फोहोर व्यवस्थापनमा नेशनल अस्पतालको लापर्बाही, काठमाडौं महानगरलाई बुझायो एक लाख जरिवाना


काठमाडौं । कलंकीमा रहेको नेपाल नेशनल हस्पिटलले जोखिमपूर्ण फोहोर व्यवस्थापनमा लापर्बाही गरेपछि काठमाडौं महानगरपालिकाले एक लाख जरिवाना तिराएको छ । महानगरपालिकाले पटक पटक अनुगमन गरेर सुधारको मौका दिँदा पनि अस्पतालजन्य फोहोर व्यवस्थापन नगरेपछि एक लाख जरिवाना तिराएको हो ।
अस्पतालको फोहोरले असर गरेको भन्दै स्थानीयले उजुरी दिएपछि गत चैत २० गते महानगरले फेरि अनुगमन गरेको थियो । उक्त अनुगमनका क्रममा फोहोर व्यवस्थापनमा लापर्बाही देखिएको भन्दै महानगरले एक लाख जरिवानाको पत्र पठाइएको र अस्पतालले चैत २९ गते उक्त रकम बुझाएको हो ।
फोहोरलाई स्रोतमा वर्गीकरण नगर्नु, वर्गीकरण गरिएको फोहरको संकलन कक्षसम्म सुरक्षित ढुवानी नहुनु, ढुवानी गरेर भण्डारण कक्षमा लगेपछि मात्र जोखिमयुक्त फोहोर वर्गीकरण गर्न थाल्नु, जोखिमयुक्त फोहोर निर्मलीकरण गरेपछि वर्गीकरण नगर्नु, प्रकृतिअनुसार भण्डारण उपयुक्त नहुनु, निर्मलीकरणका साधन तथा उपकरण नहुनु, भएकाहरुको पनि उचित प्रयोग नहुनु हस्पिटलका लापर्बाही भएको महानगरको भनाइ छ ।
महानगरपालिकाका वातावरण निरीक्षक सृष्टि श्रेष्ठ भन्छिन्, ‘सुधारको अवसर उपयोग नगरेपछि काठमाडौं महानगरपालिकाले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ को दफा ५१ को (ट) र (ठ) बमोजिम जरिवाना गरेका हौँ ।’
फोहोर व्यवस्थापनमा महानगरले पटक पटक दिएको थियो मौका
अस्पतालबाट उत्पादन भएको फोहोर राख्न भवनको पछाडिपट्टि जस्ताले बारेको टहरा छ । टहरामा ४ वटा कोठा छन् । गएको वर्ष महानगरले अनुगमन गर्दा यहाँ राखिएको अटोक्लेभ मेसिन बिग्रिएको अस्पतालले जानकारी दिएको थियो । त्यसबेला २०८० फागुनमा जोखिमपूर्ण फोहोर निर्मलीकरण गरेर व्यवस्थापन गर्न अस्पतालले प्रतिवद्धता जनाएको थियो । त्यसै वर्ष चैत १० गते अनुगमन भयो । त्यसबेला अघिल्लो पटकको अवस्थामा सुधार देखिएन । अस्पतालले प्रतिबद्धता दोहोर्यायो । अनुगमन टोली सुधारको मौका दिएर फर्कियो ।
त्यसै महिनाको १६ गतेदेखि महानगरपालिकाले सञ्चालन गरेको अस्पतालजन्य फोहोरमैला व्यवस्थापन तालिममा अस्पतालबाट एक जना व्यवस्थापक र एक जना फोहोर व्यवस्थापनका फोकल पर्सनले सहभागिता जनाए ।
यो वर्षको भदौ १० गते टोलीले फेरि अनुगमन गर्यो । यसबेला, गएको वर्ष बिग्रिएको अटोक्लेभ मेसिन सञ्चालन गर्नुको सट्टा फोहरको पोकोले पुरिएको थियो । अस्पतालले पुनः सुधारको मौका माग्यो । अनुगमन टोली मौका दिएर फर्कियो । यसपछि २०८१ चैत २० गते महानगरले गरेको अनुगमनका क्रममा अवस्थामा सुधार नदेखिएपछि हस्पिटललाई एक लाख रुपैयाँ जरिवाना गरेको महानगरले जनाएको छ ।