पार्क–जिमखाना बनाउनेदेखि उद्यमी बनाउन ‘कम्मर’ कसेर लागेकी हेटौंडाकी मेयर मीना
Mayorsap
बिही, बैशाख ४, २०८२ | १६:४३ बजे

काठमाडौं । गएको फागुन अन्तिम बिहानको लगभग साँढे १० बजे हेटौंडा उपमहानगरपालिकाको पहिलो तल्लामा रहेको मेयर कार्यकक्षमा पुग्दा मेयर मीनाकुमारी र उपमेयर राजेश बाँनिया आपसमा छलफल गरिरहेका थिए ।
सायद उनीहरु दिनभरका कामको विषयमा कुराकानी गरिरहेका थिए होलान् । हामी पुगेपछि उनीहरुबीच भइरहेको छलफललाई बाधा पर्यो । ‘मेयर–उपमेयर गज्जबले छलफल गर्नुहुँदो रहेछ नि ?’, हामीले उनीहरुबीच भइरहेको सम्बादलाई आफूतिर केन्द्रीत गर्ने प्रयास गर्यौ । उपमेयर र मेयर दुवै जना मुसुक्क हाँसे । सामान्य विषयमा छलफल भएको हो भन्ने जानकारी उपमेयर राजेशले दिए । हामीले अनौपचारिक रुपमा पालिकामा मेयर उपमेयरबीचको सम्बन्ध र आपसी सहकार्यको विषयमा पनि चासो राख्यौं । उनीहरुले जनताको काम गर्ने विषयमा सधैँ मेयर र उपमेयरबीच ‘गज्जब’को सम्बन्ध रहिआएको बताए । हेटौंडा पुगेको अवसरमा हामीले हेटौंडा उपमहानगरपालिकाको मेयर सम्हालेकी मीनाकुमारी लामाको राजनीति पृष्ठभूमि र काम जान्ने कोसिस गर्यौ ।
२०३३ सालमा हेटौँडा–११ नवलपुरमा जन्मिएकी मीनाकुमारी लामा १६/१७ वर्षको उमेरदेखि नै विद्यार्थी राजनीतिमा थिइन्। एमालेमा आवद्ध भएर उनले राजनीतिक कार्यक्रम अगाडि बढाएकी थिइन् । २०४६ सालमा मकवानपुर क्याम्पसमा अनेरास्ववियुको अध्यक्ष बनिन्। २०५० सालमा मकवानपुर जिल्लामा एमाले जिल्ला कमिटीको कोषाध्यक्ष बनिन्। एमालेनिकट अखिल नेपाल महिला संघ (अनेमसंघ) को जिल्ला सचिव हुँदै पार्टीको जिल्ला कमिटीको उपसचिवसम्मको जिम्मेवारी सम्हालेकी मीनले २०७४ सालको स्थानीय तह निर्वाचनमा हेटौंडामा उपमेयरमा जित हात पारिन् ।
पाँच वर्ष उपमेयरको अनुभव सम्हालेकी मीनाले दोस्रो स्थानीय तहको निर्वाचनमा मेयर पदमा निर्वाचन जितिन् । २०७४ सालमा एमालेबाट उपमेयरमा निर्वाचित भएकी मीना २०७९ सालको निर्वाचनमा माधव नेपालको पार्टी एकीकृत समाजवादीबाट मेयर पदमा उठेकी थिइन् । एमालेकै मेयर उम्मेदवारलाई हराउँदै उनी मेयर बनिन् ।
एमालेका उम्मेदवार अनन्त पौडेललाई २ हजारभन्दा बढी मतान्तरले पछि पार्दै उनी मेयर पदमा विजयी भइन्। लामाले २३ हजार ८० मत ल्याउँदा पौडेलले २० हजार ९०८ मत पाएका थिए।
मेयर मीनाका श्रीमान व्यवसायी हुन् । हेटौँडामै व्यवसाय गर्ने सुनकुमार तामाङसँग मीनाले २०५४ सालमा विवाह गरेकी हुन् । मीनाले समाजशास्त्रमा स्नातकोत्तर (एमए) र कानुनमा स्नातक (एलएलबी) अध्ययनसमेत पूरा गरेकी छिन् ।
उपमेयर पद पाँच वर्ष सम्हालेकी मीनाले हेटौँडा उपमहानगरको प्रमुख बनेको लगभग तीन वर्ष पूरा भयो । उनको नेतृत्वमा उपमहानगरपलिकामा शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधार तथा सरसफाइका क्षेत्रमा के के काम भए भन्ने बुझ्न हामी हेटौंडा नै पुगेका थियौं । उनले हेटौंडालाई महिलामैत्री सहर बनाउने काम गरिरहेको बताइन् । त्यसका लागि उनले महिलालाई सीप सिकाएर उद्यमी बनाउने प्रयत्न गरिरहेको बताइन्।
‘हेटौँडाका दिदीबहिनीहरूले उत्पादन गरेको गुन्द्रुक अहिले विभिन्न देशमा निर्यात भइरहेका छन्’, मेयर मीनाले फेहरिस्त सुनाइन् ‘ढाकाको कपडा हेटौँडाकै महिलाले बनाउनुहुन्छ । गार्मेन्ट उद्योग पनि महिलाले नै सञ्चालन गर्दै आउनुभएको छ । खुवा उत्पादनदेखि फलफूल उत्पादनसम्म भइरहेको छ ।’ उनले सीप सिकाएर उद्यमी बनाएका केही नमूना हामीले पनि हेर्यौ । मेयर मीनाले भनेजस्तै ढाका उद्योग, कृषि उद्यम आदी काम भइरहेका रहेछन् ।
मेयर मीनाले खुल्ला ठाउँमा जीम सुविधाको पार्क बनाउन निक्कै खर्च गरेको पनि देखियो । ठाउँ ठाउँमा पार्क । पार्क हेरचाह गर्न हेरालु पनि राखिएका रहेछन् । पार्कमा अपाङ्गमैत्री शौचालय पनि रहेछन् । जंगलमा समेत रंगरोगन गरी सजाइएको भेटियो ।
अस्पताल सुविधामा पनि काम गरिरहेको मीना बताउँछिन् । तर फोहोर व्यवस्थापनमा पनि उपमहानगर चुकेको देखियो । राप्ती नदीको बगरमा फोहोरको डंगुर उपमहानगरपालिकाले थुपारेको छ । फोहोर बर्गिकरण गरेर व्यवस्थापन गर्न उपमहानगरपालिकाले थप काम गर्नुपर्ने देखिन्छ ।
शिक्षा क्षेत्रमा विद्यालयहरु गाभ्ने काम भएको मेयर मीनाले सुनाइन् । तर सरकारी विद्यालयको शिक्षा सुधार र विश्वास बढाउन उपमहानगर अझै चुकिरहेको पनि उनको स्वीकारोक्ति छ ।
मेयर मीनाकुमारी लामासँगको कुराकानी तलको भिडियोमा पूरा हेर्नु सक्नुहुनेछ ।