चन्द्र ढकालकाे 'ड्रिम प्राेजेक्ट' पाथीभरा केबलकार निर्माणमा स्थानीयबासीकाे बारम्बार अवराेध
अवराेध हटाउन छलफलकाे सट्टा शक्तिकाे प्रयाेग
Mayorsap
आइत, माघ १३, २०८१ | १७:०६ बजे
काठमाडाैं । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विषयलाई लिएर केबलकार बनाउनुहुँदैन भन्ने स्थानीय नागरिकहरू र सुरक्षा कर्मीबिच हिजाे भएकाे भएको झडपमा २५ जनाभन्दा बढी घाइते भए । चारजना स्थानीयवासी र सातजना सुरक्षाकर्मी गम्भीर घाइते भए । उनीहरू अहिले पनि अस्पतालमै छन् ।
सुरक्षाकर्मीतर्फ २१ जना घाइते भएकाेमा ७ जनाबाहेक अरू डिस्चार्ज भएका छन् । उता केबलकार निर्माणको विरोध गरिरहेको समूहका चारजना गम्भीर घाइते भएर अस्पतालमा छन् ।
पाथीभरा क्षेत्रको बलुडाँडामा शनिबार दुईपटक झडप भएको थियो । पहिलोपटक अपराह्न ४ बजेतिर भएको झडपका क्रममा प्रहरीले १२ राउन्ड अश्रुग्यास प्रहार गरी स्थिति नियन्त्रणमा लिने प्रयास गरेको थियो । सो क्रममा चारजना सुरक्षाकर्मी र नो केबलकार पक्षधर एकजना घाइते भएका थिए । साँझ करिब ६ बजेतिर फेरि भएको झडपका क्रममा स्थिति तनावग्रस्त बनेको थियाे । त्याे अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले गाेली नै चलाउनुपर्याे ।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले स्थिति नियन्त्रणमा लिन पटक–पटक गरेको प्रयास असफल भएपछि फायर खोल्नुपरेको जानकारी दिए । तर मुक्कुमलुङ खारेजी संघर्ष समितिका संयोजक श्री लिङखिमले सुरक्षाकर्मीले घरघरमा खाना खाइरहेका मुक्कुमलुङ खारेजी संघर्ष समितिका कार्यकर्तालाई कुटपिटका साथै अन्धाधुन्ध गोली प्रहार गरी घाइते बनाएको आराेप लगाउँछन् ।
झडपमा प्रहरीले गोली चलाउँदा आन्दोलनरत पक्षका यामबहादुर लिम्बू (म्याङलुङ (तेह्रथुम), धर्मन पालुङ्वा (फुङलिङ–८, ताप्लेजुङ), सगुन लावती र मंगल लावती (मिक्लाजुङ– ५, पाँचथर) गम्भीर घाइते भए । घाइतेमध्ये ‘नो केबलकार’ पक्षधरका तीनजनालाई थप उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पतालबाट हिजै वीराटनगर अस्पताल रिफर गरिएकाे थियाे । त्यहाँबाट पनि आज उनीहरूलाई काठमाडाैंकाे टिचिङ अस्पताल ल्याइएकाे ५ । बाँकी सबैको जिल्लास्थित अस्पतालमा उपचार भइरहेको छ ।
प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार पाथीभरा क्षेत्रको ब्लुडाँडा आसपासमा घरेलु हतियारसहितको समूह बसेको थाहा पाएपछि सुरक्षाकर्मीको टोलीले घरेलु हतियार नियन्त्रणमा लिने प्रयास गर्दा सुरक्षाकर्मी र केबलकार निर्माणको विरोध गरिरहेको समूहबीच घम्साघम्सी भएको थियो । सुरक्षाकर्मीले आन्दोलनरत पक्षबाट खुकुरी र ग्याटिसलगायत विभिन्न घरेलु हतियारहरू बरामद गरेका थिए ।
