Ad Image

राजतन्त्र ब्यूँताउनु भनेको श्मशानघाटबाट मुर्दा फर्काउनुजस्तै हो : विष्णु पौडेल

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743348364.png

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजतन्त्र पुनःस्थापित गर्ने प्रयास व्यर्थ हुने बताएका छन् । आज रिपोर्टर्स क्लब नेपालको २७ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले राजतन्त्रले आफ्नो उपादेयता आफैँ समाप्त गरिसकेकाले अब नेपालमा कहिल्यै राजतन्त्र नफर्किने जिकिर गरे । 

उपप्रधानमन्त्री पौडेलले २०५८ सालको दरबार हत्याकाण्डपछि नै राजतन्त्रको औचित्यमाथि प्रश्न उठ्न थालेको उल्लेख गर्दै जनआन्दोलनपछि राजतन्त्र समाप्त भएको स्पष्ट पारे । राजसंस्थाको पुनरुत्थानको पक्षमा भइरहेका गतिविधिप्रति कटाक्ष गर्दै उनले भने, “राजतन्त्र ब्यूँताउनु भनेको श्मशानघाटबाट मुर्दा फर्काउनुजस्तै हो ।” 

 

अर्थमन्त्री पौडेलले शुक्रबारको प्रदर्शनलाई सङ्केत गर्दै राजतन्त्रका हिमायतीहरूको वास्तविक चरित्र उदाङ्गो भइसकेको बताए । “यिनीहरू लुटपाट, हत्या र हिंसाको पक्षमा छन्, त्यो मुखुण्डो उत्रिसकेको छ । अब यिनीहरूलाई ठीक ढङ्गले चिन्न जरूरी छ”, उनले भने । 

 

लोकतन्त्रको रक्षा गर्न सरकार दृढ रहनुपर्नेमा जोड दिँदै अर्थमन्त्री पौडेलले जनताका आशा र अपेक्षालाई ठीक ढङ्गले पूरा गर्न सरकार खरो रूपमा उभिने र यसमा सबै पक्षबाट योगदान आवश्यक रहेको बताए ।