वाणिज्य बैंकको स्थिति : ९ बैंक घाटामा, ११ नाफामा


काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको (९ महिना) अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । २० वटै वाणिज्य बैंकहरुकाे वित्तीय विवरण अनुसार ११ वटा वाणिज्य बैंकको मुनाफा बढेको देखिन्छ भने ९ वटा घाटामा गएका छन् । सार्वजनिक वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म वाणिज्य बैंकहरुले कुल ४१ अर्ब २५ करोड ११ लाख रुपैयाँ खुद मुनाफा कमाएका छन् ।
बैंकहरुले ९ महिनामा समग्रमा ४१ अर्ब बढी खुद मुनाफा आर्जन गरेका हुन् । यो अपरिष्कृत विवरण हो । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो मुनाफा ४० अर्ब ६८ करोड थियो । एक वर्षको समीक्षा अवधिमा बैंकहरुको मुनाफा जम्मा १.४० प्रतिशतले बढेको हो । ११ बैंकको मुनाफा पहिलेको तुलनामा बढेको छ भने ९ वटाको घटेको विवरणमा उल्लेख छ । अघिल्लो वर्षको तुलनामा गत वर्षको चैत मसान्तसम्म वाणिज्य बैंकको मुनाफा १३.४७ प्रतिशतले घटेको थियो । आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म २० वाणिज्य बैंकले ४७ अर्ब एक करोड ५३ लाख मुनाफा कमाएको थियो ।
चालु वर्षको तेस्रो त्रैमाससम्ममा मुनाफा कमाउनेमा नबिल, नेपाल इन्भेस्टमेन्ट मेगा, ग्लोबल आइएमई, एभरेस्ट, माछापुच्छ्रे, सानिमा, एनएमबि, लक्ष्मी र नेपाल बैंक लगायत छन् । चैत मसान्तसम्म सबैभन्दा बढी मुनाफा नबिल बैंकले आर्जन गरेको छ । यो बैंकले पाँच अर्ब १२ करोड ५१ लाख मुनाफा आर्जन गरेको छ । गत वर्षको चैत मसान्तसम्म चार अर्ब ६६ करोड ८० लाख मुनाफा आर्जन गरेको थियो ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ५४ करोड मुनाफा कमाएको छ । मुनाफा वृद्धि दरको आधारमा यो बैंक दोस्रो सूचीमा छ । मुनाफामा ग्लोबल आईएमई बैंक पनि अगाडि नै छ । ग्लोबलले ४ अर्ब ५३ करोड ४० लाख मुनाफा आर्जन गरेको छ । यो गत आवको तुलनामा ३७.१२ प्रतिशत बढी हो । हिमालयन बैंकको मुनाफा ५० करोड, कुमारीको २८ करोड ५८ लाख, राष्ट्रिय वाणिज्य बैंकको १ अर्ब २० करोड ४३ लाख रहेको छ । एभरेष्टले ३ अर्ब ४५ करोड ७६ लाख मुनाफा कमाएको छ । यस्तै माछापुच्छ्रे बैंकले २८.८९ प्रतिशत, सानिमाले १४.८ प्रतिशत, एनएमबिले ५.८७ प्रतिशत, नेपाल एसबिआईले ३.३६ प्रतिशत र लक्ष्मी सनराइजले २.२४ प्रतिशत मुनाफा बढाएका छन् ।
तर घाटामा जाने बैंकहरूमा प्राइम बैंकको मुनाफा २२.५६ प्रतिशत, सिटिजन्सकाे २०.५९ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्डको ११.१७ प्रतिशत, कृषि विकासको १०.१७ प्रतिशत र सिद्धार्थको ०.९४ प्रतिशतले घटेको छ । यो गत वर्षको यही अवधिको तुलनामा घटेको हो ।
यसै गरी वाणिज्य बैंकहरुले कर्जा नोक्सानी व्यवस्था गर्न ३५ अर्ब ७ करोड ३० लाख छुट्याएका छन् । यो रकम गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिको तुलनामा ४ अर्ब ८० करोडले थोरै हो । बैंकहरुले गत वर्ष ३९ अर्ब ८७ करोड ६३ लाख कर्जा नोक्सानीका लागि व्यवस्था गरेका थिए । राष्ट्र बैंकले निर्माण क्षेत्रको कर्जा पुनर्संरचना र पुनर्तालिकीकरणको सुविधा दिँदा त्यसको प्रभाव बैंकको मुनाफामा परेको छ ।