सालको दुना–टपरीको माग उच्च


रौतहट । हातेमालो सामुदायिक वन उपभोक्ता समूह, चन्द्रपुर रौतहटले उत्पादन गरेको वातावरणमैत्री सालको दुना–टपरीको माग अत्यधिक बढेको छ। समूहमा आबद्ध महिलालाई उद्यमशीलता विकास गर्ने उद्देश्यले मेसिनको सहायतामा दुना–टपरी उत्पादन गर्दै आएको छ। तर, समूहमा आबद्ध महिलाले सालको पात टिपेर पञ्चिङ मेसिनमार्फत उत्पादन गरिएको दुना–टपरीको माग थेग्न सकेका छैनन् ।
हातेमालो सामुदायिक उपभोक्ता समूहका अध्यक्ष रामलाल ठोकरले समूहमा आबद्ध महिलालाई उद्यमशीलता विकास गर्न सालको दुना–टपरीको व्यावसायिक उत्पादन गर्दै आएको बताए। 'यहाँ उत्पादन भएको दुना–टपरीको माग थेग्न सक्दैनौं,' उनले भने, 'ग्राहक आफैं समूहको कार्यालयमा आएर टपरी लिएर जानुहुन्छ। हामी अझै पनि मागअनुसार आपूर्ति गर्न सकिरहेका छैनौं।ु
समूहका अनुसार, सालको पातबाट बनाइएको प्रतिटपरीको मूल्य रु. ४, ठूलो दुनाको रु. २ र सानो दुनाको रु १ बजार मूल्य तोकिएको छ। 'प्लास्टिकबाट बनाइएको प्लेटभन्दा सस्तो र धार्मिक दृष्टिकोणले पनि चोखो हुने भएकाले सालको दुना–टपरीको माग अत्यधिक छ,' समूहका कार्यालय सचिव लक्ष्मण महतोले भने। यहाँ उत्पादन भएको दुना–टपरीबाट महिला उद्यमीलाई आवश्यक पर्ने सबै खर्च दिएर समूहले मासिक रु. ३०,००० भन्दा बढी रकम बचत गर्दै आएको छ।
समूहले महिला उद्यमीहरूलाई सालको पात टिपेर र सामान्य खालको टपरी खुटेर ल्याउने कार्यको लागि प्रति टपरी रु २ मा खरिद गर्ने गर्छ। बिजुलीको महसुल र टपरी बनाउने ज्याला तथा अन्य खर्चका लागि भने प्रतिटपरी रु २ लिइरहेको छ।
दुना–टपरी बनाउने उपकरण चलाउँदै आइरहेका लक्ष्मी लामाले आफ्नै गाउँघरमा सानो भए पनि उद्यम गर्न पाउँदा खुशी व्यक्त गरेकी छिन्। 'आफ्नै गाउँघरमा बसेर दैनिक रु. ६०० आम्दानी गर्दै आइरहेकी छु। यसले पक्कै पनि हामीलाई काम गर्न सहयोग पुर्याएको छ।' उनले भनिन्। समूहमा आबद्ध भएका महिलाहरू फुर्सदको समयमा सामुदायिक वनबाट सालको पात टिपेर ल्याउँछन्।
टपरी बनाउनका लागि सालको पातलाई सामान्य तरिकामा खुटेर फलामको डाइमेसिनमा राखेर टपरी वा दुनाको आकार दिने गरिन्छ। समूहले २०८० जेठ १० गतेदेखि व्यावसायिक रूपमा सालको दुना–टपरी उत्पादन गर्दै आएको हो। यहाँ दैनिक रूपमा ६०० टपरी र १,००० सानो र ठूला दुना उत्पादन हुने गर्छ।