Ad Image

असोजको वर्षाले बिगारेका दक्षिण ललितपुरका सडक अझै सुधारिएनन्

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743156646.jpg

ललितपुर । गएको असोज ११–१२ गतेको लगातारको वर्षाका कारण दक्षिण ललितपुरका अवरुद्ध सडक ६ महिना बितिसक्दा पनि पुनः सुधार भएका छैनन् । सादोबाटोदेखि टिकाभैरव–लेले बसपार्क जोडिने मुख्य सडक दुई वर्ष अगाडि मात्र ३५ करोड ४६ लाख खर्च गरेर दोहोरो कालोपत्र गरिएको थियो । जुन सडक गएको असोज महिनाको ११ र १२ गतेको वर्षासँगै आएको बाढी पहिरोले क्षति पुर्याएपछि अहिले दक्षिण ललितपुरबासी धुलो धुँवाले ग्रसित भएका छन् ।


भत्किएका ठाउँका सडक सञ्चालनमा आए पनि सडकखण्ड पुनः निर्माण नहुँदा सडकमा धुलो उडेको छ भने उडेको धुलोले बाटो आसपासका बासिन्दाको घरमा दैनिक फोहोर थुप्रिएको छ । हिउँद सकिएर बर्खाको समय सुरु हुन लाग्दा पनि सडक पुनर्निर्माण हुन नसक्दा अब आउने पानीमा बाढी र पहिरोले फेरि अप्ठ्यारो पार्ने हो कि भन्ने चिन्तामा स्थानीयबासी छन् । 

 

गोदावरी नगरपालिका लेलेका स्थानीयबासी यूसुफ  महत भन्छन्,   ‘कान्तिलोकपथसँग जोडिएको टाखेल टिकाभैरव सडकखण्ड निर्माणमा कसैको ध्यान पुगेको छैन । सडक मात्र होइन, स्थानीयहरुले खानेपानीको समेत समस्या भोगिरहेका छन् । पहिरो खस्दा बसेको माटो, बिजुलीका चुडिएका तारहरु समेत लथालिंग छोडिएको छ ।’

 

महत थप अगाडि भन्छन्, ‘सडक पुनर्निर्माणमा कुनै निकायको ध्यान गएको छैन । कान्ति लोकपथ हुँदै सयौँ सवारी साधन राजधानी भित्रिने र बाहिरिने गर्छन् । दैनिक हजारौँको सङ्ख्यामा कुखुरा, खसी बोका, तरकारी तथा खाद्यान उपत्यका भित्रिन्छन् । ठूला ठूला मालवहाक गाडी आवत् जावत्  हुन्छ । बिग्रिएको सडक पुनर्निर्माण हुँदैन ।’

 

महत आउनै लागको वर्षायामदेखि पनि स्थानीय नागरिकहरु त्रसित रहेको बताउँछन् । ‘यसपाली पनि वर्षायाम सुरु हुने बेला भयो । झन् धेरै पहिरोको जोखिम छ । वर्षायाममा माथिबाट ढुंगा तथा पहिरो खसेर नागरिकको ज्यानै जाने जोखिम छ’, महत भन्छन्, ‘प्रदेश सरकारको कहिले ध्यान जाने हो ? संघीय सरकारले कहिले हेर्ने हो ? सांसद उदय शम्शेर राणाले संसदमा कहिले कुरा उठाउने हुन् ?’

 

भारी वर्षाका कारण पहाडबाट खसेका ठूला–ठूला ढुंगा, अत्याधिक रुपमा थूप्रेका माटोका थूप्रो रुखका फेदसमेत नपन्छाएका कारण पुरै सडक भद्रगोल र अस्तव्यस्त रहेको छ भने ठाउँ–ठाउँमा लगभग ५० मिटर सडक भाँसिएर तल झरेको छ । पहिरोका कारण अवरुद्ध ४ लेनको सडक अहिलेसम्म २ लेन मात्र खुलेको छ ।


लेले–टिकाभैरव ललितपुरको गोदावरी नगरपालिका १० देखि ६ सम्म टाखेल र टिकाभैरव बीचमा रहेको जंगल क्षेत्रको बाटो गएको असोज महिनाको भारी वर्षाका कारण पहाड माथिबाट पहिरो खसेपछि पूर्ण रुपमा अवरुद्ध भएको थियो । यो बाटो अहिलेसम्म पूर्ण रुपमा सञ्चालनमा आएको छैन । गोदावरी नगरपालिका वडा नं ६ का वडा अध्यक्ष विष्णुमान महर्जनका अनुसार पहिलो चरणमा वडा  मर्फत बाटो खुलाइएको र दोस्रो चरणमा वडा र नगरपालिको समन्वयमा दोहोरो बाटो खुलाइएको थियो ।

 

चार लेनको यो बाटो पूर्ण रुपमा सञ्चालन गर्न वडा र नगरपालिकाको बजेटले नसक्ने अध्यक्ष महर्जन बताउँछन् । पालिका यो सडक पुनर्निर्माणको काम सडक विभागले कहिले गरिदिने हो भनेर बसेको छ । वडा अध्यक्ष महर्जन भन्छन्, ‘अबको बाँकी स्तर उन्नतिको काम सडक विभागले गर्नुपर्छ ।’

 

