रिब्दीकोट गाउँपालिकाद्वारा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना


पाल्पा । रिब्दीकोट गाउँपालिकाले आर्थिक वर्ष २०८१\८२ को हालसम्मको योजना तर्जुमा, विकास निर्माणमा देखिएका उपलब्धि, समस्या र आगामी सुधारका सम्भावनाबारे छलफल गर्न सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गर्ने भएको छ ।
गाउँपालिकाले सेवा प्रवाहलाई पारदर्शी, गुणस्तरीय र प्रभावकारी बनाउँदै सुशासन कायम गर्ने लक्ष्यका साथ सरोकारवाला पक्षहरूसँग प्रत्यक्ष संवाद गर्न कार्यक्रम तय गरेको हो ।
कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, निर्वाचित जनप्रतिनिधिहरू, पत्रकार, नागरिक समाजका अगुवाहरू, स्थानीय संघसंस्था, विभिन्न समिति तथा उपसमितिका सदस्यहरू, उपभोक्ता समूहका प्रतिनिधिहरू र आम पालिकावासीहरूलाई सहभागी हुन अनुरोध गरिएको छ ।
सार्वजनिक सुनुवाइमार्फत स्थानीय तहको विकास निर्माण तथा सेवा प्रवाहमा रहेका जिज्ञासा, गुनासा, प्रतिक्रिया र सुझाव सङ्कलन गरिनेछ ।
सङ्कलित सुझावहरूलाई नीतिगत तथा कार्यगत रूपमा आत्मसात् गर्दै आगामी दिनमा थप सुधार गर्दै जाने गाउँपालिकाको भनाइ छ ।
