अमेरिकी करको प्रभाब कम गर्न बंगलादेशी सरकारले बोलायो आपतकालीन बैठक


ढाका । विश्वको दोस्रो ठूलो गार्मेन्ट उत्पादक राष्ट्र बङ्गलादेशका टेक्सटाइल व्यवसायसँग सम्वद्ध नेताहरूले अमेरिकी करले प्रमुख उद्योगका लागि ‘ठूलो धक्का’ भएको बताएपछि बङ्गलादेशका अन्तरिम नेताले शनिबार आपतकालीन बैठक आह्वान गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार बङ्गलादेशमा कपासमा १६ प्रतिशत र पोलिस्टर उत्पादनमा ३२ प्रतिशत कर वृद्धि गर्दै बङ्गलादेशमाथि ३७ प्रतिशत कर लगाउने घोषणा गरेका छन् ।
टेक्सटाइल र गार्मेन्ट उत्पादनले बङ्गलादेशमा निर्यातको लगभग ८० प्रतिशत हिस्सा ओगटेको छ । गत वर्ष तत्कालिन प्रधानमन्त्री हसिनालाई पदच्युत गरेको विद्यार्थी नेतृत्वको आन्दोलनका कारण धरासायी बनेको यो उद्योगको पुनः निर्माण भइरहेको वेला भएको अमेरिकी कर वृद्धिले बङ्गलादेशलाई आर्थिक रूपमा उल्लेख्य असर गर्ने भन्दै सरकारी प्रतिनिधि र व्यवसायीबीच छलफल सुरू भएको हो ।
बङ्गलादेशले संयुक्त राज्य अमेरिकामा वार्षिक ८.४ अर्ब अमेरिकी डलरबराबरको गार्मेन्ट निर्यात गर्ने गरेको बङ्गलादेश गार्मेन्ट म्यानुफ्याक्चरर्स एण्ड एक्सपोर्टर्स एसोसिएसन (बीजीएमईए) को तथ्याङ्कले देखाएको छ ।
यो बङ्गलादेशको कुल तयारी पोशाक निर्यातको करिब २० प्रतिशत हिस्सा हो । “अमेरिकी करको विषयमा छलफल गर्न सरकारका मुख्य सल्लाहकार प्रोफेसर मोहम्मद युनुसले आपतकालीन बैठक बोलाउनुभएको छ,” राजधानी ढाकामा शनिबार अबेर राति हुने बैठकबारे एक सरकारी विज्ञप्तिमा भनिएको छ।
सम्मेलनमा उच्च विज्ञ, सल्लाहकार र अधिकारीहरू सहभागी हुने बताइएको छ । बङ्गलादेशको कर प्राधिकरण, नेशनल बोर्ड अफ रेभेन्यूले पनि अतिचरिक्त करबाट हुने असरको समीक्षा गर्न बैठक गर्ने अपेक्षा गरिएको छ । करिब दुई करोड ५० लाख अमेरिकी डलरको कारोबार गर्ने प्रमुख उत्पादक कम्पनी आरडिएम ग्रुपका अध्यक्ष रकिबुल आलम चौधरीले बिहीबार उद्योगले व्यापारको रफ्तार गुमाउने बताएका छन् ।
“कर वृद्धिले मूल्यमा आउने परिवर्तनसँगै क्रेताहरू अन्य लागत–प्रतिस्पर्धी बजारहरूमा जानेछन् र यो हाम्रो उद्योगको लागि ठूलो धक्का हुनेछ,” उनले भने । बङ्गलादेशमा धेरै गार्मेन्ट फ्याक्ट्रीहरूले अमेरिकी बजारका लागि मात्र कपडा उत्पादन गर्छन् ।
बीजीएमईएका प्रशासक अनवर हुसेनले एएफपीसँग बताएअनुसार उद्योग कर वृद्धिबाट हुने प्रभावको लागि ‘तयार छैन’।” चीनपछिको दोस्रो ठूलो उत्पादक बङ्गलादेशले ग्याप इङ्क, टोमी हिलफिगर र लेभी स्ट्रासजस्ता अमेरिकी कम्पनीका लागि गार्मेन्ट उत्पादन गर्दै आएको छ ।