Ad Image

पोखराका विभिन्न क्षेत्रका बासिन्दालाई स्वच्छ पिउनेपानी उपलब्ध गराउने त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर

User Image Mayorsap | ३ हप्ता अगाडि
Image of storage/news/1745583346.jpg

पोखरा । पोखरा महानगरपालिकाको काँहुडाँडा, कृष्ति, भरतपोखरी, निर्मलपोखरी र मट्टीखान लगायत क्षेत्रका बासिन्दालाई स्वच्छ पिउनेपानी उपलब्ध गराउने उद्देश्यले लागत साझेदारीमा परियोजना सञ्चालन गर्न त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।


नेपाल सरकारको केन्द्रीय खानेपानी आयोजना अन्तर्गत वृहद भरतपोखरी, निर्मलपोखरी, कृष्ति, मट्टीखान खानेपानी आयोजना (पोखरा वडा नं. २१ र ३३) तथा जलवायु अनुकूलित आयोजनाअन्तर्गत काँहुधरहरा खानेपानी आयोजना (पोखरा वडा नं. ११) का निर्माण, सञ्चालन तथा कार्यान्वयनका लागि उक्त समझदारी भएको हो ।


समझदारी पत्रमा नेपाल सरकारका तर्फबाट संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना पोखराका कार्यवाहक आयोजना प्रमुख पदम बहादुर कुँवर क्षेत्री, पोखरा महानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं र सम्बन्धित उपभोक्ता समितिका अध्यक्षहरूले हस्ताक्षर गरेका छन् । नगर प्रमुख धनराज आचार्य र सिनियर डिभिजनल इन्जिनियर कुलप्रसाद पौडेलको रोहबरमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको थियो ।


लागत विवरण :

वृहद भरतपोखरी, निर्मलपोखरी र कृष्ति खानेपानी आयोजनाको कुल लागत रु. ५१ करोड ७७ लाख ७६ हजार २०२ रहेको छ, जसको पहिलो चरणमा रु. २८ करोड ४९ लाख ९१ हजार ८२८ अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित भइसकेको छ ।


काँहुधरहरा खानेपानी आयोजनाको लागि रु. ४९ करोड १७ लाख १७ हजार ६०३ लागत अनुमान गरिएको छ, जसमा रु. २१ करोड ६ लाख २४ हजार १४० स्रोत सुनिश्चित भएको छ ।


त्यसैगरी मट्टीखान खानेपानी आयोजनाको कुल लागत रु. २८ करोड ५४ लाख ६५ हजार १७३ मध्ये रु. १९ करोड ७६ लाख ४१ हजार ८७६ स्रोत सुनिश्चित भइसकेको छ ।

 

तीन वटै परियोजनाको कुल अनुमानित लागत रु. १ अर्ब २९ करोड ४९ लाख ५८ हजार ९७८ रहेको छ । उक्त लागतमध्ये ९० प्रतिशत संघीय आयोजनाले व्यहोर्नेछ भने बाँकी १० प्रतिशत पोखरा महानगरपालिकाले चालु आर्थिक वर्षभित्र बेहोर्नेछ ।


संघीय आयोजना कार्यालयले २०८१ साल फागुन ८ गते सार्वजनिक टेन्डर आह्वान गरिसकेको छ । कार्यान्वयनको मितिबाट ३० महिनाभित्र योजनाहरू सम्पन्न गर्ने लक्ष्य लिइएको छ । योजना सम्पन्न भएपछि करिब ५ हजार घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् । आयोजना 'एक घर, एक धारा' अवधारणामा सञ्चालन गरिनेछ ।


पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पानीजस्तो आधारभूत सेवाको पहुँच सबैलाई पुर्याउन आफूहरू प्रतिबद्ध रहेको बताए । "पोखराको भूगोल विविधतायुक्त छ, समथर मैदानदेखि अग्ला पहाडी भेगसम्म सबै स्थानमा सहज रूपमा खानेपानी पुर्याउन चुनौती छ। तर हामी ठूला लगानीका आयोजना जनसहभागितासहित अगाडि बढाइरहेका छौं, " उनले भने ।


जनसहभागिताको रकम महानगरपालिकाले व्यहोर्ने भएपछि उपभोक्ताहरूमा उत्साह थपिएको भन्दै उपभोक्ता समितिका अध्यक्षहरूले सकारात्मक प्रतिक्रिया दिएका छन् ।