शिक्षक आन्दोलन: कक्षा १२ को परीक्षा र विद्यार्थी भर्ना अभियान बहिष्कार गर्ने


काठमाडौं । नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षा, भर्ना अभियान लगायत कुनैपनि शैक्षिक गतिविधिमा सामेल नहुन आग्रह गरेको छ । महासंघले विज्ञप्ति जारी गर्दै वैशाख ११ गतेबाट सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष, निरीक्षक लगायत कुनै पनि काममा संलग्न नहुन प्रधानाध्यापक, शिक्षक र कर्मचारीहरूलाई आग्रह गरेको हो ।
शीघ्रताका साथ शिक्षा ऐन जारी गरेर विद्यालय शिक्षाको उचित व्यवस्थापन र गुणस्तर विकासका लागि गरिएको आन्दोलनलाई सहयोग गर्न पनि आग्रह गरिएको छ ।काठमाडौं केन्द्रित आन्दोलनको अवधिमा उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना लगायतका सबै काममा संलग्न नहुन पनि भनिएको छ ।
यस्तै प्याब्सन र एनप्याब्सनलाई पनि आन्दोलनमा बोलाएको छ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै चैत २० गतेबाट काठमाडौं केन्द्रित शिक्षकहरूको आन्दोलन जारी रहेको छ । सरकारले आजदेखि नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना गर्न देशभरका स्थानीय तह र विद्यालयलाई सर्कुलर गरे पनि शिक्षकहरूले माग पूरा नभएसम्म विद्यालय नफर्किने अडान लिएका हुन् । शिक्षकहरूको आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित भएको छ भने माध्यामिक शिक्षा परीक्षा (एसईई) को उत्तर पुस्तिका परीक्षणको काम पनि सुरु हुन सकेको छैन ।
