Ad Image

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच आज भेटवार्ता हुँदै

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743733226.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदैछ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनमा भाग लिन थाइल्याण्डको बैंकक पुगेका प्रधानमन्त्री ओली र मोदीबीच  स्थानीय समयअनुसार अपरान्ह ४ बजे भेटवार्ता हुन लागेको हो । भेटवार्ता बैङ्ककस्थित होटल साड्ग्रिलामा हुनेछन् । 
 

भेटवार्तामा नेपाली पक्षबाट परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, सल्लाहकार डा. युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल र परराष्ट्रसचिव अमृत राई पनि सहभागी हुनेछन् । यसअघि आजै प्रधानमन्त्री ओलीले बिम्स्टेक शिखर सम्मेलनलाई सम्बोधन गर्दै छन् । उनीसहित सदस्य मुलुकका सरकार प्रमुखहरुले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 

शिखर सम्मेलनको पहिलो कार्यसूचीमा ‘बिम्स्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’मा हस्ताक्षर गर्ने रहेको छ । आयोजक राष्ट्र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्ले स्वागत सम्बोधन गरेपछि कार्यसूचीहरु प्रस्तुत गरिने छन् । तत्पश्चात् बङ्गलादेश, भुटान, भारत, म्यान्मार, नेपाल र श्रीलङ्काका प्रधानमन्त्री (प्रतिनिधिमण्डलका नेता)हरुबाट सम्बोधन हुनेछ । सम्बोधनपछि कार्यसूचीहरु पारित हुनेछन् भने आयोजक मुलुकका प्रधानमन्त्री शिनावात्ले पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ ।