त्रियुगा नगरपालिकाले मापदण्ड विपरीतका संरचना हटाउँदै


उदयपुर । त्रियुगा नगरपालिकाले नगर क्षेत्रभित्र निर्माण मापदण्ड विपरीत निर्माण गरिएका भौतिक संरचनाहरू हटाउने भएको छ । नगर कार्यपालिकाको निर्णय अनुसार मिति २०८२ जेठ १ गतेदेखि उक्त कार्य सुरु गरिने भएको हो ।
नगरपालिकाले जारी गरेको सूचनाअनुसार त्रियुगा बसपार्क क्षेत्र, ३ नं. वडा अन्तर्गतको मदन भण्डारी सभाहल क्षेत्र, तथा १३ नं. वडा मा रहेको मापदण्ड विपरीत निर्माण गरिएका घर, टहरा, भवन र अन्य संरचनाहरू हटाइनेछ ।
त्रियुगा नगरपालिकाको भवन तथा बाटोसम्बन्धी मापदण्ड, २०७४ विपरीत निर्माण गरिएका स्थायी वा अस्थायी संरचनाहरू नगरको योजनाबद्ध विकासमा बाधक भएको भन्दै हटाउने निर्णय लिइएको हो ।
नगरपालिकाले सम्बन्धित घरधनी, संरचना निर्माणकर्ताहरू तथा सर्वसाधारणलाई आवश्यक जानकारी दिँदै समयमै संरचना हटाउन आग्रह गरेको छ ।