Ad Image

विद्यार्थीहरुको नतिजा हेरेर बझाङका स्थानीय तहहरु अचम्मित !

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743151057.jpg

बझाङ । दुर्गाथली गाउँपालिका वडा नम्बर २ मा रहेको चौधारी मा.वि.मा कक्षा ८ मा अध्यनरत छात्र छात्रा गरी जम्मा ४० जना विद्यार्थी अध्यनरत थिए । तर उनीहरुमध्ये ३६ जना छात्र छात्राहरु मात्रै परीक्षामा सहभागी भए । ३६ जना सहभागीहरुमध्ये तीन जनाले मात्रै ८ कक्षा उत्तीर्ण गर्न सफल भए । बाँकी ३३ जना विद्यार्थी परीक्षामा अनुउत्तीर्ण भए । बझाङकै भैरव आधारभूत विद्यालयमा अध्यनरत २५ जना विद्यार्थीहरु भर्ना भएकोमा १७ जना विद्यार्थीहरु परीक्षामा सहभागी बने भने एकजना मात्रै परीक्षामा उत्तीर्ण भए ।

 

दुर्गाथली गाउँपालिकाले पहिलो पटक सञ्चालन गरेको कक्षा ८ को पालिका स्तरीय नतिजा सार्वजनिक गरेको छ । बुधबार सार्वजनिक गरेको ८ कक्षाको नतिजा हेर्दा चिन्ताजनक छ । पालिकाभर रहेका ९ वटा सामुदायिक विद्यालयहरुको नतिजा सार्वजनिक गर्दा  जम्मा २३ जनाले मात्रै कक्षा ८ उत्तीर्ण गरेका छन् । पालिकाभर ३ सय ६ जना विद्यार्थी भएकोमा २ सय ५३ जना विद्यार्थीहरु परीक्षामा सहभागी भएका थिए । उनीहरुमध्ये  ५४ जना विद्यार्थीहरुले मौका परीक्षा दिन पाउने गरी ‘फेल’ भएको दुर्गाथली गाउँपालिकाका शिक्षा संयोजक सुरेशबहादुर रावलले जानकारी दिए ।

 

दुर्गा मावि बिसौनाको कक्षा ८ मा जम्मा परीक्षार्थीहरुको संख्या ६७ जना थियो । परीक्षामा भने  ५३ जना विद्यार्थी सहभागी बने । सहभागीमध्ये जम्मा २ जना मात्रै उत्तीर्र्ण भए । पालिकामा रहेका ९ वटा सामुदायिक विद्यालयहरुबाट सहभागी २ सय ५३ जना विद्यार्थीहरुमध्ये २३ जना मात्रै कक्षा ८ को परीक्षामा उत्तीर्ण हुन सफल भएको शिक्षा शाखा कार्यालय दुर्गाथलीले जनाएको छ ।

 

यस्तै सुर्योदय मावि वडा नम्बर ६ बाट ३४ जनामा २३ जना विद्यार्थीको सहभागी थिए । जसमा ७ जनाले मात्रै परीक्षा पास गरे । तीन जनाले मौका परीक्षा दिन पाउने छन् ।  त्यस्तै मस्टा आधारभूत विद्यालय बाट २२ जना विद्यार्थीमा २० जना विद्यार्थी  परीक्षामा सहभागी भएका थिए । उनीहरुमध्ये ४ जना मात्रै परीक्षामा उत्तीर्ण भए । थप चार जनाले मौका परीक्षा दिन पाउने अवस्था छ ।

 

गौरी माविमा ३६ जना विद्यार्थीहरु थिए । उनीहरुमध्ये ३३ जना परीक्षामा सामेल भए ।  तर परीक्षामा एक जना मात्रै पास भए ।  ८ जनाले मौका परीक्षा दिने अवस्था रहेको पालिकाले जनाएको छ । थलचौर माविबाट ३२ जना विद्यार्थीमा २३ जना विद्यार्थीहरु परीक्षामा सहभागी भए ।  यस विद्यालयमा कुनै पनि विद्यार्थीले ८ कक्षा उत्तीर्ण गर्न सकेनन् ।  

 

नमादेव आधारभूत विद्यालयमा ३४ जना विद्यार्थीहरुमा २८ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । यस विद्यालयबाट एक जना मात्रै उत्तीर्ण भए ।  ३ जनाले मौका परीक्षा दिन पाउने अवस्था छ ।  भैरव माविबाट पाँचजनाले मौका परीक्षा दिन पाउने अवस्था रहेको पालिकाले जनाएको छ । यस्तै महालिङ्ग आविमा जम्मा विद्यार्थीहरुको संख्या २० रहेको थियो । जसमध्ये १६ जना परीक्षामा सहभागी भए । उनीहरुमध्ये चारजना उत्तीर्ण भएका छन् । तीनजना विद्यार्थीहरुले मौका परीक्षा दिन पाउने शिक्षा शाखाका अधिकृत रावलले बताए  ।

