गभर्नरमा मेरो मान्छे ल्याउँदिन, योग्य मान्छे ल्याउँछु : प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैङ्कको रिक्त गभर्नरमा व्यक्तिगत निकटताका आधारमा नभई योग्यता क्रमका आधारमा क्षमतावान् व्यक्तिको नियुक्ति गर्ने पक्षमा आफू रहेको बताएका छन् ।
पूर्वयोजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “राष्ट्र बैङ्कमा मेरो कोही ल्याउनु छैन । ‘मेरिटोक्रेसी’का आधारमा क्षमतावान् मान्छे ल्याउने हो । काम गर्न सक्ने मान्छे भए देशलाई भइहाल्छ । मेरो मान्छे भन्ने चाहिँदैन । म प्रधानमन्त्री हो तर सरकारमा म मात्र छैन । त्यसैले सकेसम्म ‘मेरिटोक्रेसी’लाई महत्त्व दिन्छु ।”
प्रधानमन्त्री ओलीले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्ष र सदस्यमा पनि सिफारिस समितिबाट प्राप्त प्रतिवेदनका आधारमा क्षमतावान् व्यक्ति नियुक्ति भएको स्पष्ट गरे ।
उनले एक आयोगका अध्यक्षलाई मुख्यसचिव हुँदा चिनेको बाहेक अरू पदाधिकारीसँग आफ्नो व्यक्तिगत चिनजान र सम्बन्ध नरहेको स्पष्ट गरे ।
प्रधानमन्त्री ओलीले पूर्वयोजनाकारको संस्थाबाट आफ्ना सोच र अनुभवको आदानप्रदान होस् भन्ने कामना गर्दै व्यक्तित्व टकराब नगरी संस्थाको दिगोपनाको कामना गरे ।