Ad Image

होस्टलभित्रै नाबालिका सुत्केरी, अस्पतालबाटै नवजात शिशु ‘बिक्री’, प्रहरीमा उजुरी अनि शिशु फिर्ता !

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743590785.png

ललितपुर । गएको फागुन ४ गते ललितपुरको खरिबोटमा रहेको ‘मोहिनी गल्र्स होस्टल’मा १७ वर्षीय एक किशोरीले बच्चा जन्माइन् । ती किशोरीको कोखबाट छोरी जन्मिइन् । बच्चा जन्मेपछि किशोरी बेहोस भइन् ।

 

बच्चा जन्मिएको थाहा भएपछि होस्टलमा खैलाबैला मच्चियो । होस्टल सञ्चालक र त्यहाँ काम गर्ने कर्मचारी अचम्मित भए । हतार हतार होस्टल सञ्चालकले फागुन ४ गते नै नवजात शिशुसहित ती किशोरीलाई पाटन अस्पताल ल्याए । आकस्मिक कक्षमा भर्ना गराए ।

 

किशोरीको घरमा होस्टल सञ्चालक सिन्धु मल्लले फोन गरी किशोरीले छोरी जन्माएको जानकारी गराइन् । उताबाट किशोरीकी आमाले होस्टल सञ्चालक मल्ललाई झपारिन्– ‘मैले मासिक साढे १० हजार तिरेर होस्टल राखेको मेरो छोरी सुत्केरी बनाउनलाई हो ?’

 

मल्लले नसोचेको जवाफ पाइन । होस्टल सञ्चालक मल्लमाथि थप प्रश्नहरु सोधियो, ‘बच्चा जन्माउञ्जेलसम्म छोरीको विषयमा जानकारी नहुने कस्तो होस्टल हो ? त्यसको सबै जिम्मा तपाईँले लिनुपर्छ ?’

 

मल्लले उमेर नपुगी बच्चा जन्माएकी किशोरी र उनकी नवजात छोरीको विषयमा के गर्ने भनेर सहयोग खोज्ने प्रयास गरिन् । तर उताबाट छोरीको सबै जिम्मेवारी होस्टलले लिनुपर्ने टर्रो जवाफ आयो । मल्ललाई परिवारले ती किशोरीको अवस्थाको जिम्मेवार बनाउने भएपछि होस्टल परिवार समस्या समाधान कसरी होला भनेर चिन्तित भयो । यो विषय अस्पतालका कर्मचारीमा पनि चर्चा भयो । अनि खोजी भयो बच्चाको बुबा ।

 

बच्चाको बुबा रहेको दाबी गर्दै १९ वर्षीय दिपक साउद पाटन अस्पताल आइपुगे । भर्खरै स्नातक पढ्दै गरेका दिपक घटनाका बारेमा के गर्ने भन्ने चिन्तामा थिए । उमेर नपुगेका केटाकेटी बच्चाको आमाबुबा भएको विषय कानुनी रुपमा पनि झण्झटिलो हुन्छ भनेर समाधान निकाल्ने अनेका प्रयास भयो । यता ती किशोरीको विषयमा पनि चासो बढ्न थाल्यो ।

 

सुत्केरी किशोरीकी आमाकाअनुसार दिपकले उनलाई फोन सम्पर्क गरी नवजात शिशुको जिम्मा लिने आश्वासन दिए । इमाडोल क्षेत्रमा एक कोठा भाडामा लिएर बसेका दिपक कोठामा सुत्केरी किशोरी र बच्ची लिएर बस्ने क्षमताका पनि थिएनन् । उनको आर्थिक अवस्था कमजोर रहेको सुत्केरी किशोरीका परिवारले थाहा पाए । दिपकसँगको फोन सम्पर्कमा आमाले आर्थिक सहयोगको समेत आश्वासन दिइन् । किशोरीकी आमाले सात हजार रुपैयाँ समेत दिपकलाई पठाइन् ।

 

