विकासका कामले ‘जेनजी’का आकांक्षा समेट्नुपर्छ : वर्षमान पुन


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले सरकारको बजेट तथा कार्यक्रमले जेनजी (जेनेरेसन १९९०–२०१०) लक्षित कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२\०८३ का लागि विनियोजन विधेयकमा सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा भाग लिँदै पूर्वअर्थमन्त्री पुनले प्रविधिसँग हुर्किएका ‘जेनजी’सँगै पछिल्ला पुस्ताका आकांक्षामाथि बहस गर्दै विकासका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
डिजिटल पूर्वाधार विकाससँगै स्मार्ट पूर्वाधारमा बहस गर्नुपर्ने राय पुनले व्यक्त गरे । “एआई\रोबोटसँग हुर्किएका जेनजी र त्यसपछिका पुस्ताहरु ज्ञानको अवसरसँगेै समाज र यथार्थबाट बेखबर बनिरहेको अवस्था छ । यो हाम्रा लागि चुनौती हो”, उनले भने, “जेनजीको आकांक्षामाथि छलफल गर्नुपर्छ । त्यसलाई आजको हाम्रो विकास र कार्यक्रमले कसरी सम्बोधन गर्छ, भन्नेतर्फ बहस चलाउनुपर्छ ।”
पूर्वअर्थमन्त्री पुनले उत्पादनमा प्रविधिको प्रयोगले पुनरुत्पादनको न्यायोचित वितरणबारे बहस गर्नुपर्ने उल्लेख गरे् । “निजीकरण सबै बजारलाई छाड्दा विकृतिहरु आयो । निजी क्षेत्रलाई कानूनी शासन हुनुपर्यो । बजार प्रतिस्पर्धी हुनुपर्यो । त्यो सिद्धान्तमा आधारित भएर हाम्रो बजेट र कार्यक्रम आउनुपर्छ”, उनले भने ।
उनले राजस्वका नीतिमा सुधारको आवश्यकता औल्याए । “राजस्वमा त्यस्ता नीतिहरु बनुन जसले पार्टी, नेता र प्रशासक वा मन्त्री नचिने पनि उसले व्यवसाय गर्न सकोस, प्रतिस्पर्धा गर्न सकोस, त्यस्तो नीतिमा काम गर्न सक्नुपर्छ” उनले भने ।
पूर्वअर्थमन्त्री पुनले अर्थतन्त्र सुधारका लागि अर्थतन्त्रको संरचना, व्यावसायिक वातावरण, सार्वजनिक वित्त प्रणाली र वित्तिय क्षेत्रको सुधार गर्नुपर्नेमा जोड दिए । उनले सार्वजनिक प्रशासनलाई प्रतिस्पर्धी बनाउन सुझाव दिए ।