अष्ट्रेलियाकाे संघीय चुनाव: अपाङ्ग एकल महिला अली फ्रान्ससँग हारे प्रधानमन्त्रीका दावेदार डटन


एजेन्सी । "यो हाम्रो रात होइन," शनिबार अष्ट्रेलियाका विपक्षी नेता पिटर डटनले आफ्ना प्रतिद्वन्द्वी एन्थोनी अल्बानीज प्रधानमन्त्रीमा पुन: निर्वाचित भएपछि ब्रिस्बेनमा समर्थकहरूको कोठामा बोल्दै भने।
अष्ट्रेलियाको २०२५ को संघीय चुनावमा अल्बानीजमा लेबर पार्टीकी अपाङ्ग उम्मेदवार अली फ्रान्ससँग २४ वर्षदेखिको सुरक्षित आफ्नो संसदीय सिट हारेका ५४ वर्षीय राजनीतिक अनुभवी डटनका लागि यो साँच्चै पीडादायी रात थियो।
लिबरल-नेशनल गठबन्धनका प्रमुख डटनले २४ वर्षसम्म यो पद सम्हालेका थिए । तर यो पटक महत्वपूर्ण पद गुमाउने उनी पहिलो संघीय विपक्षी नेता हुन्।

२४ वर्षदेखि आफ्नै सिटमा हारेका गठबन्धनका नेता पिटर डटनले आफ्नो पार्टीको हारको "पूर्ण जिम्मेवारी" स्वीकार गर्दै आफ्ना सांसदहरूसँग माफी मागेको बताए। विगत २४ वर्षदेखि, यो पद डटनको हातमा थियो, जो अहिले लिबरल पार्टीका नेता र प्रमुख विपक्षी नेता हुन्। लिबरल राष्ट्रिय गठबन्धनबाट चुनाव उठेका पिटर डटन अष्ट्रेलियाका लागि नयाँ प्रधानमन्त्रीका आकांक्षीसमेत थिए ।
पिटर डटनकाे हारमा "ट्रम्प प्रभाव" परेकाे धेरैकाे प्रतिक्रिया छ । डटनलाई मन परोस् या नपरोस्, धेरैले उनलाई 'अष्ट्रेलियाकाे ट्रम्प'का रूपमा हेरेका थिए - तर अष्ट्रेलियालीहरूले "ट्रम्प प्रभाव" आफ्नाे देशमा चाहेको देखिएन।
डटनलाई कट्टरपन्थी रूढिवादी विचार भएको, विवादास्पद आप्रवासन नीतिहरूको वकालत गरेकाे - जस्तै शरणार्थीहरूलाई हिरासत केन्द्रहरूमा पठाउने - र चीनको कडा आलोचकका रूपमा हेरिन्छ । यीनै कारणले उनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तुलना गरिएकाे थियो ।
डटनले उनी निर्वाचित भएमा सार्वजनिक क्षेत्रका रोजगारीहरू कटौती गर्ने भनेका थिए । यसले मतदाताहरूलाई अर्बपति एलोन मस्कको डोज, वा सरकारी दक्षता विभागको सम्झना गरायो र उनले ट्रम्पकाे नीति पछ्याएको भन्दै मतदाताहरू डराएको देखियो । डटनले पछि याे योजनालाई फिर्ता लिएका थिए ।
चुनावमा विपक्षी नेता डटनलाई पदबाट हटाउने पहिलो व्यक्ति लेबर पार्टीकी उम्मेदवार अली फ्रान्स एक अपाङ्गता, पूर्व पत्रकार र विश्व च्याम्पियन प्यारा-एथलीट हुन्। उनी पूर्व लेबर क्वीन्सल्याण्ड सांसद पिटर ललरकी छोरी हुन्।
एक खुट्टा गुमाएकी फ्रान्स पत्रकारिता क्षेत्रमा लामाे समय आवद्ध भइन् । उनले गत वर्ष आफ्नो जेठो छोरा हेनरीलाई ल्युकेमियाका कारण गुमाइन् । उनको अर्को छोरा ज्याक छन्, जो २०११ मा भएको कार दुर्घटनामा पर्दा उनीसँगै बाँच्न सफल भएका थिए ।

विजयी भएपछि उनले आफ्नाे सभामा बाेल्दै छोरा गुमाएको पीडा सुनाएकी थिइन् । उनले याे तेस्राे पटकको चुनावी प्रतिस्पर्धामा जित हात पारेकी हुन् । उनले महिनौं अघिदेखि नै इलेक्टोरेटमा तेस्रो प्रयासको लागि तयारी सुरू गरेकी थिइन्।
२०१९ काे चुनावी प्रतिस्पर्धामा, पूर्व पत्रकार, सञ्चार प्रबन्धक र प्यारा एथलीट फ्रान्सले आफ्नो पहिलो अभियानमा ४५.४% मत जितेकी थिइन्। २०२२ मा, उनको मत हिस्सा ४८.३% पुग्यो। र याे पटक त उनले जित नै हात पारिन् । २०२२ को चुनावमा दुई बीच केवल ३,३६० मत फरक थियो।
२०११ मा कार दुर्घटनापछि फ्रान्सको खुट्टा काटिएको थियो । उनी ४ वर्षका कान्छा छाेरा ज्याकसँग शपिङ सेन्टरको कार पार्कमा थिइन्, जब ८८ वर्षीय एक चालकले आफ्नो कारको नियन्त्रण गुमाए र उनलाई अर्को कारमा ठोक्काइदिए। ठक्कर खानुभन्दा केही क्षण अघि उनले ज्याकलाई कारकाे ठक्करबाट हटाउन त सफल भइन तर आफू हट्न भने सकिनन् । ज्याक चोटबाट बच्न सफल भए तर फ्रान्स गम्भीर घाइते भइन् र बचाउने प्रयास गरिएका दुई शल्यक्रिया असफल भएपछि उनको खुट्टा काटियो। फ्रान्सको फेमोरल धमनी काटिएको थियो र शल्यचिकित्सकहरूले उनको देब्रे खुट्टा घुँडा माथिबाट काट्नु परेको थियो।
५१ वर्षीया फ्रान्स एकल आमा हुन्। २०११ मा दुर्घटनामा आफ्नो खुट्टा गुमाएकी फ्रान्सले अपाङ्गता भएका व्यक्तिहरूको पक्षमा वकालत गर्न राजनीतिक पदमा उम्मेदवारी दिन प्रेरित भएको बताइन्।
फ्रान्सले कर कटौती, औषधिको लागत घटाउने, बिजुलीमा छुट दिने, तलबी अभिभावकीय बिदा विस्तार गर्ने र शिक्षा तथा सार्वजनिक स्वास्थ्य सेवामा लगानी गर्ने, माध्यमबाट जीवनयापनको लागत कम गर्ने घोषणा गरेकी छिन् ।