परशुराम नगरपालिकामा वस्ति तहबाट योजना छनौट प्रक्रिया सुरु


डडेलधुरा । परशुराम नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२\०८३ का लागि वडा स्तरमा योजना छनौट गर्ने प्रक्रिया अघि बढाएको छ ।
नगरपालिकाले वस्ति\टोल तहबाट आवश्यक र औचित्यपूर्ण योजनाहरू संकलन गरी जेठ १० गतेभित्र वडा समितिमा पेस गर्न सबै १२ वटै वडा कार्यालयहरूलाई निर्देशन दिएको छ ।
नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ, “स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को सम्बन्धित प्रावधानअनुसार असार १० गतेभित्र वार्षिक योजना, कार्यक्रम तथा बजेट पेस गर्नु पर्ने कानूनी व्यवस्था रहेको छ । त्यसका लागि वडा कार्यालयहरूले बजेट सीमाभित्र रही वस्ति\टोल तहको बैठक आयोजना गरी, कार्य तालिका र जिम्मेवारी बाँडफाँड गरेर योजना छनौट गर्नुपर्नेछ ।”
छनौट गरिएका आयोजनाहरूलाई विषयगत क्षेत्रअनुसार प्राथमिकता निर्धारण गरी जेठ १५ गतेभित्र बजेट तथा तर्जुमा समितिमा पेस गर्न नगरपालिकाले अनुरोध गरेको छ ।
नगरपालिकाले सबै वडालाई योजना तर्जुमा निर्देशिका, २०७८ अनुसार कार्य गर्न निर्देशन दिएको छ र स्थानीय स्तरमा सहभागितामूलक योजना निर्माणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ ।