तर अस्पतालमा भने नवजात शिशु अर्कै व्यक्तिलाई दिने कुराकानी चल्छ । अस्पतालकै (सुत्केरी र बच्चाको स्याहार गर्ने) कर्मचारी लक्ष्मी तुलाधरले  अस्पतालमै दिपकलाई बच्चा अरुलाई दिने योजना सुनाइन् । कुरा सुनेपछि दिपक ती कर्मचारीको पछि लागे । किशोरीले यो विषयमा चासो नराखेको बताइन् । पाटन अस्पतालकी कर्मचारी लक्ष्मी तुलाधरले यो विषय ललितपुर महानगरकै स्थायी बासिन्दा सुरेन्द्र बहादुर न्हुच्छे प्रधानसँग पु¥याएकी थिइन् ।

 

पाटनकी कर्मचारी तुलाधर र प्रधानको चिनजान र सम्बन्धबारे भने हामीले चासो राखे पनि थप जानकारी पाएका छैनौं । प्रधान आफैँमा डाक्टरका बुबा रहेको मेयरसाप डटकमले पत्ता लगाएको छ । उनका छोरा बी एण्ड बी अस्पतालमा कार्यरत रहेको बुझिएको छ । प्रधानमार्फत किशोरीले जन्माएकी नवजात छोरीलाई एक सुत्केरी महिलाको जिम्मा दिने तयारी भयो । ती सुत्केरी महिला प्रधानकै घरमा भाडामा बस्ने एक सामान्य परिवारको भएको तर अहिले प्रधानको घरमा भने नबस्ने स्रोतले हामीलाई जानकारी दियो । ती सुत्केरी महिलाको १५ महिनाको छोरो भएको पनि हामीले जानकारी पायौं । 
 

फागुन ५ गतेसम्म यी घटनाक्रमहरुको विकास हुन्छ । फागुन ६ गतेसम्म शिशु ती सुत्केरी महिलालाई दिने सहमति हुन्छ । अस्पताल प्रशासनले बच्चाको ‘कारोबार’ अस्पताल बाहिर मात्रै गर्न निर्देशन दिन्छ । अस्पतालकी कर्मचारी र प्रधानको सल्लाह अनुसार दिपक र ती किशोरी डिस्चार्ज गर्न अस्पताल राजी हुन्छ । अस्पतालकी कर्मचारी र प्रधानको सल्लाहअनुसार नै फागुन ६ गते किशोरी र नवजात शिशुसहित दिपक इमाडोल क्षेत्रमा रहेको आफ्नो डेरा आए । उनी डेरा आउन नभ्याउँदै नवजात शिशु लिन व्यक्तिहरु आए । स्रोतका अनुसार ती व्यक्ति प्रधानले पठाएका मान्छे थिए । दिपकले नवजात शिशु ती व्यक्तिको हातमा थमाइदिए् र ५० हजार रुपैयाँ लिए । 
 

अब घटनाले अर्को पाटो लिन्छ । किशोरीको अस्पतालमा भएको खर्च होस्टेलकै जिम्मामा  थियो । खरिबोटमा रहेको मोहिनी गल्र्स होस्टल सञ्चालिकाले ती किशोरी र दिपकको नागरिकता, अन्य कागजात र कपडा राखिदिएकी थिइन्, पैसा तिराउने शर्तमा । दिपक २७ हजार रुपैयाँ लिएर खरिबोटको उक्त होस्टल पुगे । अस्पतालमा भएको खर्च र होस्टलको खर्च गरेर २७ हजार दिपकले होस्टलमा बुझाए  र आफ्नो र ती किशोरीको नागरिकतालगायत डकुमेन्ट साथै कपडा लिएर इमाडोलमा रहेको आफ्नो डेरामा आए । उता किशोरीकी आमा दिपकलाई होस्टल र अस्पतालको खर्चवापतको पैसा पठाउने तयारीमा थिइन् । उनले दिपकलाई पैसा पठाइदिने बताइन् । तर दिपकले आफ्नै बुबाले आवश्यक पैसा पठाइदिएको किशोरीकी आमालाई जानकारी दिए । त्यतिञ्जेल दिपकसँग नवजात शिशु लैजाने व्यक्तिले दिएको पैसा थियो ।

 

