Ad Image

३१ औं आइजीपीमा थापा, गिरी र तामाङमध्ये कस्ले मार्ला बाजी ?

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1742145095.png

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवर चैत ५ गते अनिवार्य अवकाशमा जाँदैछन् । नयाँ आइजीपी नियुक्त गर्न सोमबार मन्त्रिपरिषदको बैठक बस्दैछ । बैठकले नेपाल प्रहरीको ३१ औ आइजीपी नियुक्त गर्नेछ । झन्डै ८० हजार जनशक्ति रहेको नेपाल प्रहरीले मंगलबारबाट नयाँ नेतृत्व पाउँदै छ । आइजीपी कुँवरकै ब्याचको वैकल्पिक टोलीका तीन एआइजी प्रहरीको ३१ औँ आइजीपीको मुख्य दाबेदार छन् । जसमा एआईजीहरू दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ छन् । उनीहरुमध्ये जो भएपनि नयाँ आइजीपीले आउने ६ महिना संगठन हाँक्नेछन् ।

 

तीनमध्ये एआइजी दीपक थापा पहिलो नम्बरमा छन् ।  गिरी र तामाङभन्दा एक महिना सिनियर छन् । आइजीपी कुँवरसँगै एआईजीहरु टेकप्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुवेर कडायत र जनक भट्टराईले अवकाश पाउँदैछन् । डीआईजीहरू गणेश चन्द,  ध्रुवराज राउत र भोला रावलले पनि भोलिदेखि संगठनबाट औपचारिक विदाई हुनेछ ।  

 

कुनै राजनीतिक चलखेल नभए हाल केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) मा कार्यरत रहेका एआइजी दीपक थापाले संगठनको कमाण्ड सम्हाल्नेछन् । थापाले इन्स्पेक्टरदेखि एआईजीसम्म २० भन्दा बढी युनिटको नेतृत्व गरिसकेका छन् । नेतृत्व क्षमताको आधारमा सबभन्दा बढी युनिट कमान्ड गर्ने अफिसरको रूपमा उनी परिचित छन ।


एआइजी भएपछि उपत्यका प्रहरी कार्यालयको प्रमुख, प्रहरी प्रधान कार्यालयको प्रशासन विभाग प्रमुख भई कार्यसम्पादन गरेका थिए । प्रशासन विभागमा हुँदा कार्यसम्पादनमा उत्कृष्टता हासिल गरेर पुरस्कृत समेत भएका थिए । डीआईजी हुँदा बागमती प्रदेश प्रहरी प्रमुख, प्रहरी प्रधान कार्यालयको प्रबन्ध विभाग प्रमुख र एसएसपीमा, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख, प्रधान कार्यालयको आर्थिक प्रशासन महाशाखा प्रमुख भएका थिए ।

 

यस्तै एसपी पदमा हुँदा उनी जिल्ला प्रहरी कार्यालय चितवन प्रमुख, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका बुटवल र कोहलपुर सम्पर्क कार्यालय प्रमुख र डीएसपी पदमा जिल्ला प्रहरी कार्यालय खोटाङ प्रमुख, काठमाडौं प्रहरी वृत्त महाराजगन्ज प्रमुख, रुपन्देही इलाका प्रहरी कार्यालय प्रमुख, इन्स्पेक्टर पदमा नेपाल प्रहरी विद्यालयका साँगा (काभ्रे), गरुडा (रौतहट) र धनगढी (कैलाली) समादेशक र ११ वर्ष इन्स्पेक्टर दर्जामा रहँदा २० फरक युनिटको नेतृत्व गरिसकेका अफिसर हुन् ।

 

थापा व्यापक नेतृत्व अनुभव, कमाण्ड कन्ट्रोलको उत्कृष्ट ट्रयाक रेकर्ड, तथा प्रहरी संगठनभित्रको प्रभावशाली छवि भएका अफिसर मानिन्छन् । उनले नेतृत्व गरेको सबै जसो युनिटमा महत्त्वपूर्ण उपलब्धि हासिल भएका छन् । जसका कारण आइजीपी पदका लागि बलियो उम्मेदवारका रूपमा हेरिएको छ । हाल चर्चामा रहेको नुवाकोटस्थित शेरा दरवारक्षेत्रले ओगटेको १ सय ६४ रोपनी जग्गाको अनुसन्धान एआइजी थापाकै नेतृत्वमा रहेको सीआईबीको टोलीले गरेको थियो ।  

 

त्यसैगरी एआइजी तामाङ पनि आइजीपीको दावेदार हुन् । प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका तामाङले विभिन्न युनिटहरूको कमाण्ड गरेका छन् । इलाका प्रहरी कार्यालय फापरवारी, गजुरी, लैनचौर वृत्त प्रमुख र वडा प्रहरी कार्यालय सानेपा प्रमुख भएका उनि डीएसपी पदमा रहँदा जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र खोटाङ प्रमुख, इलाका प्रहरी कार्यालय धरान प्रमुख र कालीमाटी प्रहरी वृत्त प्रमुख भएका थिए । एसपी पदमा हुँदा जिल्ला प्रहरी कार्यालय बाँके प्रमुख र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लामो समय सेवा गर्दै एसएसपी पदमा बढुवा भएपछि भने नेपाल प्रहरी तालिम केन्द्र, विराटनगर प्रमुख भएका थिए । उनी हाल काठमाडौं उपत्यका कार्यालयका प्रमुख छन् । उनी कुशल गीतकार पनि हुन् ।


यस्तै सुदीप गिरी आईजीपीका लागि अर्का दाबेदार हुन् । कालिमाटी वृत्त, जिल्ला प्रहरी कार्यालय रसुवा,  पर्सा,  कैलाली, र काठमाडौं परिसरको नेतृत्व सम्हाली सकेका छन् । साथै, उनले सीआईबीमा समेत जिम्मेवारी बहन गरिसकेका छन्। उनले २५ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिमहरू लिइसकेका छन् । विशेषगरी, इन्टेलिजेन्स अनुसन्धान र अपरेशनल कमान्डमा दख्खल छ । प्रहरी निरीक्षकदेखि डीआईजीसम्मको कार्यकालमा विशेष ब्युरोमा १३ वर्ष काम गरेका गिरी प्रहरी मुख्यालय (हेडक्वार्टर) द्वारा सञ्चालित गोप्य तथा महत्वपूर्ण कारबाहीका नेतृत्व कर्ता समेत हुन । उनीहरू तीन जना नै अब्बल प्रहरी अधिकृतका रुपमा चिनिन्छन् ।