स्थानीय लिम्बू समुदायका अनुसार पाथीभरा मुन्दुमी स्थल हो । मुन्दुमी स्थल पवित्र स्थान भएकाले केबलकार निर्माण गरिनु हुँदैन भन्दै आन्दोलन गरिरहेका स्थानीयबासीसँग बार्ता गरेर समस्याकाे समाधान गर्नुकाे सट्टा निर्माण पक्ष सरकारी बलकाे आडमा केबलकार बनाउन तल्लिन भएकाे छ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्र ढकाल अध्यक्ष रहेको पाथीभरा (मुक्कुमलुङ) दर्शन केबलकार प्रालिले पाथीभरा क्षेत्रमा केबलकार निर्माण गर्न सुरु गरेको निक्कै भइसक्याे ।
कम्पनी रजिष्ट्रारको कार्यालय काठमाडौँमा २०७२ असोज ६ मा दर्ता भएको कम्पनी पाथीभरा दर्शन केबलकार प्रालिमा पहिले ल्हाक्पा सोनाम शेर्पा सहितका लगानीकर्ताको बहुमत शेयर थियो। पाथीभरा दर्शनका लागि फुङ्लिङ नगरपालिका वडा नम्बर ११ मा पर्ने काफ्लेपाटीदेखि पाथीभरा मन्दिरसम्म निर्माण हुने २.७४ किलोमिटर लामो केबलकारका लागि ल्हाक्पा सोनाम शेर्पासहित उनका भाइ आङ्छिरिङ शेर्पा पनि लागिपरेका थिए। तर उनीहरूले त्यहाँ स्थानीयबासीकाे अवराेधका कारण केबलकार बनाउन सकेका थिएनन् । पछि आङ्छिरिङ शेर्पाकाे मृत्यु भयाे । एक वर्ष पहिले यस कम्पनीमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले अधिकांश शेयर खरिद गरे । शेर्पाको समूह भने पूर्णतः अलग्गिएको छ।
पाथीभरा दर्शन केबलकार प्रालिले २०७५ जेठमा नगरपालिकालाई १२ लाख रुपैयाँ राजस्व तिरेर तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी ४० वर्षका लागि स्वीकृति लिएको थियो। स्वीकृति दिँदा प्रत्येक दुई वर्षमा नवीकरण गर्नुपर्ने र नवीकरणवापत हरेक पटक १ लाख ५० हजार रुपैयाँ शुल्क बुझाउने सम्झौता भएको थियाे ।
चन्द्र ढकाल प्रवेश गरेपछि राजनीति र प्रशासनमार्फत उनले याे याेजनलाई राष्ट्रिय याेजनाका रुपमा राख्न लगाए । त्यसपछि प्रहरी र प्रशासनकाे सहयाेगमा केवलकार बनाउन नदिने अडान लिएका स्थानीयविरूद्ध बल नै प्रयाेग गरेर याे प्राेजेक्ट बनाउन सुरू गरियाे । गएकाे कात्तिकमै प्रशासनसहित केबलकार आयाेजना शिलन्यास गर्न गएकाे ढकालपक्षविरूद्ध स्थानीय आन्दाेलित भएका थिए । आन्दाेलनमा झडप पनि भएकाे थियाे । ठूलाे संख्यामा प्रहरी परिचालन गरेर परिस्थिति नियन्त्रणमा लिइएकाे थियाे । वन क्षेत्रकाे विवाद समेत माथिल्लाे राजनीतिक तहबाट सच्याएका ढकाललाई याे आयाेजना निर्माणमा स्थानीयबासीले बारम्बार अवराेध गरिरहेका छन् ।
केबलकारको स्थानीय पूर्वाधार निर्माणका लागि जिम्मेवारी पाएको हिमालयन कन्स्ट्रक्सन प्रालिले केबलकारको बेस स्टेसन निर्माणका लागि जमिन सम्याउने कार्य थालनी गरेपछि केबलकार खारेजीको आन्दोलनरत पक्षमा रहेकाहरू अहिले पाथीभरा क्षेत्रमा आन्दोलनमा उत्रिएका हुन् । ताप्लेजुङकी सहायक सीडीओ सन्दिपा खड्काका अनुसार हिजाे झडप भएकाले अहिले त्यहाँकाे काम ठप्प भएकाे छ । याे आयाेजना निर्माण हुन्छ वा स्थागित हुन्छ त्याे भने हेर्न बाँकी नै छ ।