भोजपुरको चुलाचुली गुफा प्रचारको अभावले ओझेलमा


भोजपुर । जिल्लाको रामप्रसादराई गाउँपालिका ४ दल गाउँको दितेनीस्थित चुलाचुली गुफा ओझेलमा परेको छ । स्थानीय सरकारले यो गुफाको संरक्षण तथा विकास गरिरहेको भए पनि प्रचार अभावमा यो स्थल ओझेलमा परेको हो । हेर्दा नै अनौठो लाग्ने यो स्थानले धेरैको मन लोभ्याउने गर्दछ ।
भौगोलिक रूपमा विकट क्षेत्रमा रहेकोले यो स्थान देश विदेशमा परिचित बन्न नसकेको स्थानीयवासी अनिल राईले बताए । यहाँ रहेका ढुङ्गामा विभिन्न देवी देवताको आकृति देख्न सकिने उनको भनाइ छ । त्योसँगै यो स्थल अवलोकनको क्रममा विभिन्न आश्चर्यजनक ठाउँहरूसमेत हेर्न सकिने उनले जानकारी दिए ।
“चुलाचुली गुफा हेर्दा नै आश्चर्यजनक स्थल देखिन्छ” उनले भने, “ सायदै नेपालमा यस्ता ठाउँ कमै होलान् । यहाँका ढुङ्गामा प्राकृतिक रूपमा कुदिएका विभिन्न देवी देवताको आकृति देख्न सकिन्छ । ढुङ्गाहरूमा मादलको झैँ आवाज आउँछ । यहाँ दर्शन गरे मनोकाङ्क्षा पुरा हुने धार्मिक विश्वास पनि छ । तर यो स्थान ओझेलमा परेको अवस्था छ ।”
डाँडामा रहेको यो स्थानको करिब दुई रोपनी क्षेत्रमा रहेको ढुङ्गाहरू खोलाका बगर झैँ कुदिएका छन् । गुफा भित्र शिव तथा विभिन्न देवीदेवताको मूर्तिसँगै, हात्ती जस्तो सुडो, गाईको थुन, नागको चित्रलगायतको आकृति रहेको स्थानीयवासीको भनाइ छ । यहाँ राम नवमी, नयाँ वर्षलगायत विभिन्न अवसरमा मेला लाग्ने गरेको स्थानीयवासी विनोद राई बताउँछन् ।
“यो गुफा हेर्दा नै अनौठो खालको छ” उनले भने, “स्थानीय सरकारले संरक्षणको काम गरिरहेको छ । २०७२ सालको भूकम्पको कारण गुफामा पस्ने बाटो केही ठाउँमा टालिएको छ । भित्र पस्नको लागि बत्ती जडान गर्नु पर्ने आवश्यकता छ । यो ठाउँलाई सानो हलेसीको रूपमा पनि लिने गरिन्छ ।”
वडाको एक महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल रहेकोले यसको संरक्षणको काम भइरहेको वडाध्यक्ष बाबुकुमार राईले बताए । यहाँ मन्दिर निर्माण, घेराबारा, शौचालय तथा विश्राम स्थल निर्माणको काम गरिएको उनले जानकारी दिए ।
“यो हाम्रो वडाको निकै महत्त्वपूर्ण धार्मिक स्थल हो” वडाध्यक्ष राई भन्छन्, “हामीले आफ्नो तहबाट संरक्षणको काम गरिरहेका छौँ । खास गरेर यो स्थान प्रचार प्रसारको अभावमा ओझेलमा परेको अवस्था छ ।”
नेपाल जलवायु अनुकूलन नमुना कार्यक्रम अन्तर्गत यहाँ संरक्षण तथा विभिन्न संरचना निर्माणको काम भइरहेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए । यो वर्ष सो कार्यक्रमबाट रु.दश लाख लागतमा संरक्षणको काम भइरहेको उनको भनाइ छ । यो क्षेत्रको बृहत्तर विकास लागि विस्तृत परियोजना प्रतिवेदन(डीपिआर) तयार गरेर आवश्यक काम गरिरहेको अध्यक्ष राईले जानकारी दिए ।
“यो क्षेत्र प्रचार प्रचार अभावमा ओझेलमा परेको छ”अध्यक्ष राईले भने, “यहाँको विस्तृत परियोजना प्रतिवेदन तयार गरेर नै विकासका काम गर्दै आएका छौँ । यो ठाउँलाई गाउँपालिकाको आर्थिक श्रोतको रूपमा विकास गर्ने हाम्रो लक्ष्य छ । यसको योजनाबद्ध विकासमा गाउँपालिका जुटेको अवस्था छ ।”
गुरु योजना बनाएर नै गाउँपालिका भित्रका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा गाउँपालिकाले काम गरिरहेको अध्यक्ष राईले जानकारी दिए ।