मुस्ताङको ढाक्मर : राताम्मे पहाड र प्राचीन गुफाले पर्यटकलाई लोभ्याउँदै

मुस्ताङ । उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२, ढाक्मर गाउँ नजिकका राताम्मे पहाड र प्राचीन गुफाहरूले पर्यटकलाई आकर्षित गर्न थालेका छन् । जोमसोम–कोरला राजमार्गअन्तर्गत पर्ने यो क्षेत्रमा भौतिक पूर्वाधार निर्माणले आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाएको छ ।
ढाक्मर पहाडको रातो रङ धार्मिक किंवदन्तीसँग जोडिएको छ । लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेलका अनुसार आठौँ शताब्दीमा गुरु पद्यसम्भवले धर्मविरोधी राक्षसको रगत ढाक्मरको विशाल पहाडमा मिल्काएको र त्यसैले यो राताम्मे भएको जनविश्वास छ । घमी खोला नजिक राक्षसको आन्द्राभुँडी फ्याँकेको भनिने स्थानमा करिब २०० मिटर लामो पर्खाल पनि निर्माण गरिएको छ ।
ढाक्मर गाउँ नजिकको करिब दुई किलोमिटर लामो राताम्मे पहाडमा एक सयभन्दा बढी गुफाहरू रहेका छन् । यीमध्ये केही गुफालाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । लोघेकर–२ का वडाध्यक्ष थुक्तेन छिरिङ गुरुङका अनुसार करिब दुई हजार वर्षअघि मानिसले खोपेर बनाएका यी गुफाहरू बस्ती बन्नुअघि आश्रयस्थलका रूपमा प्रयोग गरिन्थे ।
गाउँपालिकाले जियो पार्क आसपासका गुफासम्म पुग्न रेलिङसहितको सिँढी बाटो निर्माण गरिरहेको छ । यस वर्ष १५ लाख रुपैयाँ खर्च भइसकेको र आगामी वर्ष २५ लाख रुपैयाँ विनियोजन गरिएको अध्यक्ष छोम्फेलले बताए ।
ढाक्मरको जियोपार्क गुफाबाट नीलगिरि र आसपासका हिमशृङ्खलाको मनमोहक दृष्य देख्न सकिन्छ । यो स्थान ध्यानसाधनाका लागि पनि उपयुक्त मानिएको छ र विदेशी पर्यटकहरू समेत ध्यान गर्न आउने गरेको वडाध्यक्ष गुरुङले बताए ।
लोघेकर दामोदरकुण्ड गाउँपालिकासँगै सामाजिक विकास कार्यालय मुस्ताङले पनि जियोपार्क गुफा प्रवद्र्धनमा सहकार्य गरेको छ । कार्यालयले १० लाख रुपैयाँको लागतमा रेलिङसहितको जियो प्रोटेक्सनवाल निर्माण गरिरहेको छ ।
कृषि र पशुपालनमा आश्रित ढाक्मरका स्थानीयवासी विस्तारै पर्यटन व्यवसायतर्फ उन्मुख भइरहेका छन् । ठूलो क्षेत्रफलमा हरियाली जियोपार्क निर्माण गरिएको छ, जसमा प्रदेश सरकारको ३० लाख रुपैयाँ लागतमा कम्पाउन्ड घेराबार र ढुंगा बिछ्याएर पेटी बनाइएको छ । स्थानीयले ६५ लाख रुपैयाँ चन्दा संकलन गरी विशाल बुद्धको मूर्ति पनि स्थापना गरेका छन् ।
जोमसोम–कोरला सडकबाट २ किलोमिटर पश्चिममा रहेको ढाक्मर गाउँ, मुस्ताङको घमी हुँदै पनि पुग्न सकिन्छ । यस क्षेत्रले पर्यटकीय गतिविधि बढाउन ठूलो सम्भावना बोकेको छ ।