सडक व्यवस्थापनका लागि आफूले बारम्बार सडक विभागमा फोन गरेको, ईमेल गरेको र चिठ्ठी पठाएको तर सडक विभागबाट कुनै प्रतिक्रिया नआएको वडा अध्यक्ष महर्जनको गुनासो छ । उनी भन्छन्, ‘टेन्डर खुलिसकेको छ, पहिलो पटक टेन्डर खुल्दा कसैको पनि परेन, दोस्रो पटक टेन्डर खुल्दा जहाँसम्म मलाई लाग्छ, टेन्डर परिसकेको छ । तर कहाँ परेको छ, मलाई थाहा भएन । तर अब चाँडै बन्छ होला ! यसमा आशावादी छु ।’ 

सडक डिभिजन कार्यालय ललितपुरका इन्जिनियर शरद श्रेष्ठ भन्छन्, ‘हामीले ठेक्का लगाएका छौं । पहिरो सोहोर्नका लागि ठेक्का खोलेर सम्झैताको क्रममा छ । सम्झैता भएपछि त्यहाँको पहिरो माटो सबै सोहोरेर डम्प गर्ने छौं । त्यसपछि ट्राफिक सञ्चालनमा आउने छ ।’ उनले थप भने, ‘चैत महिना सक्किने बित्तिकै हामी काम सुरु गर्ने छौँ । वर्षायाम सुरु हुनु अघि सबै काम सकाउने छौँ । पहिरो थुपारेको ढुंगा, माटो सबै हटाउने छौँ ।’ इन्जिनियर श्रेष्ठका अनुसार सडक विभागले पहिरोले थुपारेको ढुंगामाटो हटाउने छ तर सडक भने पुनः निर्माण गर्नेछैन ।

बजेट अभावले सडक पुनर्निर्माणको काम नभएको सडक डिभिजन कार्यालय ललितपुरले जनाएको छ । सडक डिभिजन कार्यालय ललिपुरका प्रमुख गोपालप्रसाद खकुरेलले भने, ‘असोज ११–१२ गतेको भारी वर्षाका कारण अबरुद्ध सडक पुनर्निर्माण तथा मर्मत कार्यका लागि हामीले बजेट माग गरेका थियौँ । तर हामीलाई बजेट प्राप्त भएन । त्यसैले बजेट अभावका कारणले निर्माण कार्य अगाडि बढाउन सकिरहेका छैनौं ।’

 

खकुरेलले थप अगाडि भने, ‘पहिरोले क्षतिग्रस्त भएको सडकमा पहिरो हटाउँदै पर्खाल लगाउँदै जानु पर्छ । माथिल्लो भाग सफा गरेर पर्खाल लगाएन भने माथिबाट झन् धेरै ढुंगा माटो खस्ने जोखिम हुन्छ । नहटाउँदा बरु त्यसले पर्खाल जस्तै गरी छेक्ने काम गरिरहेको छ । फेरि, माटो हटाएन भने पनि भित्तातिर नाली सबै बन्द छ । पानी पर्यो भने माटो सबै बगााएर जाम भएर झन ठूलो क्षति पुग्ने भएकोले पहिरो हटाउँदै पर्खाल लगाउँदै जानुपर्ने हुन्छ । सडकको तल्लो भाग अर्थात चर्किएर भत्केको भागमा पनि ठूल–ठूला पर्खाल लगाउनु पर्छ । पहिरोले क्षति ग्रस्त बनाएको सडक पुनर्निर्माणका लागि ललितपुर जिल्लाका चार क्षेत्र टाखेल, टिकाभैरव, गोदावरी जाने बाटो, छम्पी जाने बाटो, लाकुरी भञ्ज्याङ जाने बाटोका सडक पुनर्निर्माणका लागि करिब २७ करोड बजेट माग गरेका थियौँ। तर बजेट आएन ।’


सडक डिभिजन कार्यालय ललितपुरले पहिरो पन्छाउन बोलपत्र आब्हान गरेको थियो । पहिलो र दोसो चरणको पहिरो हटाएपछि १५ दिने सूचना निकालेर ‘टेण्डर’ आब्हान गरेको ललितपुर सडक डिभिजन कार्यालयको पहिरो पन्छाउने काममा कसैले पनि आवेदन दिएनन् । त्यसपछि सडक विभाग ललितपुरले दोस्रो चरणमा ‘टेण्डर’ खुलायो । एकजनाले टेण्डरमा भाग लिए । तर उक्त सूचना नै सार्वजनिक खरिद अनुगमन कार्यालयको अनलाइन पोर्टलमा भेटिएन ।

 

यस विषयमा सार्वजनिक खरिद अनुगमन कार्यालयले अध्ययन गरिरहेको जानकारी दिएको छ । उता सडक विभाग ललितपुर कार्यालय सार्वजनिक खरिद अनुगम कार्यालयको पत्र कुरिरहेको छ ।  केही ठाउँका ठूला पहिरो सोहोर्ने काम पनि अहिले टेण्डर आब्हानको सूचना नै वेवसाइटमा नभेटिएको भनेर अन्योलमा परेको छ । सडक पुनर्निर्माण गरी सञ्चालनमा भने सरकारले बजेट मात्र होइन, चासो पनि दिएको छैन ।

 

सरकारले यस वर्ष दक्षिण ललितपुरका सडक नबनाउने हो भने आउँदो बर्खाले दक्षिण ललितपुरमा थप क्षति निम्त्याउने देखिन्छ । अन्ततः पुनर्निर्माणमा सरकारको ब्यायभार थप बढ्ने देखिन्छ ।