फागुन ६ गते डेरामा शिशुबिनाकी किशोरी र दिपक मात्रै रहे । डेरामा खाद्यन्नको कमी थियो । दिपकले आवश्यक चामल, दाल, तरकारी किनेर ल्याए । फागुन ७ गते किशोरीका साथीहरु र दिदी नाता पर्नेहरु पनि दिपकको कोठामा आए । दिपकले किशोरीका दिदी र साथीहरुलाई काेठामा धेरै बेर बस्न दिएनन् । घटनाले ट्वीस्ट त्यतिबेला लिन्छ, जब दिपकको साथमा फागुन ७ गते नै सिन्धुपाल्चोक घर भएकी हाल काठमाडौंमै बस्ने एक ‘गल्र्सफ्रेण्ड’ आइँन् । ती किशोरीलाई दिपक र उनकी ‘गल्र्सफ्रेड’ले थर्काए । किशोरीसँग आफूले कुनै सम्बन्ध नराखेको र बच्चा अरुकै भएको भन्दै दिपकले सुत्केरी किशोरीलाई दुव्र्यबहार गरे । ‘प्रहरीसँगको बयानमा त ती किशोरीले ‘आफ्नै अगाडि अरु केटीहरु ल्याएर सँगै सुतेको’ बयान दिएको स्रोतले हामीलाई जानकारी दियो । हामीसँगको सम्पर्कमा पनि ती किशोरीले दिपकको अरु ‘गर्लफ्रेण्डहरु’ रहेको जानकारी गराइन् ।

 

फागुन ७ गते साँझपछि दिपक इमाडोलस्थित डेरामा आउन छाडे । ती किशोरीका अनुसार उनी र दिपकबीच शारिरीक सम्बन्ध इमाडोलको त्यही कोठामा भएको थियो । उनीहरुको साझा एक साथीमार्फत सुरुमा उनीहरुको चिनजान भएको थियो । त्यसपछि दिपकले उनलाई पच्छ्याउन थाले । होस्टलमा बसेर ओभरसियर पढिरहेकी ती किशोरीसँग दिपक शारिरीक सम्पर्कपछि दुव्र्यवहारमा उत्रिए । उनीहरुबीच बोलचाल बन्द भयो । दिन बित्दै गए । अन्ततः होस्टलमै किशोरी सुत्केरी भइन् । 
 

यो घटना सतहमा आउनुका पछाडि फागुन ७ गतेपछि उनीहरु कसरी बसे भन्ने बुझ्न जरुरी छ । यो घटना पाटन अस्पताल प्रशासन तथा कर्मचारी, प्रहरी, सुरेन्द्रबहादुर न्हुच्छे प्रधान, दिपक र ती किशोरीका केही आफन्तबाहेक अरुले थाहा पाएका थिएनन् । शिशु ५० हजारमा अर्कैलाई दिए (बेचे) पछि होस्टल सञ्चालकले आफ्नो लागत उठाएकी थिइन् । अस्पताल प्रशासनले पैसा पाएको थियो । तर काउन्सिलिङ नै आवश्यक रहेकी ती युवतीको अवस्थाबारे कसैले ध्यान दिएन ।

 

के गर्ने र के नगर्ने भन्ने मानसिक तनावमा किशोरी थिइन् । किशोरीको यो अवस्था बुझेर उनकी कोटेश्वर बस्ने साथीकी दिदीले उनलाई फागुन १४ गते साथीको रुपमा बागबजार लगिन् ।  बागबजारमा उनले दाइ (मामाको छोरा)लाई देखिन् । दाइले भने उनलाई देखेनन् । बेलुका किशोरी कोठामा आएर दाइ (मामाको छोरा)लाई आफूले बागबजारमा देखेको च्याटमार्फत बताइन् । उनका दाइ अचम्मित भए । नाबालक शिशु छोडेर बहिनी कसरी बागबजार आइन भन्ने कौतुहलताका बीच दाइले उनको अवस्थाबारे जानकारी लिने कोसिस गरे । तर दाइलाई उनले जानकारी दिन चाहिनन् । यो विषय दाइले भारतमा रहेकी अर्की फूपु (किशोरीकी सानिमा)लाई सुनाए ।
 

 

किशोरीकी सानिमाले भारतबाट फोन गरिन् । सुरुमा त किशोरीले सानिमाको फोन उठाइनन् । तर तारन्तार फोन गरेपछि किशोरीले फोन उठाइन् । किशोरीले सानिमालाई आफ्नो अवस्थाबारे सबै जानकारी दिइन् । नवजात शिशु दिपकले अर्कैलाई दिएको र दिपकले दुव्र्यवहार गरेर कोठा नआएको जानकारी सानिमालाई बताइन् । तर यतिञ्जेल दिपकले किशोरीकी आमालाई किशोरी सञ्चै र सँगै रहेको बताइरहेका थिए ।

