अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथ आज, ह्वाइटहाउस प्रवेश गर्ने बित्तिकै के निर्णय गर्लान् ?


काठमाडौं । अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले आज शपथ लिँदैछन् । ट्रम्पको शपथ ग्रहण जिएमटी अनुसार साँझ ५ बजे हुनेछ। उनलाई प्रधानन्यायाधीश जोन रोबर्ट्सले शपथ गराउने छन्। यसअघि कङ्ग्रेस भवन बाहिर हुने बताइए पनि चिसो मौसमका कारण हलमा नै शपथ ग्रहण कार्यक्रम हुनेछ।
ह्वाइटहाउस प्रवेशअघि राष्ट्रपति ट्रम्प बिहान सेन्ट्र जोन्स चर्चमा प्रार्थना सभामा सहभागी हुनेछन् । त्यसपछि वर्तमान राष्ट्रपति जो बाइडेन र नवनिर्वाचित राष्ट्रपति ट्रम्पबीच भेटघाट गरी सत्ता हस्तान्तरण हुने छ । त्यसपछि ट्रम्पले ह्वाइटहाउस नजिकैको पेन्सिल्भेनिया एभेन्युमा आयोजना हुने सैनिक कवाज र परेड अवलोकन गर्ने छन् ।
विदेशी राष्ट्रका नेतृत्व पनि त्यहाँ उपस्थित हुने जनाइएको छ। ट्रम्पका मुख्य समर्थक अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलाई तथा हंगेरीका भिक्टर उबार्नको त्यहाँ उपस्थिति रहने छ। बिलिनियर एलन मस्क, जेफ बजस तथा मार्क जुकरबर्गको पनि उपस्थिति रहनेछ। स्टिभ विटकोफ र केली लोइफरको नेतृत्वमा गठित ट्रम्प शपथ ग्रहण समितिले १७० मिलियन अमेरिकी डलर चन्दा उठाएको छ।
ट्रम्पले गर्ने निर्णयमा सबैलाई चासो
गत ५ नोभेम्बरमा भएको निर्वाचनमा सफलता पाएका ट्रम्पको ह्वाइट हाउस प्रवेशलाई लिएर सबैलाई चासो छ। उनले आप्रवासी मुद्दा, जलवायु परिवर्तन, क्रिप्टो करेन्सी र ऊर्जाका विषयलाई कसरी अगाडि बढाउलान् भन्नेमा विश्वको ध्यान तानेको छ । त्यसपछि रुस युक्रेन युद्ध लगायत अन्य वैदेशिक मामलामा अमेरिकी भूमिकाका बारे पनि धेरैको चासो छ।
नयाँ राष्ट्रपति कार्यालय प्रवेश गर्ने बित्तिकै केही निर्णय गर्ने छन्। यी निर्णयहरु मुख्यतः ट्रम्पको चुनावी प्रतिबद्धतासँग सम्बन्धित हुनेछन् । उनले सीमा बन्द गर्नेदेखि अवैध आप्रवासीलाई अमेरिकाबाट फिर्ता पठाउने बताउँदै आएका छन्। यो नै डोनाल्ड ट्रम्पको कार्यकालको सबै भन्दा महत्त्वपूर्ण र चर्चाको विषय हो।
अमेरिकामा एक करोड १७ लाख कागजात नभएका आप्रवासी रहेको बताइएको छ । मेक्सिको अमेरिका सीमाबाट अमेरिका प्रवेश गर्नेको लर्को सन् २०२३ को अन्त्यमा अधिकतम पुगेको थियो। डिसेम्बर महिनामा नै ट्रम्पले एक करोड १० लाख विना कागजातका आप्रवासीलाई फर्काउने घोषणा गरिसकेका छन् यसले आप्रवासीमा चिन्ता छाएको छ। पछिल्लो समय विभिन्न देशमा भएका गृहयुद्ध, दुई देशको युद्ध तथा धेरै देशमा गरिबीका कारण समृद्ध अमेरिका पुग्न चाहनेको सङ्ख्या बढी रहेको छ।