लागूऔषध र हातहातियारसहित मकवानपुरबाट एक जना पक्राउ


काठमाडौं । मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिकाबाट लागूऔषध तथा हातहतियारसहित एक जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले राक्सिराङका राजु स्याङतानको घरबाट लागूऔषध र हातहतियारसहित स्याङतानलाई पक्राउ गरेको हो ।
प्रहरीले खोजतलास गर्ने क्रममा राजु स्याङतानलाई आफ्नै घर अगाडि फेला पारी खानतलासी गर्ने क्रममा उनको सुत्ने कोठाको सिरानी मुनी कपडामा बेरेर राखेको अवस्थामा म्याग्जिन सहितको पेस्तोल १ थान, खाली म्यागजिन थप १ थान र गोली (राउण्ड) १३ थान, गोठको दोस्रो तल्लामा मकैको खोस्टा तथा पत्करहरु भित्र कपडामा बेरी प्लाष्टिकको झोला भित्र राखेको अवस्थामा कटुवा पेस्तोल १ थान र गोली १२ राउण्ड, लागूऔषध अफिम जस्तो देखिने गिलो पदार्थ १ किलो ३१० ग्राम र गाँजा २२ किलो ८०० ग्राम फेला परेको प्रहरीले जनाएको छ ।
लागूऔषध र हातहतियारसहित स्याङ्तानलाई नियन्त्रणमा लिएर लागूऔषध तथा हतहतियार खरखजना समेतको कसुर मुद्धामा कार्बाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।