Ad Image

अटिजम भएका बालबालिका लक्षित नयाँ विद्यालय सञ्चालन गर्दै हेटाैंडा उपमहानगर

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743591766.jpg

मकवानपुर । अटिजम भएका बालबालिकालाई लक्षित गर्दै हेटौंडा उपमहानगरपालिकाले अटिजम विद्यालय सञ्चालन गर्ने भएको छ । विश्व अटिजम जनचेतना दिवसको अवसरमा आयोजित कार्यक्रमलाइ सम्बाेधन गर्दै नगर प्रमुख मीनाकुमारी लामाले हेटौंडा–११ थानाभर्याङमा विद्यालय सञ्चालनका लागि उपमहानगरले बजेट व्यवस्थापन गर्ने बताइन् ।


उपमहानगरले महिलाहरुका लागि भवन निर्माणका लागि डिपीसी समेत भैसकेको जमिनमा विद्यालय सञ्चालनको तयारी थालिएको  मेयर मीनाकुमारी लामाले जानकारी दिइन् । पछिल्लो समय अटिजम भएका बालबालिकाका अभिभावकले निजी क्षेत्रबाट सञ्चालन भएका विद्यालयबाट चर्को शुल्क असुलेको गुनासो गरिरहेका थिए । यसै सन्दर्भमा महानगरले सबै किसिमका परिवारलाई लक्षित गर्दै विद्यालय सञ्चालनको काम अघि बढाएको नगर प्रमुख लामाले बताइन् ।


जनचेतना दिवसको सन्दर्भमा हेटौंडा–४ मा रहेको सेन्टर फर अटिजममा भएको अभिभावकसँगको कार्यक्रममा नगर प्रमुख लामाले अटिजमबारे नजिकबाट जानकारी नलिँदा अहिले समस्या देखिएको बताइन् । अब भने सुधार गरेर जाने पक्षमा रहेको पनि प्रमुख लामाले बताइन् । अटिजम र शारीरीक अशक्त बालबालिकालाई एकै ठाउँमा राख्दा अहिले समस्या देखिएको उनको भनाई थियो ।


मेयर लामाले भनिन्, 'नगर क्षेत्रमा रहेका सबै खालका बालबालिकालाई शिक्षाबाट टाढा नराख्ने सोचसहित काम गरियो । अहिले फरक खालको विषय उपमहानगरसम्म आएको छ, यसलाई सुधार्ने छौं । अब समाजले के भन्ला भन्ने होइन, परिवारीक हिसाबले अभिभावक बाहिर आउनुपर्छ ।' बालबालिकाको अधिकारलाई कुन्ठित नबनाउन पनि अभिभावकलाई उनले आग्रह गरिन् ।


अहिले आफ्नो बालबालिकाको अवस्था पहिचान नगरी मन्टेश्वरी, निजी विद्यालयका कक्षाहरुमा राख्ने र समस्या झनै बढ्दै जाने भएकोले यस विषयमा अभिभावक आफैँ सचेत भएर बालबालिकाको अवस्था बुझ्न जरुरी रहेको उनले बताइन् । अटिजमको समस्यालाई समाधान गर्न उपमहानगरले व्यवस्थित विद्यालय सञ्चालनका लागि गृहकार्य गरिरहेको उनको भनाई थियो ।


अहिले सेन्टर फर अटिजममा उपमहानगरपालिका क्षेत्रका ३२ जना बालबालिका अध्यन गर्दै आएका छन् । कार्यक्रममा बालबालिकाका अभिभावकले अटिजमको विषयमा स्थानीय तह जिम्मेवार बन्न आग्रह गरे । सेन्टर फरका उपाध्यक्ष शेखर थपलियाले अभिभावकले बालबालिकाको अवस्था नबुझ्दा समस्या भैरहेको बताए । 

 

अहिले मन्टेश्वरी, निजी क्षेत्रका नर्सरी कक्षा, अन्य विद्यालयमा अभिभाकले बालबालिकालाई पठाउँदा भोलिका दिनमा समस्या हुने उनले बताए । उनले भने, "कति अभिभावकले मंहगो शुल्कमा मन्टेश्वरी पठाएका छन्, ती बालबालिका अन्य सरह पढाइमा ध्यान दिए नदिएको अध्यन गर्ने कोही नहुँदा समस्या बढ्दै गएको छ ।" 

 

आफूले सञ्चालन गरेको विद्यालयमा अहिले पनि बालबालिका राख्नु पर्यो भन्दै कति अभिभाबक आएपनि स्थान अभावका कारण समस्या भैरहेको उनले जानकारी दिए ।


सेन्टर फर अटिजमका अध्यक्ष हरीकृष्ण मैनालीको अध्यक्षतामा भएको जनचेतना दिवसको कार्यक्रममा सचिव अस्मिता कालिका, कोषाध्यक्ष निश्ला श्रेष्ठ, सदस्य उमा पौडेल, थेरापिष्ट डाक्टर श्रमिका श्रेष्ठको आतिथ्यता रहेको थियो ।


के हो अटिजम ?

 

अटिजम बालबालिकाको बौद्धिक क्षमतामा कमी आउने रोग भएको हेटौंडा अस्पतालका बालरोग विशेषज्ञ डा. हरिबहादुर खड्काले बताए । उनका अनुसार यस्तो समस्या छोरामा भन्दा छोरीमा बढी देखिने गरेको छ ।


हरेक ३६ जनामा १ जनामा अटिजम देखिन्छ भन्ने अध्ययनले देखाएको उनले जानकारी दिए । यो समस्या रहे नरहेको १८ महिनादेखि २४ महिनासम्म चाँडै पत्ता लाग्ने र ६ महिनासम्म उसको चारित्रिक अवस्था हेरेर पत्ता लाग्ने उनले बताए ।


उनका अनुसार बाललिकामा देखिएको अटिजम जस्ता समस्या औषधि खुवाएर ठिक हुन्छ भन्न मिल्दैन । यस्ता रोग निराकरणका लागि विभिन्न प्रकारका थेरापी बाहेक अन्य कुनै प्रविधि नभएको खड्काकाे भनाई छ । 


उनका अनुसार अटिजम भएका बच्चाहरुले अरुको बारेमा वास्ता नगर्ने, आँखामा आँखा जुधाएर कुरा गर्न नसक्ने, उमेर अनुसार बोल्न नसक्ने र एकै प्रकारको व्यवहार बारम्बार देखाइरहने गर्छन् ।