Ad Image

पाकिस्तानमाथि भारतले आक्रमणमा प्रयोग गरेको इजरायली ‘हारोप ड्रोन’ के हो?

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1746788493.png

एजेन्सी । पाकिस्तानमाथि हालै भारतीय सेनाले इजरायली प्रविधिको 'हारोप’ ड्रोन प्रयोग गरेर आक्रमण गरेको पुष्टि भएसँगै उक्त ड्रोन फेरि चर्चामा आएको छ । पाकिस्तान सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भारतबाट पठाइएका ३५ हारोप ड्रोनमध्ये करिब एक दर्जन खसालिएको दाबी गरेका छन् ।

 

उनका अनुसार ड्रोनहरू पाकिस्तानका लाहोर, गुजरानवाला, चकवाल, रावलपिंडी, अटोक, बहावलपुर, मियाँवाली, चोर र कराँची नजिक खसेका थिए । धेरै ड्रोनका भग्नावशेष संकलन भइरहेको उनको भनाइ छ ।

 

पछिल्लो विवरण अनुसार, पञ्जाब प्रान्तका विहारी, पाकपट्टन र ओकारा जिल्लामा शुक्रबार मात्रै ६ हारोप ड्रोन खसालिएको पाकिस्तान सशस्त्र बलले जनाएको छ ।

 

हारोप ड्रोन इजरायल एयरोस्पेस इन्डस्ट्रीज आईएआईको एमबीटी मिसाइल डिभिजनद्वारा विकसित ’क्यामिकाजे यूएभी’ हो । यो ड्रोन दुश्मनको हवाई सुरक्षा प्रणाली, रडार वा अन्य संवेदनशील सैन्य संरचना नष्ट गर्न प्रयोग गरिन्छ ।

 

मानवरहित यो ड्रोनले लक्ष्य पहिचान गरी सिधै ठोक्किने प्रविधि प्रयोग गर्छ । यसलाई ट्रक वा पानीजहाजबाट प्रक्षेपण गर्न सकिने फोल्डिङ पखेटा भएको क्यानिस्टरमा राखिएको हुन्छ । हारोप पूर्ण स्वचालित रूपमा वा ‘मानव इन द लूप’ मोडमार्फत पनि सञ्चालन गर्न सकिन्छ । लक्ष्यमा प्रहार असफल भएमा यो सुरक्षित रूपमा पुनः फर्कन सक्ने क्षमतायुक्त छ ।

 

पाकिस्तानको मेहरान इन्जिनियरिङ एण्ड टेक्नोलोजी विश्वविद्यालयका सह–प्राध्यापक डा. फहाद इरफान सिद्दीकीका अनुसार, हारोप अत्यन्तै संवेदनशील ‘मिलिटरी–ग्रेड’ ड्रोन हो, जुन स्याटेलाइटमार्फत सञ्चालित हुन्छ र अवरुद्ध गर्न निकै कठिन हुन्छ ।

 

पाकिस्तानी सेनाको दाबीअनुसार, ती सबै ड्रोन राडार प्रणालीमार्फत पहिचान गरी खसालिएका हुन् । डीजी आईएसपीआरका अनुसार, निगरानी र विरोधी ड्रोन प्रतिकार प्रणालीको प्रयोगबाट भारतीय ड्रोनहरू नष्ट गरिएको हो ।

 

टीआरटी ग्लोबलको रिपोर्टअनुसार, भारतले पछिल्लो दशकमा इजरायलबाट करिब २.९ अर्ब अमेरिकी डलर बराबरको सैन्य हार्डवेयर खरिद गरिसकेको छ । यसमा हारोप ड्रोन, निगरानी प्रणाली, मिसाइल लगायतका उपकरणहरू समावेश छन् ।

 

हारोप ड्रोनको प्रभावकारिता सन् २०१६ र २०२० मा अजरबैजान–आर्मेनिया युद्धमा देखिएको थियो । अजरबैजानले यी ड्रोन प्रयोग गरी सैन्य रूपमा उल्लेखनीय सफलता हासिल गरेको थियो ।

 

अहिले पनि भारतले पाकिस्तानमाथि ड्रोन आक्रमण जारी राखेको पाकिस्तानको दाबी छ । भारतीय ड्रोनले सैनिकहरूसहितको गाडीमाथि आक्रमण गरी आधा दर्जनभन्दा बढी सैनिक मारिएको भन्ने अनौपचारिक रिपोर्टहरू आए पनि यसको स्वतन्त्र पुष्टि भइसकेको छैन ।