लाज मानेर रोग लुकाउँदा ग्रामीण क्षेत्रका महिलामा पाठेघर सम्बन्धी समस्या !


बझाङ । केदारस्युँ गाउँपालिका- १ कि एक ७२ वर्षीया महिलाको पाठेघरमा समस्या भएको वर्षाैं भयो । तर पनि उनले समस्याबारे भन्न लाज मानेर रोग लुकाएर राखिन् । आफन्त तथा परिवारका कुनै पनि सदस्यलाई यो विषयमा जानकारी नै दिइनन् । उमेर ढल्किँदै गयो । समस्या बल्झिँदै जान थाल्यो । उनले स्वास्थ्यमा आएको समस्याबारे अझै पनि कसैलाई भन्न सकेकी छैनन् ।
अरूले के सोच्लान् भनेर उनले कसैसंग पनि उक्त कुरा भन्न नसकेकी हुन् । उनी भन्छिन्, ‘तल्लो पेट दुख्नेदेखि अन्य धेरै समस्या हुन्थ्यो । तल्लो पेट दुखे पनि खाली पेट दुखेको होला भनेर सहेर बस्थे । अहिले बुढेसकालले छोयो । दिन प्रतिदिन समस्या बल्झिँदै जान थाल्यो ।
गाउँमा स्वास्थ्य शिविर आएको थाहा पाएपछि उनी चेकजाँच गर्न गइन् । चेकजाँच गराउँदा डाक्टरले पाठेघरमा समस्या भएको र त्यसको सर्जरी गर्नु पर्ने बताए । तर डाक्टरले रोग निको हुन्छ भनेपछि म ढुक्क भएकी छु, उनले भनिन् । यो रोगबाट छुटकारा मिल्यो भने मेरा लागि यो दोस्रो जुनी सरह हुने भन्दै उनले खुसी ब्यक्त्त गरीन्’।
शिविरमा यस्तै समस्या अन्य ५ जना महिलाहरूमा पनि देखिएको छ । केदार स्युँ गाउँपालिका वडा नम्बर २ कि ७० वर्षिया सानिमा रावल (नाम परिवर्तन) को पनि समस्या एउटै छ ।
उनको पनि यो समस्या भएको वर्षाैँ पहिलादेखि नै हो । यो रोग लुकाएर बस्नु पर्ने उनको पनि बाध्यता नै थियो । पाठेघरको समस्या कसैलाई पनि भन्न नसक्दा अहिले रोगको सिकार हुनु परेको उनले दुखेसो पोखिन् ।
उनलाई पनि सर्जरी गर्नु पर्ने डाक्टरहरूले सुझाव दिएका छन् । यस्तै सोही ठाउँकै २२ वर्षीया युवतीको पनि उस्तै समस्या देखा परेको छ । शिविरबाट नै उनको पनि यो समस्या भएको पुष्टि भएको हो ।
उनको पनि सर्जरी गर्नु पर्ने डाक्टरले बताएका छन् । कलिलै उमेरमा विवाह गरी बच्चा जन्माउनु र सुत्केरीको समयमा गाह्रो काम गर्नुपर्दा यो समस्याको सिकार हुनु परेको हो । उनले पनि लाज मानेर समस्या लुकाएर राखेकी थिइन् ।
उनले भनिन् ‘ मलाई यस्तो समस्या भएको छ भन्न नसकेर नै बसेकी थिए । अब यो समस्याबाट छुटकारा पाउने भएको भन्दै उनले खुसी व्यक्त गरिन् । तर कलिलो उमेरमै पाठेघरको सर्जरी गर्नु परेपछि आफूलाई थप पीडा भएको बताइन् ।
उनले गाउँमा आफू मात्रै नभएर पाठेघर सम्बन्धी विभिन्न समस्या भएका महिला दिदीबहिनीहरु रहेको बताइन् । ती महिलाहरूले विशेष गरेर पाठेघरमा भएका समस्याहरू भन्न नसकेर रोगलाई लुकाएर बसेको उनले सुनाइन् ।
यस्ता शिविरहरू अझै बढी गर्न सके आफूहरू जस्तो महिलाहरुले ठूलो समस्याबाट छुटकारा पाउने उनको भनाई छ । अझै पनि पाठेघरको समस्या भएका महिलाहरूले खुलेर आफ्नो समस्या भन्न सक्दैनन् । उनले भनिन् कतिपय अस्पताल तथा स्वास्थ्य चौकीहरूमा स्वास्थ्यकर्मी पुरुष नै हुने भएका कारण उनीहरुले यस्ता समस्या लुकाउने गरेको बताइन् । यस्ता शिविरहरु दूरदराजमा र ग्रामिण बस्तिहरुमा लैजाने हो भने धेरै महिलाहरूले दोस्रो जुनी पाउने बताइन्’ ।
यस्ता ६ जना महिलाहरुको पहिचान भएर उनीहरुको सर्जरी गर्ने तयारी भएको केदार स्युँ गाउँपालिकाका स्वास्थ्य संयोजक अम्मरराज विष्टले बताए । उनले भने, ‘विचको उमेर समूहका महिलाहरु भन्दा उमेर ढल्केका र कम उमेर समूहमा विवाह गरेका महिलाहरुमा यस्तो समस्या देखा परेको छ । यो शिविरले केही महिलाहरुको दोस्रो जुनि पाएको अनुभुती गरेको आफुले पाएको बताए ।
निःशुल्क स्वास्थ्य शिविर रायल प्राथमिक स्वास्थ्य केन्द्रमा नर्वेजियन राजदूतावास, यु.एन.एफ.पि.ए.तथा ए.डि.आर.ए.नेपालको सहयोगमा संचालन गरिएको बताए’ । उनले भने, ‘एक दिनको निःशुल्क स्वास्थ्य शिविरबाट १ सय ७२ जना महिलाहरुको स्वास्थ्य परीक्षण गर्दा ६ जना महिलालाई अप्रेशनका लागि छनौट गरिएको छ । यस्तै ४ जना रिङ पेसरी, ४ जनाको पहिलो चरणको भि.आइ.ए. पोजेटिभ पहिचान गरी उपचार तथा परामर्श गरिएको बताए’ ।
प्रजनन उमेर समूहका महिलाहरुको स्वास्थ्य समस्या समयमा नै पहिचान गरी समाधान गर्ने मुख्य उद्देश्यले यो शिविर संचालन गरिएको हो । नेपालमा हरेक दिन ४ जना महिलाहरू पाठेघरको मुखको क्यान्सर बाट अकालमा नै ज्यान गुमाउनु परेको छ । हरेक क्षेत्रबाट यस्ता स्वास्थ्य समस्याहरू पहिचान गर्न सकेको खण्डमा र समाधान गर्न सकेको खण्डमा अगामी दिनहरुमा अकालमा कुनै पनि महिलाहरूले ज्यान गुमाउन नपर्ने केदारस्युँ गाउँपालिकाकी उपाध्यक्ष मनिसा धामीले बताईन् ।
उनले महिलाहरुको क्षेत्रमा पालिकाले पनि विभिन्न सचेतनामुलक कार्यक्रमहरू, जीविकोपार्जन गर्ने कार्यक्रमहरू संचालन गरिरहेको बताइन् । पहिले र अहिलेको तुलनामा पालिकाले विभिन्न सचेतनामुलक कार्यक्रम संचालन गर्दा रोग लुकाएर बस्ने महिलाहरू पनि खुलेर समस्या भन्ने र स्वास्थ्य उपचार गर्ने गरेको आफूले पाएको धामीले बताइन्’ ।