Ad Image

कृषि कर्ममा रमाउँदै स्वरोजगार बन्दै दाङका महिला

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1739684963.jpg

दाङ । पछिल्लो समय सहकारी संस्थाका कारण यहाँका महिला स्वरोजगार बन्दै गएका छन् । जिल्लामा खुलेका सहकारी संस्था महिलाका लागि आम्दानीको स्रोत बन्दै गएका हुन् ।


विगतमा घरको काम र घाँसपातमा व्यस्त हुने महिला गाउँघरमा सहकारी खुलेपछि अहिले आफ्नो र परिवारका लागि रकम जम्मा गर्नुका साथै ऋण लिएर आयआर्जन गर्न थालेका छन् । बेफुर्सदिला हुन थालेका अधिकांश महिलाले रकम झिक्ने र राख्ने गर्दा सहकारी संस्था फलदायी तथा नाफामुखी बन्दै गएका छन् ।  


दाङको घोराही उपमहानगरपालिका–१३ वनगाउँमा रहेको ज्यामिरे सामाजिक उद्यमी महिला सहकारी संस्थामा आबद्ध भएका घोराही–१३ बगालेका निशा रोकाले अहिले व्यावसायिक रुपमा कृषि व्यवसाय गर्दै आएका छन् । सात वर्षदेखि सहकारीमा जोडिएर थोरै भए पनि बचत गर्नुपर्छ भन्ने बानीको विकास भएको किसान रोकाले बताए ।


“संस्थामा बचत गरेको रकमले आफूलाई समस्या परेको समयमा निकालेर समस्या समाधान गर्न सकिन्छ”, उनले भने । सहकारी संस्थामा मासिक रु. एक हजार बचत गर्दै आएको उनको भनाइ छ । व्यावसायिक रुपमा कृषि व्यवसाय गर्न थालेको १२ वर्ष भएको बताउँदै उनले यहीबाट परिवारको जीविकोपार्जन हुँदै आएको बताउँछन् । तरकारी समयमै उत्पादन गर्न सकियो भने आम्दानी हुने उनको भनाइ छ ।


आम्दानी धेरै हुने गरे पनि घर खर्च कटाएर मासिक ३०÷३५ हजार बचत हुने बताए । उनले अहिले टमाटर बिक्री गर्दै आएकी छन् । पछिल्लो समय टमाटरको भाउ केही झरेको उनी बताउँछीन् । ऋण आवश्यक परेको बेला सहकारीबाट नै लिने गरेको बताइन् ।


उनी जस्तै सहकारीका अर्का सदस्य मनकुमारी घर्ती सहकारीमा आबद्ध भएपछि खुसी छीन् । आवश्यक परेको बेला सहुलियत ब्याजमा ऋण लिन पाइने उनी बताउँछीन् । अहिले १० कठ्ठामा आलु, टमाटर, प्याज खेती गर्दै आएको बताइन् ।


उनले भनिन्, “दुःख नगरेर कृषिमा आम्दानी हुँदैन । आफैँ खटिएर काम गर्ने हो भने राम्रो आम्दानी लिन सकिन्छ ।” २÷४ रुपैँया आवश्यक परेको बेला अन्यसँग हात थाप्नुभन्दा आफैँ कृषि व्यवसाय गरेर आम्दानी राम्रो हुँदै गएको उनले बताएन्। उनले भनिन्, “खाली घरमा बस्नुभन्दा कृषि पेसा आम्दानीको राम्रो स्रोत रहेको छ”, उनले कृषि पेसाबाटै मासिक रुपमा रु. १०÷१५ हजार बचत गर्ने गरेको बताइन् । सहकारीमा जोडिएर कृषि व्यवसाय गर्नका लागि धेरै कुरा सिक्ने अवसर प्राप्त गर्दै आएको बताइन् । उनले आफू जस्तै अन्य दिदी बहिनीलाई कुनै न कुनै पेसा व्यवसायमा जोडिन आग्रह गरीन् ।


ज्यामिरे सामाजिक उद्यमी महिला सहकारी संस्थाका सचिव रामकली घर्तीले १२ वर्षदेखि सञ्चालनमा रहेको सहकारीमा महिला मात्रै आबद्ध हुँदै आएको बताइन् । हाल संस्थामा सात सय ५० जना सदस्य छन् । वडा सदस्यसमेत रहेका उनले सहकारीका सदस्यले विभिन्न कृषिसम्बन्धी सहयोगहरु प्राप्त गर्दै आएको बताइन् । सहकारीले महिलामा आपसी सद्भाव, सहकार्य, सिकाइ आदानप्रदानका कुरामा महत्वपूर्ण भूमिका खेल्दै आएको उनले बताइन् । सहकारीबाट सहुलियतमा ऋण लगेर विभिन्न पेसा, व्यवसायमा जोडिएर स्वाभलम्वन बन्न सफल भएको उनले बताइन् ।


सदस्यहरुले मासिक रु. दुई सयदेखि दुई हजारसम्म बचत गर्दै आएको उनको भनाइ छ । संस्थामार्फत रु. एक लाख ५० हजारसम्म ऋण लगानी गरेको उनको भनाइ छ ।