कोठाबाट आदेश दिने प्रवृत्ति बन्द गर्न बालेनलाई सुनिताको चेतावनी


काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले मेयर बालेन शाहलाई कोठामा बसेर मात्र निर्देशन नदिन चेतावनी दिएकी छिन्।
बिहीबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं हाजिर हुन महानगरस्थित कार्यकक्ष पुगेका थिए। तर, नगर प्रहरीले उनलाई रोक्ने प्रयास गर्यो, जसका कारण कर्मचारीहरू आक्रोशित बने। विरोधस्वरूप केही कर्मचारीहरूले कार्यकक्ष प्रवेशद्वारमा तोडफोड समेत गरे।
यही घटनालाई लिएर उपमेयर डंगोलसहितको बैठक बसेको छ। बैठकमा उनले महानगरभित्रका हरेक घटनाक्रमबारे आफूहरू जानकार रहेको बताउँदै कोठाबाट मात्र निर्देशन दिन नहुने स्पष्ट गरिन्।
"मन्त्रालयबाट पठाइएका प्रमुख प्रशासकीय अधिकृत हाजिर हुन आउँदा यस्तो झडप हुनु राम्रो होइन। कर्मचारी–कर्मचारीबीच लडाइँ हुनु झनै दुर्भाग्यपूर्ण छ,"डंगोलले भनिन्।
उनले संस्थाभित्र मनमुटाव हुनु नहुने भन्दै यदि प्रमुख प्रशासकीय अधिकृत दोषी ठहरिए, कानुनी कारबाही गर्न आफू तयार रहेको बताइन्।
"यो तमासा हेर्नुपर्ने अवस्था किन आएको हाे ? यदि यो मेयरको आदेश हो भने उहाँ आफैं अघि आउनुपर्छ। होइन भने, कोठाबाट मात्र आदेश दिने प्रवृत्ति बन्द गर्नुपर्छ," उनले भनिन्। ‘पहिले आजको समस्या समाधान गरौँ, त्यसपछि बोर्ड बैठक बोलाउँछौँ।’