 

सुत्केरी किशोरीको अवस्था थाहा पाएपछि सानिमाले यो विषय किशोरीकी आमालाई जानकारी दिइन् । आमाले गौशाल बस्ने उनको भदाहा (किशोरीका दाइ–मामाको छोरा)लाई आफ्नी छोरीको अवस्था बुझिदिन अनुरोध गरे । किशोरीलाई मामाको छोराले गौशाला नै बोलाए । फागुन १५ गते किशोरीको अवस्थाबारे जानकारी लिए ।  परिवारमा सल्लाह भयो । 
गौशालामा बस्ने उनका दाइले राजेश भन्ने अछाम घर भएका एक प्रहरी (किशोरीका दाइका साथी)सँग पनि सल्लाह लिए । प्रहरीमा जान उनले सल्लाह दिए । सहयोग समेत गरे । 
 

फागुन १६ गते तीनै दाइहरुसँग किशोरीले सातदोबाटो प्रहरी वृतमा आएर घटना सुनाइन् । प्रहरीले त्यतिबेला थाहा पाए कि उनीहरुसँग बच्चा नै छैन । प्रहरीले जबरजस्ती करणी र मानव बेचबिखनको मुद्दामा जाहेरी लिए । प्रहरीले सबैभन्दा पहिला दिपकको खोजी गरे । फोनको लोकेशन हेर्दै दिपकलाई प्रहरीले कोटेश्वरबाट पक्राउ गर्यो । त्यसपछि बच्चा ‘बेच्न’ सहयोग गर्नेको खोजी भयो । पाटन अस्पतालकी कर्मचारी पक्राउ परिन् । तर उनी राजनीतिक पावर लगाएर अस्पताल भर्ना भएर बसिन् । पाटनकी कर्मचारीको बयानका आधारमा प्रहरीले ललितपुरकै सुरेन्द्रबहादुर न्हुच्छे प्रधानलाई पक्राउ गर्यो । प्रधानपछि बच्चा लैजाने आमालाई प्रहरीले भेट्टायो ।

 

फागुन २० गते किशोरीकी आमा पनि अछामबाट २० हजार ऋण काढेर काठमाडौं आइन् । प्रहरीले अनुसन्धान अगाडि बढाइरहेको थियो । किशोरीकी आमाले काठमाडौंमा भएका आफन्तसँग भेटेर सल्लाह लिइन् । प्रहरीकोमा पुगिन् । उता प्रहरीले प्रतिवादी बनाएका सबैसँग बयान लिँदै अनुसन्धान अगाडि बढाइरहेको थियो । प्रहरीले अनुसन्धानकै क्रममा शिशु एक आमासँग भएको पत्ता लगाइसकेको थियो । शिशु राख्ने आमालाई पनि प्रहरीले प्रतिवादी बनाएर बयान लियो । 

 

बयनामा आउने क्रममा शिशु राख्ने आमाले शिशु प्रहरी कार्यालयमै ल्याइदिइन् । शिशुसहित बयानका लागि सरकारी वकीलकै कार्यालयमा शिशु राख्ने आमा पनि पुगिन् । शिशु पनि उनले जिम्मा दिइन् । यो फागुनको २७–२८ गतेको घटना हो । प्रहरीलाई बच्चा कसले हेर्ने भन्ने तनाब भयो ।

 

यता किशोरीलाई पाटन अस्पतालले नै दूध सुकाउने औषधि खान दिएको थियो । किशोरी अहिले चाहेर पनि शिशुलाई स्तनपान गराउन नसक्ने अवस्थामा छिन् । बयानकै क्रममा सरकारी वकीललको कार्यालय ललितपुरमा बच्चा कसले हेर्ने भन्ने छलफल भयो । त्यहाँ किशोरी र उनकी आमालाई फिर्ता आएको शिशु जिम्मा लगाउने तयारी गरियो ।

 

