा कर्मचारी राख्न आवेदकहरुसँग घुल लिएको विषय नमिल्दा यो विवाद बढेर पालिकामा आगजनीसम्म पुगेको केही स्थानीय व्यक्तिहरुको आशंका छ ।
यो विवाद संघीय मामिला मन्त्री राजकुमार गुप्ता र खानेपानी मन्त्री प्रदिप यादवबीचको टकराव पनि हुन पुगेको थियो । गुप्ता प्रमुख प्रशासकीय अधिकृत शेरे मुस्ताफालाई बचाउन लागेको र मन्त्री यादव मेयरको पक्षमा उभिएकाले उनीहरुबीच टकराब देखिएका हो ।
एमालेका मन्त्री गुप्ताले आफ्नो पार्टीबाट बहुदरमाईमा निर्वाचनमा हारेका शिवप्रसाद पटेल र अहिले बहुदरमाईको मेयरमा रहेका जसपा नेपालमा आवद्ध सिंहासन साह तेलीबीच ‘शक्तिको प्रदर्शन’ गराउँदा पालिका अहिलेसम्म तहसनहस भएको हो ।
गुप्ताले बहुदरमाईमा निर्वाचनमा हारेका शिवप्रसाद पटेललाई मन्त्रालयमा उप–स्वकीय सचिवको जिम्मेवारी दिएका छन् । पटेलले कर्मचारीको सेटिङ गर्ने गरेको र पालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाउँदा पैसा मागेको विषय केही हप्ता अगाडि सामाजिक सञ्जालमा छाताछुल्ल भएपछि मन्त्री गुप्ता पछि हट्दै बहुदरमाईका प्रमुख प्रशासकीय अधिकृत फेर्न सहमत भएको घटनाक्रमले देखाउँछ ।
मन्त्रालयकै पावर लगाएर बहुदरमाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतबाट मुस्ताफालाई हटाउन नदिएका मन्त्री गुप्ताको टिमले बहुदरमाईको पालिकामै आगलागी गराउन पनि भूमिका खेलेको हुनसक्ने आंकलन केही स्थानीय नागरिकहरुको छ । मन्त्री गुप्ताको टिमको मुख्य योजनाकार शिवप्रसाद पटेल भएको बहुदरमाईका स्थानीय नागरिकहरु बताउँछन् ।
पालिकामै आगो लगाउनु, शिवप्रसाद पटेलले घुसको डिल गरेको भन्दै सामाजिक सञ्जालमा ह्वाटएप्सका च्याट म्यासेजहरु फैलिनु, त्यसपछि मात्रै मन्त्री गुप्ता शेरे मुस्ताफालाई बहुदरमाईबाट प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी फेर्न तयार हुनुले पनि घटना शङ्कास्पद हो कि भन्ने आशंका बढाएको छ ।
बहुदरमाई नगरपालिकाका शिक्षक तथा कर्मचारीहरुले बजेट कार्यान्वयनमा नजाँदा अहिलेसम्म तलब सुविधा लिन पाएका छैनन् भने विकासका कामहरु पनि ठप्प छन् । झण्डै एक वर्ष मिलेर काम गरेका मेयर र मुस्ताफा गएको एक वर्षदेखि विवाद गर्दै आएका थिए ।
मेयरले उनलाई नहटाई बजेट खर्चको जिम्मेवारी नै नदिने अडान कसेपछि मुस्ताफा तलब नै नखाई पालिका छोड्न बाध्य भएका हुन् ।