सरकारलाई प्रचण्डको ध्यानाकर्षण–विधेयक अगाडि बढाउन ढिलो गर्ने, छेडखानी गर्ने नगरियोस्


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा पेस भएका महत्त्वपूर्ण विधेयक अगाडि बढाउन ढिला गर्न नहुने बताएका छन् । प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिको बुधवारको बैठकमा प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकको सैद्वान्तिक छलफलमा भाग लिँदै प्रचण्डले यस्तो बताएका हुन् ।
समितिमा अध्ययन गरेर सर्वसम्मत वा मतदानबाट पारित भएका विधेयक संसद्को पूर्ण बैठकमा पुग्दासम्म धेरै चलखेल हुने गरेको स्मरण गराउँदै अध्यक्ष प्रचण्डले केही संवेदनशील र असाध्यै महत्त्वपूर्ण विधेयकहरू असार १५ गतेभित्र पारित गर्नुपर्ने बताए ।
उनले भने, ‘समितिमा अध्ययन गरेर सर्वसम्मत वा मतदानबाट पारित भएका विधेयक संसद्को पूर्ण बैठकमा पुग्दासम्म धेरै चलखेल हुने गरेको छ । केही संवेदनशील र असाध्यै महत्त्वपूर्ण विधेयकहरू असार १५ गतेभित्र पारित गर्नुपर्ने अवस्था छ । विधेयकलाई अगाडि बढाउन ढिलो गर्ने, छेडखानी गर्ने काम नगरियोस् । यहाँबाट पारित भएका विधेयक समयै सदनमा प्रस्तुत होस् भनेर म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । यसमा समितिका सभापतिले पनि चाँडै अगाडि बढाउन तदारुकता देखाइयोस् ।’
अध्यक्ष प्रचण्डले महत्वपूर्ण विधेयक सदनबाट पारित गराउनका लागि भनेर आफू सरकारसँग केही लचिलो भएको समेत बताएका छन् ।
उनले भने, ‘सरकारसँग केही लचिलो भएर महत्वपूर्ण समझदारी कायम गरौं भन्नुको पछाडि महत्वपूर्ण विधेयकहरू पारित गर्ने सोच पनि हो ।’