ललितपुर सरकारी वकीललको कार्यालयमा रहेकी सरकारी वकील ममता श्रेष्ठले १७ वर्षकी किशोरी र उनकी आमासँग कुरा गरिन् । किशोरी र उनकी आमाले शिशु जिम्मा नलिने बताए । सरकारी वकील ममताले थर्काइन्, ‘बच्चा जिम्मा लिएनौं भने तिमीलाई पनि ५ वटा मुद्दा लगाइदिन्छु ।’ हामीले किशोरी र उनकी आमासँग कुराकानी गर्दा ममताले प्रहरीकै अगाडि किशोरी र उनकी आमालाई शिशु जिम्मा लिनू, नत्र ‘मुद्दा लगाइदिन्छु’ भनेर धक्याएको बताए । अझ किशोरी र उनकी आमाका अनुसार वकील ममताले प्रतिवादीहरुसँग मिल्ने गरी अगाडि बढ्न दवाव दिएकी थिइन । 

 

‘उनीहरु(प्रतिवादीहरु)सँग मिल्यौ भने सजाय कम हुन्छ । नत्र तिमी (किशोरी)लाई पनि मानवबेचबिखनसहित पाँच वटा मुद्दा लगाइदिन्छु भनेर सरकारी वकील ममताले प्रहरीहरु र प्रतिवादीहरु अगाडि धम्क्याइन्’, किशोरी र उनकी आमाले सुनाए । एक प्रहरी अधिकारीले सरकारी वकीलको कार्यालयबाट निस्केपछि ‘कुनै मुद्दा नलाग्ने’ भन्दै नआत्तिन सम्झाएको किशोरी र उनकी आमाले हामीसँगको कुराकानीमा खुलाए । त्यो घटनामा सामेल सातदोबाटोका प्रहरी अधिकारीहरुले भने ममता श्रेष्ठले शिशु जिम्मा लगाउन ‘गुड फेथ’ मा बच्चा नलिए मुद्दा लाग्छ भनेर तर्साएको जानकारी हामीलाई दिए । 
 

 

स्मरण रहोस्, आवाजविहीनहरुको आवाज टाइटलसहित वकील ममता श्रेष्ठलाई २०८१ मा अनलाइनखबर डट कमले ५० प्रभावशाली महिलाको सूचीमा पनि राखेको छ । कानुनी ज्ञाताका अनुसार १७ वर्षकी किशोरीले बच्चा आफूले जिम्मा नलिने भन्न पाउने र जिम्मा नलिन छुट पनि पाउने व्यवस्था छ । किशोरीलाई कानुनी संरक्षण दिनुपर्ने र काउन्सिलिङमेत दिनुपर्ने जिम्मेवारीमा रहेकी वकील श्रेष्ठले ‘कसैको दवाव’मा किशोरीलाई उल्टो धम्क्याएको किशोरी र किशोरीकी आमाले दिएको जानकारीले प्रष्ट हुन्छ । स्रोतका अनुसार पाटन अस्पतालकी कर्मचारी र ललितपुरका सुरेन्द्रबहादुर प्रधान न्हुच्छेको दवावमा सरकारी वकील ममताले किशोरीलाई दवाव दिएको हो कि भन्ने आशंका बढेको छ । सरकारी वकीलको कार्यालयमै उनीहरुलाई ‘मुद्दा लगाइदिने नत्र बच्चा जिम्मा लिनू’ भन्ने दवाव आएपछि किशोरी र उनकी आमा शिशु जिम्मा लिन बाध्य भए । 
 

वकील ममता श्रेष्ठले भने आफूले किशोरीकी आमाले नवजात शिशु नलिने भनेर छोरीलाई दवाव दिएपछि नवजात शिशुको हितका लागि आफूले किशोरीकी आमालाई ‘मुद्दा’ लाग्ने भनेको बताइन् । ‘यो मुद्दाको अभियोजन पत्र मैले बुझाएको पनि होइन । यो अर्कोले नै अभियोजन गर्नु भएको छ । यस विषयमा बोल्न चाहिँन’, वकील ममताले हामीसँगको कुराकानीमा घटनाबारे बोल्न इन्कार गरिन् । हामीले वकील ममतालाई तपाईँमाथि प्रश्न उठेको छ भनेर थप प्रश्न सोध्यौं । त्यसपछि ममता बोल्न तयार भइन् ।
 

