हिमाल जोगाउनु पृथ्वी र मानवता जोगाउनु हो : प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल जोगाउनु पृथ्वी, महासागर र स्वयम् मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात् गरेर विश्वव्यापी संवादका रूपमा ‘सगरमाथा संवाद’को आयोजना गरिएको बताएका छन् ।
नेपाल सरकारद्वारा पहिलो पटक आयोजित सगरमाथा संवादको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यही यथार्थभित्र इमानदार संवाद र आपसी ज्ञान साटासाट गर्न तथा सामूहिक कदम चाल्न विश्वको सर्वोच्च शिखर सगरमाथाको नामबाट संवादको जन्म भएको उल्लेख गरे ।
“आशा गर्छौँ, यो संवाद—त्यत्तिकै उच्च बनोस् । उच्च नैतिक स्पष्टता, दृढ बौद्धिक साहस र सुन्दर भविष्य निर्माणका लागि अटल साझा दृष्टिकोणमा उच्च बनोस्”, उनले भने, “जलवायु परिवर्तनको कारक मानिएका हरित गृह ग्यास उत्सर्जनमा हाम्रो भूमिका न्यून छ तर वातावरण संरक्षणमा हाम्रो योगदान महत्त्वपूर्ण छ । तथापि हामीले असर भने धेरै भोगिरहेका छौँ । हाम्रा घर बासहरू पहिराले बगाइरहेका छन् । बाढी र खडेरी अकस्मात् आउँछ, समस्या गर्छ । यस विरुद्ध हामी डटिरहेका छौँ ।”