 

यो विजोग दुर्गाथली गाउँपालिकाको मात्रै नभएर बझाङको केदारस्युँ गाउँपालिकाको पनि उस्तै छ । यस वर्ष कक्षा ८ को परीक्षा पालिकाले नै लिएको थियो । केदारस्युँ गाउँपालिकाभर बाट ५ सय ८७ जना छात्र छात्रा परीक्षामा सामेल भएका थिए । जसमध्ये सबै विषयमा ४६ जना छात्र छात्राहरुले मात्रै ग्रेड प्राप्त गर्न सफल भएका छन् । तीमध्ये ८० जना परीक्षार्थीहरु ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने छन् । पालिकाले ग्रेडवृद्धि परीक्षा चैतको २९ र ३० गते लिने भएको छ । पालिका भरी रहेका १८ वटा सामुदायिक विद्यालयहरुबाट ४ वटा परीक्षा केन्द्र तोकेर परीक्षा संचालन गरेको केदारस्युँ गाउँपालिकाका शिक्षा संयोजक केशब भट्टले बताए ।

 

पालिकाले आफैँले प्रश्नपत्र तयार गरी परीक्षा लिँदा शिक्षाको गुणस्तर खस्किएको निष्कर्ष निकालेको छ । ‘पालिकाभरको शैक्षिक अवस्था बुझ्न र शैक्षिक गुणस्तर सुधारको आवश्यक रणनीति तयार गर्न परीक्षा लिएका थियौं’, केदारस्युँ गाउँपालिकाका शिक्षा संयोजक केशब भट्टले भने, ‘आगामी वर्षमा कसरी सुधार गर्न सकिन्छ र शैक्षिक गुणस्तर सुधार गर्न के विषयमा ध्यान दिनुपर्छ भन्ने नीति र कार्यविधि तयार गरेर अघि बढ्नमा यसले ठूलो सहयोग पुर्याएको छ।’

 

यता दुर्गाथली गाउँपालिकाका अध्यक्ष दिलबहादुर थापाले साुमदायिक विद्यालयको शैक्षिक गुणस्तर हेर्दा निकै चिन्ताजनक रहेको बताए । यसको सुधारका लागि पालिकाले गर्न सक्ने पहल र सरोकारवालाले खेल्नु पर्ने भूमिका विषयमा छलफल गरी अघि बढ्ने उनले बताए । विद्यालयको शैक्षिक गुणस्तर बिग्रनुमा सबैभन्दा बढी जिम्मेवारी विद्यालयमा पढाउने शिक्षक शिक्षिकाले लिनुपर्ने अध्यक्ष थापाको जोड छ । शिक्षकहरुपछि विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, अभिभावक र पालिकाका जनप्रतिनिधिले लिनुपर्ने अध्यक्षको भनाई छ । शैक्षिक गुणस्तर उकास्नका लागि  सरोकारवाला सबैले ध्यान दिन जरुरी रहेको थापाले बताए ।

 

विथ्थडचिर गाउँपालिकामा पनि शैक्षिक गुणस्तरको अवस्था चिन्ताजनक रहेको पाइएको छ । गाउँपालिकाभर रहेका १३ वटा सामुदायिक विद्यालयमा अध्यनरत ६ सय ३० जना छात्रछात्राहरुमध्ये पास भएका र मौका परीक्षा दिन पाउने १ सय ५२ जना मात्रै छन् ।  ४ सय ७८ जना छात्रछात्राहरु अनुत्तीर्ण (नन ग्रेडेड) रहेको विथ्डचिर गाउँपालिकाका शिक्षा शाखाका प्रमख नरबहादुर धामीले बताए ।

 

पालिकाभर  ५ वटा परीक्षा केन्द्र तोकेर परीक्षा लिइएको थियो । ‘सबै पालिकाहरुमा शैक्षिक गुणस्तर खस्कने अवस्थामा रहेको छ । लामो समयसम्म कोभिडको कारणले विद्यालयहरु संचालन नभएको तर विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई परीक्षा नै नलिई पास गराइएका कारण अहिले विद्यार्थीहरु निकै कमजोर भएका हुन्’, विथ्डचिर गाउँपालिकाका शिक्षा शाखाका प्रमख नरबहादुर धामी भन्छन् ।

 

यता जयपृथ्वी नगरपालिकाले भने कक्षा ८ को मात्रै परीक्षा नभएर पालिकाभर रहेका सबै सामुदायिक विद्यालयहरुमा कक्षा ४ देखि ९ सम्म अध्यन गर्ने विद्यार्थीहरुको परीक्षा पालिकाले नै लिएको छ । उत्तरपुस्तिका चेकजाँच गर्नमा केही समय लाग्ने भएका कारण चैतको २० गतेसम्म परीक्षाफल प्रकाशन गर्ने तयारी रहेको शिक्षा संयोजक निरज रेग्मीले बताए ।