Ad Image

नीति तथा कार्यक्रमप्रति प्रतिपक्षको टिप्पणी, ‘नयाँपन केही छैन, जनतामा आशा जगाउन सक्दैन’

User Image Mayorsap | २ हप्ता अगाडि
Image of storage/news/1746190540.jpg

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नयाँपन नभएको तथा परम्परागत रूपमा आएको प्रतिक्रिया दिएको छ ।

 

सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा पेस भएको सरकारको नीति तथा कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, “नीति तथा कार्यक्रममा कुनै नयाँपन केही छैन । परम्परागत रूपमा आएकाले जनतामा आशा जगाउन सक्दैन ।”

 

परम्परा र अतीतमुखी रहेकाले भविष्य कोर्ने स्पष्ट मार्गनिर्देशन कार्यक्रममा नदेखिएको बताउँदै प्रवक्ता सापकोटाले नीति तथा कार्यक्रमलाई सारसङ्ग्रहवादी दस्तावेजको संज्ञा दिँदै यसले जनताको आशा जगाउन नसक्ने बताए ।

 

पूर्व अर्थमन्त्री वर्षमान पुनले सरकारले सुशासनका कुरा गरे पनि कार्यक्रममा कुनै छाँटकाँट नदेखिएको बताएका छन् । उनले भने, ‘नीतिमा गन्तव्य स्पष्ट देखिएन । कार्यक्रममा नबोलेपछि बजेटमा आफूखुसी राख्न खोजेको हो कि जस्तो देखिन्छ । संसदलाई छलेर नीति र कार्यक्रममा नभएको कुरा पछि बजेटमा राख्नु नैतिक होइन ।’

 

नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मुलुकका दुई ठूला र फरक विचारधारा रहेका दलहरू सम्मिलित भई बनेको सरकारले नीति तथा कार्यक्रम गुणात्मक ल्याउछ भन्ने अपेक्षा गरिएकामा त्यसो नभई निरन्तरतामा आधारित भएर आएको प्रतिक्रिया दिए । उनले भने, “कार्यक्रममा आउन त सबै कुराहरू आएको छ, तर परम्परागत सुधारात्मक ढङ्गले आयो । देशको आवश्यकता सुशासन र आर्थिक क्षेत्रमा गुणात्मक महत्वको परिवर्तनसहित आउछकी भन्ने अपेक्षा थियो, मैले त्यो पाइन ।”

 

ती सुधारात्मक कदमले हालको चुनौती सम्बोधन गर्न नसक्ने बताउँदै पूर्वप्रधानमन्त्री डा भट्टराईले कार्यक्रममा सबै विषय समेटिए प्राथमिकीकरण नभएका कारण कार्यान्वयनमा अलमल हुने बताए । उनले भने, “नीति तथा कार्यक्रम सामान्य रूपमा पास अङ्क ल्याउने भए पनि उच्चतम अङ्क प्राप्त गर्न नसक्ने खालको छ ।”

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का सांसद शिशिर खनालले सरकारको नीति तथा कार्यक्रमबारे नजान्ने विद्यार्थीले सार्दा पनि नसारेको जस्तो देखिएको बताए ।

 

खनालले भने, ‘यो कार्यक्रम पुरानोबाट सारिएको, त्यो पनि कस्तो भने नजान्ने विद्यार्थीले सार्दा पनि राम्रोसँग नसारेको जस्तो देखियो । यसमा मुख्य त विश्व भूराजनीतिक परिस्थितिलाई आङ्कलन गरेर नेपालको स्थान के हो, त्योअनुसारको कदम चाल्नेगरी आउनुपर्थ्यो, त्यो मिसिङ छ । अर्को पटक–पटक असफल भइसकेको कार्यक्रमलाई निरन्तरता दिइयो, जुन हुनुहुँदैनथ्यो ।’