Ad Image

राष्ट्रलाई कमजोर पार्ने प्रवृत्तिको तिखै आलोचना गर्नुपर्छ: प्रधानमन्त्री ओली

User Image Mayorsap | ३ हप्ता अगाडि
Image of storage/news/1745664099.jpg

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले राष्ट्रलाई कमजोर पार्ने प्रवृत्तिको तिखै आलोचना गर्नुपर्ने बताएका छन् । शनिबार नयाँ बानेश्वरमा बसेको नेकपा एमालेको संसदीय दलको बैठकमा सांसदहरुलाई प्रशिक्षित गर्दै अध्यक्ष ओलीले राष्ट्रलाई विभिन्न ढंगले कमजोर पार्ने खालका क्रियाकलाप र प्रवृत्तिहरुको आलोचना गर्नुपर्ने बताएका हुन् ।

 

उनले भने, ‘हामीले राष्ट्रियताको पक्षमा स्पष्ट दृष्टिकोण राख्ने, अडान राख्ने, उभिने काम गर्नु पर्दछ । राष्ट्रलाई विभिन्न ढंगले कमजोर पार्ने खालका क्रियाकलाप र प्रवृत्तिहरु त्यस्ता कुरालाई आलोचना गर्नुपर्दछ । त्यस्ता कुरालाई हामीले तिखै आलोचना गर्नुपर्दछ । किनभने देश भन्दा ठूलो अर्को कुरा हुँदैन ।’

 

प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरु अहिले फत्रक्क गलेको टिप्पणी समेत गरेका छन् ।

 

“सरकार बाङ्गिसक्यो । शेरबहादुरजी थाइल्याण्डबाट आइपुग्नेबित्तिकै ढल्छ भनेर भनेका थिए । मैले त भ्रम फिँजाउनेहरुका पछाडि नलाग्नुस् । आफ्नो मिसनमा लाग्नुस् भनेकै थिएँ । शेरबहादुरजीले सरकार ढल्दैन भनेपछि भ्रम फैलाउनेहरु फत्र्याक्क भएका छन्, सरकार ढल्दैन भनेपछि सकियो । त्यसकारण एउटै कुराको जवाफ धेरै पटक खोज्नतिर हामी लाग्नुहुँदैन”, प्रधानमन्त्री ओलीले भने, “मुलुकमा राजनीतिक स्थायित्व, विकास, सुशासन र समृद्धिका लागि दुई ठूला दलको सहकार्यमा बनेको सरकारले आगामी आर्थिक वर्षका लागि सन्तुलित बजेट निर्माण गरिरहेको छ । हामी सबैको ध्यान त्यसमा केन्द्रित छ । हल्लाको पछाडि कोही लाग्नुपर्दैन ।”


प्रतिगमनकारीहरुले आन्दोलनका नाममा हिंसात्मक तथा संविधान विरोधी गतिविधि गरेकाले त्यसको सशक्त प्रतिकार गर्नुपर्नेमा जोड दिँदै संसदीय दलका नेता नेता ओलीले अवाञ्छाति गतिविधि गर्नेलाई कानुनको दायरामा ल्याउन सरकार पछि नपर्ने बताए ।

 

अमेरिकी सरकारसँग भएको सम्झौता र दुवै देशका संसद्बाट पारित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) अमेरिकी पक्षबाट बन्द गरिएको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अब नेपालले आफ्नो विकास अरुको आशमा नभई आफैले गर्नतिर लाग्नुपर्ने समेत बताए ।

 

‘एमाले मिसन २०८४’ मार्फत बलियो राष्ट्रिय शक्तिका रुपमा रुपान्तरण हुन लागेकाले आन्तरिक एकता र पारस्परिक सहकार्यमा लाग्नुपर्नेमा उनले जोड दिए । उनले पार्टी दस्तवेजहरुको अध्ययन गर्न र परिस्थितिलाई बुझेर जनताका समस्या कसरी उठाउने र समाधान गर्ने भन्नेतर्फ केन्द्रित भई मर्यादित, सुसंस्कृत एवं तथ्यमा आधारित भएर सदनमा प्रस्तुत हुन निर्देशन दिए ।