बजार अभावले क्यामाइल र बेसार खेती ठप्प, हाटबजार स्थापनाको तयारी


धनगढी । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका क्षेत्रका किसानले उत्पादन गरेका तरकारी, अन्न, फलफूल, बेसारलगायत कृषि उपजको बजार अभावका कारण मर्कामा परेका छन् । किसानका समस्यालाई सम्बोधन गर्न नगरपालिका र उपभोक्ता समितिले संयुक्त रूपमा सुझाव सङ्कलन तथा छलफल थालेका छन् ।
त्रिशक्ति र सुनदेवी उपभोक्ता समितिको क्षेत्रमा उत्पादन हुने तरकारी बजारमा नपुगेका कारण खेर गइरहेका छन् । भारतीय विषादीयुक्त सस्ता तरकारीसँग प्रतिस्पर्धा गर्न नसक्दा स्थानीय उत्पादन बिक्री हुन नसकेको किसानको गुनासो छ ।
बजारको अभावले क्यामाइल र बेसार खेती समेत किसानले छाडेका छन् । किसानको समस्या बुझ्दै नगरप्रमुख रणबहादुर महराले हाटबजार स्थापनाका लागि कृषि मन्त्रालयबाट बजेट जुटाउने पहल भइरहेको जानकारी दिएका छन् ।
कृषि शाखाको समन्वयमा मूल्य शृङ्खला, बीउ बिजन, बजार माग, खरिद–बिक्रीलगायत विषयमा किसानलाई जानकारी दिइनुका साथै दीर्घकालीन समाधानका उपायबारे छलफल जारी छ ।