‘यो भनेको कुराहरु सबै सत्य नै हो । अनुसन्धानको क्रममा यदि हामीले यस्तो कदम नउठाएको भए त्यो बच्चा फेला पर्दैनथ्यो । बच्चा जिवितै फेला परेको अवस्था थियो । १० दिनको बच्चा छ । त्यो बच्चा लिगल्ली एडप्सन गर्न नसक्ने महिलाको हातमा फेला पर्यो । पीडितले बच्चा लिन नमान्दाखेरी जन्मिएको बच्चाको अधिकार त खोसियो नि त ! जुन बालक हाम्रो कार्यालयमा आएको छ । उसलाई फर्मुला दूध ख्वाइएको छ । भर्खरै जन्मिएको बच्चालाई फर्मुला दूध ख्वाउने कहाँको अधिकार हो ?’ ममताले भनिन् ।

 

ममताले थप अगाडि बढेर भनिन्, ‘आमालाई बच्चा लिउ भन्दाखेरी नाईँ भन्छिन् । उसको आमाले नै बच्चा न..लि भनेको अवस्था छ ।’ ममताले बच्चाको अधिकार खोज्दै गर्दा पीडित भएर उजुरी नै हाल्ने नाबालिका किशोरीको अधिकार चाहिँ बिर्सिछिन् । न्यायका लागि मुद्दा नै दर्ता गर्ने किशोरीको हक अधिकारका लागि लड्नुपर्ने जिम्मेवारी भएकी ममतालाई किशोरीलाई नै पीडा हुनेगरी धम्क्याउने जिम्मेवारी कसले दियो भन्ने प्रश्न उठेको छ । 
 

सरकारी वकीलको कार्यालयमा ‘जबरजस्ती’ बच्चा किशोरीलाई नै जिम्मा दिने निर्णय भयो । बच्चा लिएर उनीहरु इमाडोलको त्यही दिपकको कोठामा फर्किए । इमाडोलको कोठामा सुत्केरी किशोरीको दूध नआउने भएका कारण नवजात शिशुलाई फर्मुला दूध किनेर ख्वाउँन किशोरी बाध्य भएकी छिन् । 
 

दिपक फेरि भाग्छन्, प्रहरीलाई खोज्न सास्ती
 

१८ दिन हिरासतमा बसेका दिपकले चैत ६ गते बिरामी भएको बताए । प्रहरीले उनलाई उपचारका लागि पाटन अस्पताल लग्यो । दिपकसँगै उनका काका पर्ने व्यक्ति पनि पाटन पुगे । अभियुक्त दिपकले शौचालय जाने बताए् । प्रहरीले हतकडी खोलिदियो । दिपक शौचालयभित्र पसे । बाहिर प्रहरी कुरेर बसिरह्यो । भित्र डाङङुङ आवाज आयो । प्रहरी सर्तक भयो । प्रहरीले दिपकलाई बोलायो । दिपक बोलेनन् । प्रहरीले उनी भागेको आशंका गर्यो र खोजी गर्यो । 
 

 

उनी पछाडिको शौचालयको झ्याल खोलेर अस्पतालबाटै हाम फालेर भागेको प्रहरीले थाहा पायो । दिपक साउद चैत ६ गते बुधबार दिउँसो साढे १२ बजेतिर पाटन अस्पतालबाट भागेका थिए । प्रहरीले शौचालयभित्र रहेको झ्याल र अन्य अवस्थाबारे नहेरेका कारण उनी भाग्न सफल भए ।

 

शौचालयबाट थुनुवा भागेपछि प्रहरी वृत्त सातदोबाटो हुँदै जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीसम्म यो विषय रिपोर्टिङ भयो ।

 

प्रहरीले सिसिटिभी फुटेजबाट अनुसन्धान थाल्यो । सुरूमै उनले राइड सेयरिङ एपको प्रयोग गरेर भागेको प्रहरीले पत्ता लगायो ।

 

‘१२०० जति पैसा दिपकसँग गोजीमा रहेछ । त्यहाँबाट भाग्ने बित्तिकै एउटा स्कुटरमा चढेको देखियो,’ अधिकारीले भने, ‘पठाओ गरेर उनी कलंकी गएका थिए ।’

 

