Ad Image

मनसुनको समयमा दक्षिण एसियामा सामान्यभन्दा बढी वर्षा र गर्मी हुने सम्भावना

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1746783087.jpg

काठमाडौं । विश्व मौसम विज्ञान संगठन (WMO) ले यो वर्ष जुनदेखि सेप्टेम्बरसम्मको दक्षिणपश्चिम मनसुन अवधिमा दक्षिण एसियाका अधिकांश भागहरूमा सामान्यभन्दा बढी वर्षा र औसतभन्दा बढी तापक्रम हुने पूर्वानुमान गरेको छ।

 

यो पूर्वानुमान दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च (SASCOF-31) द्वारा जारी गरिएको हो, जसमा अफगानिस्तान, बंगलादेश, भुटान, भारत, माल्दिभ्स, म्यानमार, नेपाल, पाकिस्तान र श्रीलंकाका राष्ट्रिय मौसम तथा जलविज्ञान सेवाहरू (NMHSs) को सहभागिता रहेको छ ।

 

WMO का अनुसार, प्रशान्त महासागरमा हाल तटस्थ 'एल निन्यो–दक्षिणी दोलन-(जलवायु प्रणालीसँग सम्बन्धित एक विश्वव्यापी घटना हो, जसले समुन्द्री तापक्रम, हावाको गति र वर्षाको ढाँचामा उल्लेखनीय परिवर्तन ल्याउँछ)' (ENSO) व्याप्त छ, र यो स्थिति मनसुन अवधिभर कायम रहने अपेक्षा गरिएको छ। ENSO, हिन्द महासागर द्विध्रुवीयता (IOD) र उत्तरी गोलार्धको हिमपातको गिरावटजस्ता कारकहरूले मनसुनको व्यवहारमा प्रभाव पार्नेछन् ।

 

जनवरीदेखि मार्चसम्म उत्तरी गोलार्धमा हिमपात विगत ५९ वर्षमा क्रमशः चौथो र छैठौं सबैभन्दा कम स्तरमा रेकर्ड गरिएको छ, जसले नदीहरूमा पानीको प्रवाहमा परिवर्तन ल्याउन सक्छ ।

 

WMO ले मनसुनको समयमा अत्यधिक वर्षा र उच्च तापक्रमले बाढी, पहिरो र गर्मीका लहरहरूजस्ता चरम मौसम घटनाहरूको सम्भावना बढाउने चेतावनी दिएको छ। यसले कृषि, ऊर्जा, जनस्वास्थ्य र जोखिम व्यवस्थापनमा पूर्वतयारी र योजना आवश्यक बनाउँछ ।

 

नेपाल मौसम पूर्वानुमान महाशाखाका अनुसार, २०२५ को मनसुन सिजनमा नेपालमा सामान्यभन्दा बढी वर्षा हुने सम्भावना छ। विशेष गरी पश्चिमी नेपालमा यो वर्षा औसतभन्दा बढी हुने अपेक्षा गरिएको छ, जसले कृषि उत्पादनमा सकारात्मक प्रभाव पार्न सक्छ। तर, अत्यधिक वर्षाले बाढी, पहिरो र अन्य प्राकृतिक विपद् निम्त्याउने जोखिम पनि बढाउँछ।

 

यसैबीच, पूर्वमनसुन अवधिमा नेपालमा औसतभन्दा बढी वर्षा र उच्च तापक्रमको अनुभव गरिएको छ। यसले गर्दा केही स्थानहरूमा बाढी र पहिरोको घटना पनि देखिएको छ।आगामी मनसुन अवधिमा दक्षिण एसियामा अत्यधिक वर्षा र गर्मीका कारण विभिन्न क्षेत्रहरूमा जोखिम बढ्न सक्ने भएकाले सम्बन्धित निकायहरूले पूर्वतयारी र सचेतना अभियानहरूलाई प्राथमिकता दिनु आवश्यक छ।