कार्यसम्पादन मूल्यांकनमा भरतपुर महानगरपालिका पहिलो, काठमाडौं चौथो
अमरगढी नगरपालिका देशकै उत्कृष्ट
Mayorsap
शुक्र, फागुन २, २०८१ | १९:५४ बजे

काठमाडौं । कार्यसम्पादन मूल्यांकनमा डडेल्धुुराको अमरगढी नगरपालिका देशकै उत्कृष्ट पालिका बनेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याकंनमा अमरगढी नगरपालिका ८१.७ अंक ल्याउँदै देशकै सबैभन्दा उत्कृष्ट पालिका बनेको हो ।
यसैगरी इलामको सूर्योदय नगरपालिका दोस्रो भएको छ । आयोगको कार्यसम्पादन मूल्यांकनमा सूर्योदयले ८०.२ अंक प्राप्त गरेको हो । गाउँपालिकामध्ये भने सबैभन्दा उत्कृष्ट स्याङजाको कालिगण्डकी गाउँपालिका र धादिङको नेत्रावती डवजोङ गाउँपालिका भएका छन् । उनीहरु दुवै गाउँपालिकाले बराबर ७८.२ अंक प्राप्त गरेका छन् ।
यसैगरी ६ वटा महानगरपालिकामध्ये चितवनको भरतपुर महानगरपालिका सबैभन्दा उत्कृष्ट महानगरपालिका बनेको छ । समग्र पालिकामा उत्कृष्ट ९ मा पर्न सफल भरतपुर ७६.२ अंक प्राप्त गर्दै ६ महानगरपालिका मध्ये उत्कृष्ट बन्न सफल भएको हो ।
यस्तै ७३।५ अंक प्राप्त गर्दै मोरङको विराटनगर महानगरपालिका दोस्रो, ६६.७ अंक प्राप्त गर्दै ललितपुरको ललितपुर महानगरपालिका तेस्रो, ५४.३ अंक प्राप्त गर्दै काठमाडौं महानगरपालिका चौथो, ५१.५ अंक प्राप्त गर्दै पोखरा महानगरपालिका पाँचौ र सबैभन्दा कम ४३.१ अंक प्राप्त गर्दै पर्साको वीरगञ्ज महानगरपालिका अन्तिममा पर्न सफल भएको छ । आयोगले हरेक वर्ष गर्ने प्रदेश र स्थानीय सरकारको कार्यसम्पादन मूल्यांकनको नतिजा सार्वजनिक गर्दछ ।