प्रहरीले दिपक चढेर भागेको स्कुटरका चालकलाई सम्पर्क गरी सोधपुछ समेत गर्न भ्यायो । उनी लगनखेलबाट कलंकी पुगेको प्रहरीले पत्ता लगायो । कलंकीमा साथीको होटलमा छिरेर उनले साथीसँग दुई हजार रुपैयाँ मागेर त्यहाँबाट निस्किएको पनि पत्ता लाग्यो ।

 

कलंकीबाटै साउदले अर्को पठाओ गरेर नागढुंगा पुगे । प्रहरीले पनि उनी पश्चिमतिर जानसक्ने अनुमान गरी खोजी गरिरहेको थियो । पश्चिम जाने गाडीहरूमा पनि जाँच गर्ने काम गरिरह्यो। तर उनी फेला परेनन् । नागढुंगाबाट दिपक पूर्वी नेपालको गाडीमा चढे ।

 

प्रहरीले भने पूर्व जाने गाडीमा जाँच नै गरेन । प्रहरीको अनुसन्धानका अनुसार उनी नागढुंगाबाट पूर्व जाने गाडी चढेर चितवन झरे । त्यहाँबाट रिक्सा लिएर गैंडाकोट पुगे । त्यहाँबाट उनी कञ्चनपुर लागे ।

 

बिहीबार दिउँसो १ बजेतिर उनी कञ्चनपुर पुगे । त्यहाँबाट उनी रिक्सा चढेर आफन्तको घर पुगे । प्रहरीले दिपकको ‘गर्लफ्रेण्ड’ भएको आशंकामा एक केटीको फोन समेत ट्रयाकिङ गरिरहेको थियो । ती केटी पनि काठमाण्डौबाट कञ्चनपुर नै पुगिसकेकी थिइन् । दिपकले रिक्सावालाको फोनबाट ती केटीलाई फोन गरेको प्रहरीले थाहा पायो ।

 

प्रहरीले रिक्सा चालकलाई पनि सोधपुछ गर्यो । सोही चालकसँगै दिपक साउदलाई पु¥याएको घरमा प्रहरी पुग्यो ।

 

आफन्तको घरमा बसिरहेको अवस्थामा प्रहरीले उनलाई बिहीबार राति पक्राउ गर्यो । अनि शुक्रबार उनी ललितपुर ल्याइए ।

 

स्रोतका अनुसार यता पाटन अस्पतालकी कर्मचारी र प्रधान भन्ने व्यक्तिको तर्फबाट प्रहरीमा उनीहरुविरुद्ध मुद्दा दायर नगर्न ठूलै दवाव आयो । ललितपुर महानगरका जनप्रतिनिधिहरुले प्रहरीलाई पाटन अस्पतालकी कर्मचारी र प्रधानलाई यो मुद्दामा दोषी करार नगराउन दवाव दिएका थिए । तर घटना सार्वजनिक भएपछि सञ्चारकर्मीहरुले समेत यस विषयमा चासो राखेपछि उनीहरुविरुद्ध मानव बेचबिखनको कसूरमा मुद्दा दायर भएको छ । प्रहरीले बच्चा १७ वर्षकी किशोरीबाट लगेर पाल्ने आमासहित, प्रधान, पाटन अस्पतालकी कर्मचारी र दिपकलाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्यो । मुद्दा गएको आइतबार दर्ता भएको छ । दिपकलाई बलात्कार र मानव बेचबिखनको कसूरमा र अन्य तीन जनालाई मानव बेचबिखनको मात्रै कसूरमा सरकारी वकीलको कार्यालयले मुद्दा दायर गरेको छ ।

 

उता किशोरी र उनको शिशुलाई कसले सहयोग गर्ने भन्ने चिन्तामा प्रहरी छ । दिपकको परिवारबाट पनि कुनै आर्थिक सहयोग नभएको र किशोरीको परिवारले पनि किशोरीलाई कुनै सहयोग गर्न नसक्ने अवस्था भएपछि किशोरीको रेखदेख गर्ने विषयमा प्रहरीले संस्थाहरुको सहयोग खोजिरहेको छ । कानूनी झण्झटका बाबजुद संस्थाले किशोरीलाई राख्ने र सँगै शिशुलाई पनि पालन पोषण हुने गरी सहयोग खोजिरहरहेको सातदोबाटो प्रहरी वृतले जानकारी दिएको छ ।