बाँकेका गाउँबस्तीमा बाली उपचार शिविर सञ्चालन, किसानलाई प्रत्यक्ष लाभ


नेपालगञ्ज । बाँकेका विभिन्न ग्रामीण भेगमा पुगेर कृषि प्राविधिकले बाली उपचार शिविर सञ्चालन गरेका छन् ।
कृषि ज्ञान केन्द्रले कोहलपुर नगरपालिका–१५ राप्तीसोनारी गाउँपालिका–८ पेरानीमा बाली उपचार शिविर सञ्चालन गरेको हो। “जहाँको बालीमा रोग देखिएको छ, त्यहाँ शिविर सञ्चालन गरिएको हो,” केन्द्र प्रमुख विनोद घिमिरेले बताए ।
विशेषगरी सागसब्जीका पकेट क्षेत्रलाई प्राथमिकतामा राखेर बाली उपचार सुरु गरिएको छ। कृषि प्राविधिकहरूले आलुमा लागेको डढुवा, लाही कीराको प्रकोप, फलमा प्वाल पर्ने समस्या, काउलीमा सूक्ष्म खाद्यतत्वको कमी, गोलभेँडाको पछौटे डढुवा, फल फुट्ने समस्या, गबारो लाग्ने, राजमामा कीराको प्रकोप, खुर्सानीमा रोगको समस्या, मकैमा कीराको प्रकोपजस्ता समस्याबारे किसानलाई आवश्यक सुझाव दिएका छन्।
वरिष्ठ बागवानी विकास अधिकृत सन्तोष पाठकले किसानलाई कृषि प्राविधिकको सिफारिसअनुसार मात्र मलखाद र विषादी प्रयोग गर्न सुझाव दिए । उनले ज्ञानको अभावले गर्दा बालीमा जथाभावी विषादी प्रयोग हुने समस्या रहेको भन्दै भरपर्दो उपचार आवश्यक भएको बताए ।
शिविरमा किसानहरूले बिरामी तथा समस्याग्रस्त बोटबिरुवा ल्याएर विशेषज्ञहरूसँग समस्याको पहिचान तथा समाधानका उपायबारे सल्लाह लिएका थिए । उक्त शिविरमा १७३ जना किसानको सहभागिता रहेको थियो ।