मेयरसाप

बालेन शाह

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

शिक्षा

अर्थ

मनरासिसवा नगरपालिका

श्री राष्ट्रिय माध्यमिक विद्यालय

भेरी नगरपालिका

छिन्नमस्ता गाउँपालिका

चौँरी महोत्सव

डीएसपी निशान्त श्रीवास्तव– जसले जुवाडेलाई पक्रेर छुट्टी मनाउन एक दिन घर पठाए

कानुनमा नभएकाे व्यवस्था डीएसपी श्रीवास्तवले कसरी प्रयाेग गरे ?

Mayorsap

बुध, माघ ९, २०८१ | १९:४८ बजे

काठमाडौं । चाडपर्वको बेला थियो । त्यो पनि तिहारको माहोल थियो । १८ गते भाइटिका थियो । १७ गते जिल्ला लमजुङ प्रहरी कार्यालयले एक सूचना पायो । जुवा खेलेको । जुवाडेलाई पक्राउ गर्न प्रहरीले प्रहरी निरीक्षक टुलबहादुर श्रेष्ठको कमाण्डमा विशेष टोली खटायो ।

 

बेसीशहर नगरपालिका वडा नम्बर ३ गाउँशहर पात्लेमा रहेको कविन्द्र गुरुङले सञ्चालन गरेको काउलेपानी सामुदायिक होमस्टेमा प्रहरी पुग्यो । प्रहरीले जुवा खेल्दै गरेका १० जनालाई समात्यो । साथमा प्रहरीले १५ थान जुवाका कौडा र २ लाख ७२ हजार ३ सय ३५ रुपैयाँ पनि बरामद गर्यो । 
 

भोलिपल्ट भाइटिका थियो । प्रहरीले कानुनविपरीत १८ गते रहेको भाइटिकामा १७ गते राति जुवा खेलेको अभियोगमा पक्राउ परेका १० जनालाई नै घर जाने बिदा दियो । जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा डिएसपी निशान्त श्रीवास्तवले मनखुसी एक दिने बिदा स्वीकृत गरिदिए ।  जिल्ला प्रहरी कार्यालयका प्रमुख समेत रेहेका डिएसपी निशान्त श्रीवास्तवले पक्राउ परेका व्यक्तिहरुलाई छोड्ने आधार हाजिरी जमानी देखाए । अरु पक्राउ परेका जिल्लाभरका व्यक्तिहरु नछाडिने तर १० जना जुवाडेलाई चाहिँ भाइटिका लगाउन भन्दै छाडिने कानुनी आधार त भेटिँदैन । 
 

तर १७ गते राति पक्राउ परेका व्यक्तिलाई सरकारी वकीलको कार्यालय वा अदालतमै पेश नगरी कसरी हाजिरी जमानीमा छोडियो भन्ने प्रश्नको जवाफ डीएसपी श्रीवास्तवले पनि दिन सकेनन् । उता केन्द्रीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव महानिरीक्षक दिनेशकुमार आचार्य पक्राउ परेका व्यक्तिलाई सरकारी वकीलको कार्यालयको राय विपरीत प्रहरीले छोड्न नमिल्ने बताउँछन् । डीएसपी श्रीवास्तवले सरकारी वकीलको कार्यालयमा मुद्दा पेश नै नगरी उनीहरुलाई छोडिएको देखिन्छ । छोडिएको एक दिनपछि फेरि उनीहरुलाई पक्राउ गरी प्रहरीले कारबाही चलाइएको छ ।
 

लमजुङका सिडिओ बुद्धबहादुर गुरुङले पनि उक्त समयमा भएको घटनामा आफूलाई धेरै जानकारी नभएको बताए । हामीले कुन कानुनका आधारमा छोडिएको हो भनेर प्रश्न गर्दा सिडिओले त्यस्तो कुनै कानुनी आधार नभएको बताए । तर किन छोडियो त भन्ने प्रश्न गर्दा उनले बुझेर जानकारी दिने बताए ।
 

फौजदारी कानुनअन्तर्गत हिरासतमा लिएको व्यक्तिलाई छाड्ने कानुनी आधारमा भनिएको छ, ‘अनुसन्धानको सिलसिलामा हिरासतमा रहेको कुनै व्यक्तिलाई हिरासतमा राखिरहनु उपयुक्त वा आवश्यक नदेखिएमा अनुसन्धान अधिकारीले सरकारी वकीलको सहमति लिई वा तत्काल त्यस्तो सहमति लिने अवस्था नभएमा कारणसहितको पर्चा खडा गरी त्यस्तो व्यक्तिबाट धरौट वा जमानत लिई वा निजलाई कुनै माथवर व्यक्तिको जिम्मामा हाजिर जमानीमा छाड्न वा तारिखमा राख्न सक्नेछ ।’
 

फौजदारी संहिताका अनुसार १० जना जुवाडेलाई १८ गते छाडेर १९ गते फेरि पक्राउ गर्नुपर्ने आधार देखिँदैन । र, यो घटना कानुनअनुसार भएको पनि देखिँदैन । यो घटनामा डिएसपी श्रीवास्तवले पीडितसँग बार्गेनिङ गरेर कुनै लाभ खोजेको र लाभ नपाएका कारण फेरि उनीहरुलाई पक्राउ गरिएको हो कि भन्ने आशंका बढेको छ । 
 

‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ अर्थात स्वार्थको द्वन्द्वले पनि डीएसपी श्रीवास्तवले काम गरे कि भन्ने प्रश्न पनि खडा भएको छ । नाम नखुलाउने शर्तमा तत्कालीन समयमा पक्राउ परेका एक व्यक्तिले दिएको जानकारी अनुसार डीएसपी श्रीवास्तवले तत्कालीन समयमा उनीहरुमध्ये एक जनाको स्कार्पियोसमेत मागेर चलाएका थिए । डीएसपी श्रीवास्तवले आफ्ना बुबा आएको र बुबालाई घुमाउन स्कार्पियो चाहिएको भन्दै माग गरेका थिए । 

 

तर डिएसपीले मेयरसाप डट कमसँगको कुराकानीमा आफूले त्यसरी गाडी मागेर प्रयोग नगरेको जिकिर गरे । उनले फोनमा सबै कुरा गर्न नसक्ने र भेटेर मात्रै कुरा गर्न गर्ने बताए । हामीले ‘कानुनी आधार बताउन किन भेट्न आवश्यक रह्यो र ?’ भनेर प्रश्न गर्दा ‘फोनमा त जानकारी गराउन नसक्ने’ जिकिर गरे ।  

 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology